हरिकृष्ण गौतम
निर्माणाधिन राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्ड फराकिलो बनाउन र सुधार गर्नका लागि दैनिक साढे तीन घण्टा बन्द हुने भएको छ। धौलागिरीका चार जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने पर्वतखण्डमा अप्ठेरो भिरमा कटान गर्नका लागि मंसिर २१ गते आइतवारदेखि दुई हप्ताका लागि सडक बन्द गरिने भएको हो। जिल्ला प्रशासन कार्यालय पर्वतमा संयोजनमा शुक्रवार बसेको सर्वपक्षीय बैठकले लोकमार्गको पर्वत खण्डमा पर्ने कुश्मा नगरपालिका वडा नं. ७ खरेहादेखि वडा नं. ८ को दोबिल्ला बीचको भीरमा सडक फराकिलो बनाउन सडक बन्द गरेर काम गर्ने निणर्य गरेको सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले बताए।
‘मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा अहिले धमाधम काम भैरहेको छ,‘बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म सडक बन्द निणर्य भएको छ’ उनले भने। अहिलेसम्म लोकमार्गको झण्डै ७० प्रतिशत काम सम्पन्न भएको र खरेहा र चुवाको भीर तथा चुवादेखि दोविल्ला बीचको दूरीमा रहेको भीरमा कडा चट्टान फुटाउन बाँकी रहेकाले सडक बन्दनै गरेर निर्माण कार्य अघि बढाउन लागिएको हो। आयोजनासँंग ३६ महिनामा निर्माण काम सक्ने गरि सम्झौता भएपनि गत भदौमा सम्झौता अवधि सकिएको छ। कोभिड–१९ का कारण झण्डै ७ महिनादेखि रोकिएको काम गत असोजको दोस्रो सातादेखि सुरु भएको सडक निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोबिन्द भुसालले बताए। उनका अनुसार सडकमा सवारीको चाप बढ्दै गएकाले काम गर्न समस्या पर्ने हुँदा आवतजावत नै रोकेर निर्माण गर्न थालिएको बताए। नागरिक । https://youtu.be/-PvpJeCjZxg