Home विशेष विकट गाउँमा फक्रेको संघर्ष (संघर्षको कथा)

विकट गाउँमा फक्रेको संघर्ष (संघर्षको कथा)

by ईलालटिन
0 comment

पर्वतको विहादी गाउँपालिका जिल्लाकै सबैभन्दा विकट ठाउँ मानिन्छ । जिल्ला सदरमुकाम कुश्माबाट भौगोलिक दूरीमा सबैभन्दा टाढा रहेको र पूर्वाधार विकासमा भर्खरै बामे सर्दै गरेको विहादी गाउँपालिकामा आधारभूत आवश्यकता अझै पनि सहज रूपमा पाउन हम्मे हम्मे पर्छ ।

भौतिक संरचना निर्माण भएता पनि त्यसको परिचालनको लागि आवश्यक मानवीय दक्ष जनशक्ति नभएका कारण विहादी यति बेला विकासको बाटोमा कठिन बाटोबाट सङ्घर्ष गर्दै छ ।

मानवीय जीवनयापनको लागि अत्यावश्यक खानेपानी, शिक्षा, सडक र स्वास्थ्य पूर्वाधारका संरचना केही वर्षअगाडि मात्रै स्थापना भएता पनि त्यसको नियमितता त्यहाँका मानिसले अझै पाउन सकेका छैनन् । उच्च शिक्षा तथा गम्भीर बिरामी परेको खण्डमा जिल्ला छाड्नुको विकल्प छैन । खानेपानीको लागि अझै घण्टौँ कुर्नुपर्ने बाध्यता रहेको छ ।

दुई वर्षअगाडिको महाविनाशकारकी भूकम्पबाट जिल्लामै सबैभन्दा बढी भौतिक क्षति हुने ठाउँ पनि विहादी नै हो । गाउँपालिका प्रशासन अन्तर्गत यो गाउँपालिकामा मात्रै १२६१ घर पूर्ण क्षतिग्रस्त भए भने २ हजार घरधुरीमा क्षति पुग्यो ।

पूर्वाधार नभएको ठाउँमा बसोबास नै भूकम्पले लगेपछि गाउँ छाडेर जानेको सङ्ख्या ह्वात्तै बढ्यो ।

भूकम्पपछि मात्रै गाउँपालिकाबाट झन्डै १०० भन्दा बढिले गाउँ छाडेर अन्यत्र बसाइसराइ गरे । स्थानीय सरकारले गाउँमा नै सेवा दिएता पनि मानिसले सुरक्षित अनुभव गर्न नसक्दा गाउँ सुनसान बन्न पुग्यो ।

यो गाउँपालिकाको यथार्थता वर्णन गरिरहँदा गाउँपालिकाकै एक परिचित अनुहार भने गाउँमै सघर्षशील रहेको थियो । गाउँपालिकाको राजनीतिक, आर्थिक, भौतिक, सामाजिक अवस्थाबाट परिचित उक्त अनुहारले व्यक्तिगत सङ्घर्ष गरी गाउँपालिकाको विकासमा अहोरात्र खटिरहेको छ । उक्त परिचित अनुहारको नाम हो, हरि न्यौपाने ।

१० वर्षे माओवादी द्वन्द्वकलामा तत्कालीन माओवादी बाट पीडित, शाही शासनको अन्त्य गरी जनताको लागि लोकतन्त्र ल्याउन स्थानीय तहबाटै जिल्लामा जनताको प्रतिनिधि गर्दै आन्दोलनमा सहभागी भई तत्कालीन सरकार पक्षबाट प्रताडित न्यौपानेले चाहेको भए सरकार पक्षसँग सम्झौता गरी व्यक्तिगत लाभ लिन सक्ने थिए । भलै, उनले योगदान अनुसारको राजनीतिक सफलता पाएनन्, तर, राजनीतिलाई जनताको सेवा र समाजसेवा मान्ने उनी हार मानेनन्, । कहिल्यै अरूले पनि साथ दिए, प्रायजसो एक्लै सङ्घर्ष गरे । एकल सङ्घर्ष गर्न सक्ने उनको हिम्मत उनको अर्को परिचय बनेको छ ।

हाल नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य रहेका उनी तत्कालीन जनयुद्धको समयमा माओवादीका कारण भूमिगत जीवन समय व्यतीत गरे । माओवादीबाट घर न वास भएका उनी अहिले गाउँमा नै घरको जग हाल्दै छन् । ४३ वर्षको उमेरमा उनी बाल्यकाल बाहेक अन्य अवस्थामा सक्रिय राजनीतिमार्फत समाजसेवामा नै निरन्तर लागिपरेका छन् । पारिवारिक व्यक्ति भएता पनि परिवारलाई भन्दा समाज र सामाजिक सेवामा उनले जीवनको चार दशक बिताइसकेका छन् ।

(समृद्ध विहादीका आधारहरू)

