काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको चपलीमा रहेको चपली सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ । सबस्टेसनमा रहेका १०÷१० एमभीए क्षमताका तीनवटा ट्रान्सफर्मरहरूमध्ये एउटामा बुधबार बिहान ५ बजेतिरबाट समस्या देखिएको नेपाल विद्युत् प्राधिकरण महाराजगञ्ज वितरण केन्द्रले जनाएको छ ।
ट्रान्सफर्मरमा समस्या आउँदा टोखा, मण्डिखाटार, बाँसबारी, धापासी हाइट, बूढानीलकण्ठ, तारेभीर, झोरलगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । उक्त ट्रान्सफर्मरबाट पाँचवटा फिडर निकाली ती क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको थियो ।
नेपाल विद्युत् प्राधिकरण महाराजगञ्ज वितरण केन्द्र प्रमुख प्रज्ज्वलमान श्रेष्ठले सम्भव भएका स्थानमा अन्य सबस्टेसनबाट वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गरिएको बताए । समस्या देखिएको ट्रान्सफर्मरलाई हटाएर जगेडामा रहेको ट्रान्सफर्मर- जडान गर्न लागिएको श्रेष्ठले जानकारी दिए । ‘‘नयाँ ट्रान्सफर्मर जडान जतिसक्दो छिटो सम्पन्न गरी विद्युत् आपूर्ति सुचारु गर्न टोली परिचालित भएको छ ।’’रातोपाटी ।