काठमाडौं । मन्त्रिपरिषद बैठकले ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्ने निर्णय गरेको छ।ज्येष्ठ नागरिकहरूका लागि छुट्टै अस्पताल सञ्चालन गर्नुपर्ने स्वास्थ्यमन्त्री विरोध खतिवडाको प्रस्ताव मन्त्रिपरिषदले स्वीकृत गरेको हो। बिहीबार बसेको बैठकमा उक्त प्रस्तावमा सहमति भएको र अस्पताल कहाँ खोल्ने भन्ने विषयमा प्रक्रिया थालिने मन्त्री खतिवडाले बताए ‘चितवन, मकवानपुर, सिन्धुली, काभ्रे, धादिङ, कहाँ स्थापना गर्ने हो, देशको मध्य मागमा स्थापना हुनेछ,’ खतिवडाले भने, ‘अब चाँडै जग्गा खोज्ने प्रक्रिया अघि बढ्छ।’
यस्तै, पचास वर्षमाथिका सबै नागरिकलाई वर्षमा एक पटक नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय भएको उनले जानकारी दिए।‘रोगको पहिचानका लागि पनि उमेर समूहका हिसाबले वर्षमा त्यस्ता नागरिकको एक पटक स्वास्थ्य परीक्षण गर्न आवश्यक छ,’ उनले भने, ‘रोग पहिचान भएपछि उपचार गर्न सजिलो होस् भन्ने सरकारको चाहना हो।’यस्तै, प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका सबै सदस्यले मृत्युपछि अंगदान गर्ने निर्णय गरिएको खतिवडाले बताए। सेतोपाटी ।