पर्वत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पर्वतका सात वटै स्थानीय तहमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।
कुश्मा नगरपालिकामा सत्ता गठबन्धन नेपाली काँग्रेसका गण्डकी प्रदेश सह महामन्त्री रामचन्द्र जोशीले प्रमुख पदमा र माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष शङ्कर गिरीले उपप्रमुख पदमा उम्मेदवारी दिएका छन् ।
यसै गरी एमालेबाट नगर प्रमुख पदमा गणेश शर्मा पौडेल र उपप्रमुखमा स्वस्थानी रिजालले उम्मेदवारी दर्ता गराएकी छन् । शर्मा एमाले केन्द्रीय अनुशासन आयोगका पूर्व सदस्य हुन् भने रिजाल एमाले कुश्मा नगर कमिटीकी उप सचिव हुन् ।
कुश्माको प्रमुख पदमा राप्रपाबाट प्रभु गुरुङ र उपप्रमुखमा मानकुमारी गिरीको पनि उम्मेदवारी दर्ता भएको छ । भने जनता समाजवादी पार्टीबाट प्रमुखमा ढाकाराम गौतम र उपप्रमुखमा इन्दिरा अधिकारीको उम्मेदवारी परेको छ ।
दुई वटा नगरपालिका रहेको पर्वतमा फलेवास नगरपालिकाबाट नगरपालिकाको प्रमुखमा एमाले वाट पदमपाणी शर्मा र उपप्रमुखमा मञ्जु अधिकारीको उम्मेदवारी दिएकी छिन् । दुवै यस अघि पनि नगर प्रमुख र उपप्रमुख रहेका थिए ।

सत्ता गठवन्धनवाट नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि गंगाधर तिवारीले प्रमुख र माओवादीकी नेतृ शोभा क्षेत्रीको उपप्रमुखमा उम्मेदवारी परेको छ । यस भन्दा अघिको स्थानीय तहको चुनावमा तिवारी एमालेका पदमपाणी शर्मा सँग पराजित भएका थिए । अहिले फेरि दुवै चुनावी मैदानमा नेतृत्व हत्याउन लागि परेका छन् ।
यस्तै फलेवास नगरपालिकामा राष्ट्रिय जनमोर्चाबाट इन्द्रकान्त शर्माले प्रमुखमा र सरिता भुसालले उपप्रमुखमा उम्मेदवारी दिएकी छिन् । कुश्माको उपप्रमुखमा स्वतन्त्र वाट माओवादी नेता सालिकराम शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।
सत्ता गठबन्धनको तर्फबाट जलजला गाउँपालिकाको अध्यक्षमा काँग्रेसका राजु आचार्य र माओवादीका दीपक आचार्य उम्मेदवार बनेका छन् । एमालेले जलजलामा अध्यक्ष लालबहादुर अधिकारी र उपाध्यक्ष सुनिता जिसीलाई सिफारिस गरेको छ ।
मोदी गाउँपालिकाको अध्यक्षमा एमालेले हीरादेवी शर्मा र उपाध्यक्षमा विमल लामिछानेलाई उम्मेदवार बनाएको छ । शर्मा नयाँ अनुहार हुन् भने लामिछाने वडा नम्बर ६ तिलाहारका वडाध्यक्ष हुन् । गठबन्धनको तर्फबाट मोदीमा माओवादीका केन्द्रीय सदस्य गुप्त बहादुर हमाल अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका रामबहादुर प्रसाई (जीवन) लाई टिकट दिएको छ ।
बिहादी गाउँपालिकामा एमालेले ओमप्रसाद कुँवरलाई अध्यक्ष र मिना तिवारीलाई उपाध्यक्ष बनाउँदा गठबन्धनले काँग्रेसका प्रवीण गुरुङलाई अध्यक्ष र माओवादीका सन्त बहादुर गुरुङलाई उपाध्यक्षमा सिफारिस गरेको छ ।
पैयुँ गाउँपालिकामा एमालेले महेन्द्र श्रेष्ठ अध्यक्ष र यामकुमारी रानालाई उपाध्यक्षको टिकट दिँदा गठबन्धनले काँग्रेसका तोरण मल्ल ठकुरीलाई अध्यक्ष र काँग्रेसकै जानकी प्रधानलाई उपाध्यक्षमा सिफारिस गरेको छ ।
महाशिलामा एमालेले ईश्वरीप्रसाद भुसाललाई अध्यक्ष र सुधा बिकलाई उपाध्यक्षमा सिफारिस गरेको छ । गठबन्धनको तर्फबाट महाशिलामा काँग्रेसका अशोक उचै ठकुरी र उपाध्यक्षमा नेकपा समाजवादीका बिराज हमाल चुनावी मैदानमा छन् ।