Home समाचार अधिकृत छोडेर मेयरमा उम्मेदवारी दिएका गिरीको जमानत जफत, फेरि अधिकृतको जागिर खाँदै

अधिकृत छोडेर मेयरमा उम्मेदवारी दिएका गिरीको जमानत जफत, फेरि अधिकृतको जागिर खाँदै

by ईलालटिन
0 comment

काठमाडौं । २२औं पटकमा लोकसेवाको परीक्षा दिएर नेपाल विद्युत प्राधिकरणको अधिकृत बनेका कञ्चनराज गिरीले गत चैतमा राजीनामा दिए।  सरकारी जागिरबाट राजीनामा दिएर उनले बनेपा नगरपालिकाको मेयरमा उम्मेदवारी थिए। लोकसेवाको परीक्षाजस्तै राजनीतिको उनको पहिलो परीक्षामा पनि उनले असफलता व्यहोर्नु परेको छ।  बिहीबार बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उनको जमानत जफत भएको छ।

नेपाली कांग्रेसका शान्तिरत्न शाक्यले १३७९३ मत ल्याएर मेयर जित्दा पुतली चिन्ह पाएका गिरीले १४८ मत पाए। आफ्नो हारको कारण नेपालको दलीय व्यवस्था रहेको उनको भनाइ छ। ‘उम्मेदवारी दर्ता गर्नुअघि घरदैलो गर्न जाँदा उत्साहजनक प्रतिक्रिया पाएँ, ’ उनले  चुनावी अनुभव सुनाउँदै भने,‘तर उम्मेदवारी दर्तापछि उहाँहरूको टोन परिवर्तन भयो।’  -उनले उम्मेदवारी दर्ता गर्नुअघि नै प्रचार-प्रसार थालिसकेका थिए। आफू घरदैलोमा जाँदा जो मानिसले केही गर्नुपर्छ भनेर प्रोत्साहन र हौसला दिएका थिए, तिनै मानिसहरू पछि पार्टीको झन्डा बोकेर र्‍यालीमा गएको देख्दा निराशा भएको उनले बताए।

पूर्वतयारी बिना उम्मेदवारी दिँदा केही कुरा सिकेको र सो कुराले पछि सहयोग पुग्ने उनले बताए।उसो त उनी प्रचार-प्रसार गर्ने सानो टोली भएका कारण सबै घरमा जान नभ्याएको पनि उनको जिकिर छ। बनेपामा लगभग १३ हजार घरधुरी भएको र सबै ठाउँमा आफैं पुग्न सम्भव भएन,’ उनले भने, ‘त्यसैले पनि मतमा असर पर्‍यो।’सरकारी जागिर छाडेर राजनीतिमा लागेको भनेका गिरीले अहिले फेरि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको अधिकृतमा नाम निकालेका छन्।विद्युत प्राधिकरणमा अन्तर्वार्ता दिएकै दिन उनले प्रतिष्ठानमा लिखित परीक्षा दिएका थिए। प्राधिकरणमा नाम निस्किएला भन्ने उनले सोचेका थिएनन्।

अब उनी फेरि सरकारी जागिर खान जाँदै छन्। ‘जिविकोपार्जनको लागि केही न केही गर्नुपर्छ,’ उनले भने, ‘त्यसमाथि यो मैले खान पाउने अन्तिम सरकारी जागिर पनि हो। उमेरको हकबन्दीका कारण पछि चाहेर पनि खान पाउँदिनँ। यसबाट पनि अनुभव बटुल्न चाहन्छु।’ उनी अहिले ३५ वर्षका भए। पाँच वर्षपछि हुने स्थानीय चुनावमा फेरि मेयर लड्ने योजना रहेको उनले सुनाए।

‘यो पटक असफल भएको हुँ,’ उनले सेतोपाटीसँग भने,‘अनुभव बटुल्ने मौका पाएँ। आफूभित्र भए कमीकमजोरीहरू पनि औंल्याउन मद्दत पुगेको छ। अर्को पटक ती कुराहरूलाई सच्याएर र अझ परिस्कृत भएर फेरि आउने छु।’अहिलेको राजनीतिक स्थिति बदल्न काम गर्ने नयाँ पुस्ता नेत्तृत्वमा आउनै पर्ने उनको भनाइ छ। ‘राजनीतिमा पुरानै दल र पुरानै सोचका मान्छे आए देश बदलिने छैन’, उनले भने, ‘देश बदल्ने हो भने हामी आफैं अघि सर्नुपर्छ।’सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com