पोखरा : बुर्तिबाङ मल्टिपर्पोज ट्रेनिङ एण्ड रिसर्च सेन्टर बागलुङको आयोजना तथा कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा पत्रकारका लागि एक दिने लेखन तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
पोखराको एक सभा हलमा राखिएको सो कार्यक्रममा बोल्दै कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले पत्रकारितामा लागेका तथा नव आगन्तुकका लागि लेखन तथा क्षमता वृद्धि तालिमले अवश्य पनि फाइदा पुग्ने बताए । आफूले तथ्यपरक पत्रकारितालाई प्रोत्साहन गर्ने र गलत सूचना र समाचारबाट पत्रकारिता पेसा टाढा रहनुपर्ने बताउँदै मन्त्री थापाले सत्यको पक्षमा सधैँ कलम चलाउन तालिममा सहभागीहरूलाई शुभकामना दिए।
कार्यक्रमका सहभागीलाई ल्यापटप झोला प्रदान गरिएको थियो । कार्यक्रम बुर्तिबाङ मल्टिपर्पोज ट्रेनिङ एण्ड रिसर्च सेन्टर , बागलुङका सञ्चालक राम सुवेदीको सभापतित्वमा सम्पन्न भएको थियो ।