पर्वत। लामो समयदेखि साहित्यिक पत्रकारिताका क्षेत्रमा योगदान पु¥याउँदै आइरहेको माधुरी साहित्यिक प्रतिष्ठानद्वारा स्थापना गरिएको सरस्वती बिमल वाङ्मय प्रतिभा पुरस्कारको दुई वर्षका विजेताको नाम सार्वजनिक गरेको छ । प्रतिष्ठानको पुरस्कार छनोट समितिका संयोजक सुमन्तनाथ सुबेदीको अध्यक्षतामा बुधवार बसेको बैठकले प्रतिभा छनोट गरी सार्वजनिक गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष, साहित्यकार एवं समाजसेवी सरस्वती शर्मा जिज्ञासु एवं उहाँका श्रीमान् साहित्यकार एवं पशु चिकित्सक बिमल शर्माद्वारा संयुक्त रूपमा स्थापना गरेको अक्षयकोषबाट हरेक वर्ष समाजसेवा, साहित्य र पत्रकारिता विद्यामा वितरण गर्दै आएको छ ।
समितिले वर्ष ०७७ र ०७८ का विजेता सार्वजनिक गरिएको जनाएको छ । गत वर्ष र यो वर्षको पुरस्कार संयुक्त रूपमा पाउनेहरूमा समाजसेवी लोकनाथ आचार्य, प्राध्यापक डाक्टर षडानन्द पौड्याल, साहित्यकार शान्तिनारायण श्रेष्ठ, साहित्यकार सदानन्द अभागी, स्तम्भ लेखक डाक्टर साधना प्रतीक्षा, साहित्यकार (ऋषि प्रसाद लामिछाने) गोर्खे साइँलो र पत्रकार ओम प्रसाद घायल हुनुहुन्छ । उहाँहरू सबैलाई आगामी पुस १२ गतेका दिन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङको प्रमुख आतिथ्यमा पुरस्कार वितरण तथा सम्मान गरिने समितिले निर्णय गरेको छ ।
गत वर्ष र यो वर्षको पुरस्कारका व्यक्तित्वहरू छनोट गर्नका लागि प्रतिष्ठानका उपाध्यक्ष सुभन्तनाथ सुबेदीको संयोजकत्वमा प्रतिष्ठानका अध्यक्ष जिज्ञासु, सदस्य पृथ्वीनारायण शर्मा, सचिव नवराज शर्मा र सदस्य अगन्धर तिवारी सदस्य रहने गरी छनोट समिति गठन गरिएको थियो । समितिले पर्वतलाई प्राथमिकता दिँदै देशका विभिन्न क्षेत्रमा रहेर पर्वतको साहित्य, पत्रकारिता एवं सामाजिक क्षेत्रमा योगदान पु¥याएका विभिन्न व्यक्तिहरूको योगदानको मूल्याङ्कनलाई आधार बनाएर प्रतिभा छनोट गरेको हो ।

पुरस्कृत सबै प्रतिभालाई जनहि दश हजार नगद सहित सम्मान पत्र तथा दोसल्लाले सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष जिज्ञासुले बताउनुभयो । जिज्ञासु दम्पतीले प्रतिष्ठानको नाममा पाँच लाख पाँच हजार पाँच सय रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । कोषबाट प्राप्त व्याजको रकमबाट पुरस्कार वितरण गरिने र यो पुरस्कार पर्वत जिल्लालाई प्राथमिकतामा राख्दै देशव्यापी गराइने प्रतिष्ठानका संरक्षक बिमल पौडेलले बताउनुभयो ।
तीन वर्षअघि स्थापना गरिएको अक्षयकोषको रकमबाट पहिलो संस्करणमा साहित्यकार कृष्णादेवी शर्मा (श्रेष्ठ), साहित्यिक पत्रकार राजेन्द्र पहाडी र सामाजिक अभियन्ता मानकुमारी गिरीलाई यसअघि पुरस्कृत गरिसकिएको थियो । प्रतिष्ठानले त्रैमासिक रूपमा साहित्यिक पत्रिका नवमाधुरी प्रकाशन गर्दै आइरहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र प्रेस काउन्सिलबाट समेत क वर्गमा वर्गीकृत नवमाधुरी अहिलेसम्म ४९ औँ अङ्क प्रकाशित भइसकेको छ ।
उक्त पत्रिका पर्वत मात्रै नभएर देशकै उत्कृष्ट साहित्यिक पत्रिका भएको प्रेस काउन्सिल र प्रज्ञा प्रतिष्ठानले समेत बताउँदै आएका छन् । उक्त पत्रिकाका सम्पादक सरस्वती शर्मा जिज्ञासु पर्वतकै पहिलो महिला सम्पादक समेत हुनुहुन्छ ।