पर्वत । लोकतान्त्रिक पत्रकारहरूको साझा संस्था प्रेस युनियन पर्वतको अध्यक्षको जिम्मेवारी उत्तम अधिकारीले पाएका छन् ।अध्यक्षमा रूपमा रहेकी माया अधिकारीले पाएको जिम्मेवारीको समय पूरा भएपछि बिहीबार एक कार्यक्रमको आयोजना गरी मायाले उत्तमलाई जिम्मेवारी हस्तान्तरण गरेकी हुन् ।
प्रेस युनियन पर्वतको पाँचौँ जिल्ला अधिवेशनमा सहमति नभएपछि मतदान भएको थियो । त्यस क्रममा दुवै उम्मेदवारले समान ३०÷३० समान मत पाएका थिए । त्यसपछि गोला प्रथाको आधारमा कार्यकाल २÷२ वर्ष बाँड्ने निर्णय भएको थियो । गोला प्रथामा पहिलो कार्यकाल मायाको पक्षमा परेको थियो ।
सोही अनुसार आफ्नो अवधि पूरा भएपछि बाँकी कार्यकालका लागि उत्तम अधिकारीलाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरिएको हो । प्रेस युनियनको माइन्युट उत्तम अधिकारीलाई हस्तान्तरण गर्दै पदीय जिम्मेवारी सारिएको हो ।
कार्यक्रममा नेपाली काँग्रेसका निर्वतमान केन्द्रीय सदस्य तथा संविधान सभाका सदस्य अर्जुनप्रसाद जोशी, प्रेस युनियन नेपालका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, नेपाली काँग्रेस पर्वतका उपसभापति शिव शर्मा सुवेदी, सहसचिव अच्युत तिवारी, काँग्रेस महाधिवेशन प्रतिनिधि राधाकुमारी कुँवर क्षेत्री, पत्रकार महासङ्घका केन्द्रीय सदस्य छविलाल तिवारी, प्रेस युनियन पर्वतका संस्थापक तथा महासङ्घ पर्वत शाखाका पूर्व अध्यक्ष ओमप्रसाद घायल, निवर्तमान अध्यक्ष माया अधिकारी, प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले पनि प्रेस युनियनले देशका लागि निभाउनुपर्ने भूमिकाको बारेमा बोलेका थिए ।
