Home विशेष देउवा र प्रचण्डसँग फोनमै कुरा गर्ने भीरामुथुको अनुसन्धान अब काठमाडौं प्रहरीले गर्ने

देउवा र प्रचण्डसँग फोनमै कुरा गर्ने भीरामुथुको अनुसन्धान अब काठमाडौं प्रहरीले गर्ने

by ईलालटिन
0 comment

काठमाडौं । महानगरीय अपराध महाशाखाले भारतीय नागरिक ४४ वर्षीय शिवम् भीरामुथुको अनुसन्धान विवरण महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ।महाशाखाले भीरामुथुबारे प्रारम्भिक अनुसन्धान गरी सोमबार विस्तृत अनुसन्धानका लागि परिसरमा फाइल पठाएको हो। भीरामुथुले ठूला-ठूला नेताहरूलाई झुक्याएर ‘ठगी धन्दा’ चलाएको पाइएपछि विस्तृत अनुसन्धान गर्न परिसरलाई लेखी पठाइएको महाशाखा स्रोतले बतायो।

‘प्रारम्भिक अनुसन्धानमा भीरामुथुले देशका उच्च नेताहरूलाई नै झुक्याएर नक्कली कागजात बनाई चिटिङ गरेको देखियो,’ महाशाखा स्रोतले सेतोपाटीलाई भन्यो।परिसरका एक अधिकृतले भीरामुथुबारेको फाइल आए पनि हेरिनसकेको बताए।हामीकहाँ महाशाखाले फाइल पठाएको छ, हामीले त्यो हेरिसकेका छैनौं,’ ती अधिकृतले भने, ‘फाइल हेरेपछि के कस्तो हो भनेर भन्न सकिन्छ।’महाशाखाले आरोपीलाई पक्राउ गरी परिसरलाई विस्तृत अनुसन्धानका लागि पठाउने गरेको छ। मुद्दा अभियोजन गर्ने अधिकार नरहेकाले महाशाखाले ठूला अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गरेपछि अनुसन्धानको फाइल परिसरमा पठाउँछ।

भारतको चेन्नई र मलेसियाको क्वालालम्पुर घर बताउने भीरामुथुलाई गत कात्तिक २३ गते महाशाखाले पक्राउ गरेको थियो।महाशाखा स्रोतका अनुसार भीरामुथुले देखाउने गरेका करोडौं लगानीका कागजात नक्कली भेटिएका छन्।भीरामुथुले विभिन्न कम्पनीमा २५ करोड रूपैयाँभन्दा बढी लगानी रहेको कागजात देखाएर पोखरास्थित मणिपाल मेडिकल कलेज किनबेचको ‘डिल’ गरेको अनुसन्धानमा खुलेको थियो।महाशाखाले आफ्नो अनुसन्धान क्रममा केही कम्पनीमा भीरामुथुको लगानी छ/छैन भनी पत्राचार गरेको थियो। त्यसैमध्ये एउटा कम्पनीले जवाफ पठाउँदै भीरामुथुले पेस गरेका कागजात नक्कली रहेको भनी महाशाखामा जवाफ पठाएको छ।

त्यस्तै, भीरामुथुले एउटा सहकारीमा आफ्नो लगानी रहेको भन्दै पाँच करोडका कागजात बनाएका थिए। उक्त सहकारीमा बुझ्दा त्यो कागजात पनि झूटो पाइएको महाशाखा स्रोतले बतायो।महाशाखा स्रोतका अनुसार सिंगापुरको मिलेनियम ग्रुपको निर्देशक भन्दै भीरामुथुले मणिपाल मेडिकल कलेज किन्न ब्लुक्रस अस्पताल त्रिपुरेश्वरका एक डाक्टरसँग ‘डिल’ गरेका थिए।पशुपतिनाथका भट्टलाई समेत प्रभावमा पारेर भीरामुथुले मणिपाल कलेज किन्ने सर्तमा ती डाक्टरसँग ५० लाख रूपैयाँ ठगी गरेको अनुसन्धानमा फेला परेको छ।भीरामुथुले आफूलाई योङ लियान ग्रुप रियालिटी मलेसियाको सिइओ बताएर एनएमबी बैंकलाई पनि छलेका छन्।

