पर्वत । एक समय कुश्मा–ज्ञादी अग्लो झोलुङ्गे पुल मुलुककै अग्लो र लामो पुलका रूपमा परिचित थियो । अविच्छिन्न बगिरहने मोदी खोला देखि १३५ मिटर उचाइमा रहेको यस पुलको लम्बाई चाहिँ ३४४ मिटर रहेको छ । पछिल्ला समय कुश्मा बजार क्षेत्रमा मात्रै चार वटा अग्ला तथा लामा पुलहरू निर्माण भइसकेका छन् ।
दक्षिण भेगका बासिन्दालाई सदरमुकाम सँग जोड्ने हेतुका साथ पुलको निर्माण गरिएको भए पनि पर्वत आउने आन्तरिक पर्यटकहरूका लागि पनि यस पुल आकर्षणको केन्द्रबिन्दु रहयो । तर, स्थानीय सर्वसाधारण लगायतका मानिसहरु घण्टौँ हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यतालाई मिनेटमै सीमित गरिदिने कुश्मा–ज्ञादी अग्लो झोलुङ्गे पुल जीर्ण बन्दै गएको छ ।
पुलमा बिछ्याइएका डेकहरु उप्कन थालेका छन् । पुलका ठाउँ ठाउँबाट नटबोल्टहरु खुकुलो भई खस्न थालेका छन् । कुनै ठाउँका त खसिसकेका पनि छन् । पुल संरक्षण र मर्मतका लागि कुनै निकायले चासो नदिँदा पुलका डन्डी र फलामका डोरीमा खिया लाग्ने क्रम सुरु भएको स्थानीय बासिन्दा सुजन विकले बताए ।
निर्माण सम्पन्न भएको दश वर्ष बढी भइसक्दा जम्मा एक पटक मात्र पुल मर्मत गरिएको कुश्मा–ज्ञादी पुल संरक्षण समितिका अध्यक्ष शिव शर्मा पौडेलले बताए ।

‘प्रत्येक चार÷चार वर्षमा पुलको प्राविधिक अवस्था तथा मर्मत सम्भार गर्नुपर्ने हुन्छ’, अध्यक्ष शर्माले भने, ‘पहिले जिल्ला विकास समिति रहँदा आर्थिक तथा प्राविधिक सहयोगमा कुश्मा साइडको पुलको लठा राखिएको जिप भित्र सजिलै बर्खाको भेल पस्ने अवस्थालाई रोकथाम तथा मर्मत गर्ने काम गरिएको थियो ।’
अध्यक्ष शर्माले पुल जीर्ण बनेको स्वीकार गर्दै पुल मर्मतका लागि कुश्मा नगरपालिका र स्थानीय पूर्वाधार विभाग (डोली) अन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनमा निवेदन दिएर कुराकानी पनि भइसकेको बताए । ‘हामीले सम्बन्धित निकायहरूमा पुलको अवस्थाका बारेमा जानकारी गराएको थियौँ’, शर्माले भने, ‘कोभिडका कारण पुल मर्मतको काम रोकिएको हो । अब छिट्टै मर्मत सँगै पर्यटकीय भौतिक संरचनाहरू समेत निर्माण गर्नेछौँ ।’
निर्माण ताका मान्छेहरू मात्र आवतजावत गर्नका लागि बनाइएको पुलमा पछि भने मोटरसाइकल कुदाउन अघोषित अनुमति दिइएको थियो । ‘मान्छे भन्दा बढी मोटरसाइकल कुद्छन् । पुलका नटबोल्टहरु छैनन् । कहाँ कति खेर ठुलो दुर्घटना हुने हो, थाहा छैन ।’—पुलमा भेटिएका नरेन्द्र कार्कीले चिन्ता जनाए । एकै पटक दुई तीन वटा मोटरसाइकल वारी र पारी गर्नाले पनि पुल जोखिमपूर्ण बन्दै गएको छ । दिनमा सय भन्दा बढी मोटरसाइकलहरू ओहोरदोहोर गर्ने गरेको पिपलटारीका स्थानीय राजु पौडेलले बताए । उनले जोखिम बढ्दै गएको पुलमा सम्बन्धित निकायले मोटरसाइकल चलाउन प्रतिबन्ध लगाउनु पर्ने कुरामा जोड दिए ।
एकातिर पुल जोखिमपूर्ण बन्दै गएको छ भने अर्कोतिर पुल वरिपरि जथाभाबी झुन्ड्याइएका विज्ञापनका बोर्डहरूले पुलको सुन्दरतामा क्षति पु¥याएको छ । रेखदेखको अभावमा पुल छेउछाउ झाडी उम्रिनुका साथै फोहोरले पुल हेर्न आउने पर्यटकहरुलाई जिस्काइरहेको छ । त्यसतै कुश्माको भागमा पर्यटकका लागि भनेर बनाइएका भ्यु प्वाइन्ट, प्रतीक्षालय, बेन्च लगायतका संरचनाहरू समेत प्रयोग विहीन बनेका छन् ।
यस पुलले दक्षिणी भेगका फलेवास नगरपालिका, महाशीला गाउँपालिका, पैयूँ गाउँपालिका र बिहादी गाउँपालिकाका बासिन्दालाई सदरमुकामसँग जोड्ने काम गरेको छ । प्रशासनिक तथा व्यापारिक कामकाजका लागि पुलको अभावमा घण्टौँ खर्चिनु पर्ने बाध्यता मात्र तीन मिनेटमा सीमित गरिदिएको छ । बिहानी पख मौसम खुल्दा पुलबाटै माछापुच्छ्रे हिमाल सजिलै देख्न सकिन्छ ।