काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्तावको प्रक्रियागत विषयमा छलफलका लागि प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । आज दिउँसो १ बजेका लागि कार्य व्यवस्था परामर्श समितीको बैठक आह्वान गरिएको छ ।
सोमबार बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने तयारी गरेका छन् । सोही अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाले गत कात्तिक १४ गते मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराई सकेको छ । उक्त प्रस्तावको प्रक्रियागत विषयमा छलफल गरी विश्वासको मत सम्बन्धी प्रसव टुङ्ग्याउन कार्य व्यवस्था परामर्श समितीको बैठक आह्वान गरिएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले बताए ।
बैठकले मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफल र मत विभाजन सम्बन्धी कार्य सूची तय गर्नेछ । उक्त बैठकमा नेपाली काँग्रेस बागमती प्रदेशका सचेतक छिरिङ दोर्जे लामाको संयोजकत्वमा रहेको समितीले तयार गरेको हस्ताक्षरसहितको मत विभाजन कार्यविधिलाई पूर्णता प्रदान गर्नेछ । प्रदेशसभा सचिवालयले पनि विश्वासको मत विभाजन गर्न आन्तरिक तयारी पूरा गरिसकेको जनाएको छ । मत विभाजनका लागि पक्ष र विपक्षका लागि मतदान कक्ष छुट्याइएको छ । दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा उक्त हस्ताक्षरसहितको मत विभाजन कार्यविधि प्रस्तुत हुनेछ । यस्तै मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफल सुरु हुनेछ । रातोपाटी ।