काठमाडौं । कर्णाली प्रदेश प्रहरी कार्यालयमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलालाई सरुवा गरिएको छ । कर्णालीमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेशबहादुर ऐर आइतबारबाट अवकाशमा जाँदै छन् ।३० वर्षे सेवा अवधि पुरा गरेर वैशाख १८ मा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँगै उनी अवकाशमा जान लागेका हुन् ।
नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आइतबार अवकाशमा जाने उच्च प्रहरी अधिकारीहरुलाई विदाई कार्यक्रम राखिएको छ ।स्थानीय तह निर्वाचनको नजिकिँदै गरेको अवस्थामा गृहमन्त्री बालकृष्ण खाणले बिहीबार बास्तोलालाई कर्णाली प्रदेशमा सरुवा गर्ने निर्णय गरेका हुन् । प्रदेशमा खटिने डीआईजी नभएको हुनाले वरिष्ठ उपरीक्षकलाई निर्वाचन अघि कर्णालीको सुरक्षा जिम्मेवारी दिइएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । रातोपाटी ।