Home बुलेट न्युज झण्डा पार्कमा टिकटक बनाउनेको ओइरो

झण्डा पार्कमा टिकटक बनाउनेको ओइरो

by ईलालटिन
0 comment

सिरहा ।  यतिबेला लहान बजारको झण्डा पार्क निकै चर्चामा छ । दिनभर फोटो खिचाउन र टिकटक बनाउन युवायुवतीहरूको ठूलै भीड हुन्छ । लहान वरपरका स्थानीय र गाउँ देहातबाट पढ्न आउने युवाहरूको लागि रमणीय ठाउँ भएको छ झण्डा पार्क । पार्कमा खासै त्यस्तो केही रोचक कुरा छैन । ५० वटा नेपाली झण्डा फहराइएको छ तर मानिसहरु गाडी रिजर्भ गरेर समेत झण्डा पार्क हेर्न ओइरिन्छन् ।

अहिले चर्चामा रहेको झण्डा पार्क लहान नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने हिसाबले तारबार मात्र गरेको हो । तर फोहोरमा कमलको फुल उम्रे जस्तो भएको छ यतिबेला लहानको झण्डा पार्क । फोटो खिचाउन र टिकटक बनाउनेहरुको बिहानदेखि बेलुकासम्म भीड हुन्छ । लहान बजार क्षेत्रमा फुर्सदको समय बिताउने खुल्ला ठाउँ नभएर पनि यो झण्डा पार्क यतिबेला सबैको लागि आकर्षणको केन्द्र बनेको छ । लहान नगरपालिका–५, बालुवाटोल छेउको खुट्टी खोलामा पर्ने झण्डा पार्क रहेको स्थान एक समय निकै बदनाम थियो । अहिले पनि गाँजा, भाङ, धतुरो दुर्व्यसन गर्ने ठाउँको रूपमा चिनिन्छ । दुर्व्यसनी युवाबाट चोरी लगायतका  घटना फाट्टफुट्ट हुने गरेको छ ।

लहानमा चोरीको कुनै घटना भए स्थानीयको पहिलो नजर यहीँ बालुवा टोलतिरै पुग्छ । लहानका मेयर मुनि साहको घर पनि यही हो । अहिले झण्डा पार्कका कारण यो गाउँ ठाउँ विस्तारै बदनाम हुनबाट माथि उठ्न थालेको छ । अहिले रहेको झण्डा पार्क यसअघि निकै दुर्गन्धित थियो । घर घरमा शौचालय भएर पनि बालुवाटोल वरपरका स्थानीय खुला शौच गर्न भने छोडेको छैनन् । बालुवाटोलमा अधिकांश दलित, भूमिहीन सुकुम्बासीहरुको बसोबास छ । गरिबीको कारण उनीहरू शिक्षा दीक्षालाई भन्दा रोजगारलाई बढी प्राथमिकता दिन्छन् । यहाँको मुख्य पेशा नजिकै रहेको खुट्टी खोलामा बालुवा गिट्टी चालेर जीवन निर्वाह गर्नु हो । गिट्टी बालुवा उत्खनन बन्द भएपछि उनीहरूको रोजगार खोसिएको छ ।

लहान बजार मधेस आन्दोलनदेखि विभिन्न आन्दोलनको जग पनि हो । तर यहाँको विकास निर्माण र संस्कार संस्कृतिमा आंशिक मात्र परिवर्तन भएको छ । लहान नगरपालिकामा सलहेश फुलवारी, मानिक दह, पोखडिया गढ, हात्ती दह, देवीथान लगायतका थुप्रै धार्मिक स्थल छन्, जसलाई पर्यटकीय हिसाबले संरक्षण र विकास गरे स्थानीय सरकारको लागि आम्दानीको ठूलो श्रोत हुन सक्छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com