पर्वत । पर्वत प्रहरीले बाल यौन दुर्व्यवहार गरेको आरोपमा जलजला गाउँपालिकाको एक जना कर्मचारीलाई पक्राउ गरेको छ ।
हिजो बुधवार साँझपख १५ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जलजला गाउँपालिका वडा नं. ४ लामाखेत बस्ने वर्ष ३० का विष्णु आचार्यलाई पक्राउ गरिएको हो । उनी जलजला गाउँपालिकामा कार्यरत रहेको प्रहरीले बताएको छ ।
पीडित बालिकाको बुवाले आज जिल्ला प्रहरी कार्यालय पर्वतमा किटानी जाहेरी दरखास्त दिएपछि आचार्यलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।
आरोपित आचार्यलाई आजै “बाल यौन दुरुपयोग“ शीर्षकमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

आरोपित आचार्य विरुद्ध पर्वत जिल्ला अदालतबाट सोही प्रकृतिका २ वटा मुद्दा समेत चलिरहेको छ । तर, उनी त्यति बेला भने धरौटीमा रिहा भएका थिए । त्यो बेलाको उनी माथि लागेको मुद्दामा फैसला हुन भने बाँकी रहेको प्रहरीले बताएको छ ।