योङ लिआन ग्रुप मलेसियाको चर्चित कम्पनी हो। लिआन ग्रुपको एनएमबी बैंकमा १५ प्रतिशत सेयर छ। ४२ वर्षअघि मलेसियामा स्थापना भएको यो कम्पनीले होल्डिङ्स, रियलस्टेट, सेयरमा लगानी गरिरहेको छ।भीरामुथुले आफूलाई त्यो ग्रुपको सिइओ भनेर परिचय दिई एनएमबी बैंकबाट कागजात लिएका थिए।लिआन ग्रुपको अहिले एनएमबी बैंकमा पचास लाख कित्ता सेयर छ। यो सेयरबापत उसले बर्सेनि करोडौं बोनस लगिरहेको छ।भीरामुथुले उक्त कम्पनीको कागजात कसरी लिए भनेर महाशाखाले एनएमबी बैंकलाई एक साताअघि नै पत्राचार गरेको थियो। बैंकले अहिलेसम्म विवरण उपलब्ध नगराएको महाशाखा स्रोतले बतायो।

‘यतिका सेयर भएको कम्पनीको आधिकारिक विवरण बैंकसँग हुनुपर्छ, त्यो कम्पनीको सिइओ भनेकै भरमा भीरामुथुलाई बैंकले कसरी सिइओ उनै हुन् भनेर कागजात दियो? यो कुरा अपत्यारिलो देखिएको छ,’ अनुसन्धानमा संलग्न अधिकृतहरू भन्छन्, ‘कि नक्कली कागजात बनाएको हो भनेर बैंकले भन्नुपरो, पटक-पटक ताकेता गर्दा बैंकले विवरण दिएको छैन।’बैंकले विवरण दिन ढिलासुस्ती गरेकाले त्यहाँका कर्मचारीले नै मिलेमतो गरे कि भन्ने शंका जन्मिएको महाशाखाका ती अधिकृतले दाबी गरे। आफ्नो व्यक्तिगत बैंक खातामा ८ करोड, लोटस इन्भेस्टमेन्ट कम्पनीमा २७ करोड लगानी, स्टेट बैंक अफ इन्डियामा पनि मौज्दात रहेको भनी भीरामुथुले कागजात देखाएर मणिपाल मेडिकल कलेज किन्ने ‘डिल’ गरेको अनुसन्धानमा खुलेको थियो।

भीरामुथुले आफ्ना अन्य पाँचवटा कम्पनी पनि देखाउने गरेका छन्। भीरामुथुको नाममा पाँचवटा कम्पनी नेपालमै दर्ता रहेको देखिएका छन्। सिएस काष्ठ उद्योग, श्री गोक्यो होटल, किङडम होल्डिङ्स, वडिया सर्भिसेज र सीतादेवी बिजनेस एन्ड सप्लायर्स कम्पनी उनको नाममा देखिएका छन्। यी कम्पनी २०७२ देखि २०७८ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका छन्। भीरामुथुले आफू अन्तर्राष्ट्रिय रेडक्रसको निर्देशक, मिलेनियम ग्रुप सिंगापुरको निर्देशक र योङ लिआन ग्रुप रियालिटी मलेसियाको सिइओ भन्दै नेपालका उच्च नेताहरूसँग ‘सम्बन्ध’ बनाएका थिए।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई रेडक्रसको निर्देशक, मिलेनियम ग्रुपको निर्देशक भनी चिनाएका थिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अन्तर्राष्ट्रिय रेडक्रसको निर्देशक भनी परिचय दिएका थिए।भीरामुथु, देउवा र प्रचण्डबीच एसएमएसमा दोहोरो संवाद भएको अपराध महाशाखाको अनुसन्धानले पनि देखाएको छ। भीरामुथुले गृहसचिव टेकनारायण पाण्डेलाई पनि हातमा लिएर ‘फाइदा’ लिएको अनुसन्धानमा संलग्नहरूको दाबी छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com