तीन वर्ष भयो उनी गाउँमा धेरै समय बस्न थालेको । गाउँमा नै सामान्य जीवनशैली बिताएता पनि उनको दैनिकी भने सामान्य मानिसको जस्तो छैन । ग्रामीण क्षेत्रमा अन्य मानिस दैनिक जीवनमा व्यतीत रहँदा उनी भने गाउँमै रहेर गाउँपालिकामा विकासको मुहार फेर्न लागिपरेका छन् । उनैको पहलमा विहादी गाउँपालिकाको एक मात्र तथा जिल्लाकै दोस्रो प्राविधिक शिक्षालय स्थापना भएको छ । विहादी गाउँपालिका ३ स्थित नेपालतारा माविमा सञ्चालित यो शिक्षालयमा अहिले ३० विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन् । व्यक्तिगत पहलमै उनले तत्कालीन रानीपानी गाविस वडा नं. १ मा प्राथमिक विद्यालय समेत सञ्चलनमा ल्याए । लोकतन्त्र आइसकेपछि लोकतन्त्र प्राविकै नाममा उनले स्थापना गरेको विद्यालयबाट अहिले सयौँ विद्यार्थीले शिक्षाको उज्यालो मुहार अनुभव गर्न पाए ।

‘गाउँ फर्क’ उनको अभियान हेर्दा निकै महत्त्वाकाङ्क्षी देखिएता पनि परिवर्तित समाज र उनको सङ्घर्ष बिस्तारै कार्यान्वयन हुँदै छ ।

समृद्ध विहादी गाउँपालिकाको सपना बोकेर एक्लै सङ्घर्ष थालेका न्यौपानेले अहिले गाउँमा नै रेडियो स्थापना गर्न लागिरहेका छन् ।

दुई वर्षअघि नै आफूले देखेको सपना स्थानीय तह कार्यान्वयनमा आएपछि साकार भएको उनी दाबी गर्छन् । ‘मैले ६३ सालमा यहाँ आएर बारीमा तरकारी लगाउँछु, रेडियो खोल्छु भन्दा धेरैले विश्वास गरेनन्,’ उनले भने, ‘अहिले उनैले मसँग सहकार्य गर्न आएका छन् । यसैमा गर्व लाग्छ ।’

उनले सञ्चालन गरेको रेडियो सत्यवाणीमा हाल ६ कर्मचारीबाहेक २३ स्थानीय युवा आबद्ध छन् ।

हिउँदका सात महिना खानेपानीको समेत समस्या हुने रानीपानीको सुख्खा टारमा उनले तीन लाख लिटरको प्लास्टिक पोखरी बनाएर १५ रोपनी जमिनमा हिउँदे खेती लगाएका छन् ।

‘ठूल्ठूला सहरको विकास पनि हामीजस्तै गाउँबाट गएकाबाट गरिएको हो,’ उनले भने, ‘गाउँको पैसा र सीप खन्याएर भएका पूर्वाधार अब गाउँमै फर्किनुपर्छ । मैले त्यसकै सुरुवात गरेको हो । अब हरेक स्थानीय तहका युवाले आफ्नै क्षेत्रमा केही गर्नुपर्छ । त्यसका लागि सम्बन्धित स्थानीय सरकारको साथ चाहिन्छ ।’

सामुदायिक रेडियो, पशु फार्म, सहकारी र कृषिमा लगानी गरेका छन् । ‘त्यसपछि सबै क्षेत्रमा गरी कम्तीमा सय जनाले रोजगारी पाउँछन् ।’ उनको यो दुई वर्षे यात्राका क्रममा स्थानीयले निकै साथ दिएका छन् । रेडियो स्थापनार्थ १५ लाख रुपैयाँ स्थानीयबाट सहयोग जुटेको उनले बताए । त्यस्तै पशु फार्मका लागि पनि लगानी जुटिसकेको छ ।

बिहादी गाउँपालिकाका प्रमुख कमलप्रसाद भुसालले न्यौपानेको सक्रियता र उद्यमशीलताको प्रशंसा गरे । ‘विगतको द्वन्द्व र आर्थिक समस्याले धेरै युवाहरू गाउँबाट पलायन भएका थिए,’ उनले भने, ‘हरिजी आएपछि म निकै उत्साहित छु । उहाँको रेडियो, सहकारी र कृषि फार्ममा सय जनाभन्दा धेरै युवापुस्ता आबद्ध हुने अवस्था छ । विकासको सुरुवात यही नै हो ।’ अबको ५ वर्षसम्म कम्तीमा दुई हजार युवालाई गाउँ फर्काउने गरी गाउँपालिकाले रणनीतिक योजना ल्याउने उनले बताए ।

विशन क्षेत्रीले हरि न्यौपानेको बारेमा पर्वत नेपाल नामक अनलाइनमा चार वर्ष अघि प्रकाशित गरेको सामाग्री ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com