काठमाडौं । साहस उर्जा लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका२०७४ बमोजिम आइतबार आइतबार शेयर बाँडफाँट भएको हो ।
कम्पनीको आईपीओ शेयर गोलाप्रथाबाट ६ लाख ४४ हजार जना आवेदकले १० कित्ताका दरले पाएका छन् भने ११ हजार ९९६ जनाको आवेदन रद्द भएको छ । आईपीओमा २३ लाख ९५ हजार ४५६ जनाले आबेदन दिएकोमा २३ लाख ८३ हजार ४६० जनाको आवेदन मात्र स-दर भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले बताएको छ। क्यापिटलका अनुसार सदर आवेदनमार्फत कुल ३ करोड १३ लाख ६१ हजार २३० कित्ता शेयर माग भएको थियो । रद्द भएको ११ हजार ९९६ वटा आवेदन मार्फत १ लाख ७९ हजार ७७० कित्ता शेयर माग भएको थियो ।
कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरु र ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका -लागि छुट्टाएर ६४ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणहरूबाट आवेदन संकलन गरिएको थियो। हालका दिनमा आइपिओ पाउनेको संख्या ज्यादै न्यून रहँदै आएकोमा यस कम्पनीको भने कुल ६ लाख ४४ हजार जनाले १० कित्ताका दरले पाएका हुन्। हाल आइपिओ भर्नेको संख्या झण्डै २४ लाखको हाराहारीमा पुग्ने गरेको छ।
इक्रा नेपालले कम्पनीलाई बीबीप्लस रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनी औसत मध्यम स्तरमा राम्रो जनाउँछ। जारी पुँजीको ७० प्रतिशत संस्थापक सेयर र १० प्रतिशत स्थानीयबासी तथा २० प्रतिशत सेयर सर्वसाधारणमा जारी हुनेछ।यस कम्पनीले सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोसी) जलविद्युत आयोजना निर्माण गरिरहेको छ। ब्याजसहित आयोजनाको लागत प्रतिमेगावाट १३ करोड ७९ लाख रहेको छ। ब्याजसहित कुल लागत ११ अर्ब ८६ करोड लाग्ने अनुमान छ। पछिल्ला वर्षमा बन्ने गरेका आयोजनामध्ये यसको लागत न्यून देखिन्छ।
यद्यपि तोकिएको समयमै आयोजना सम्पन्न गर्ने चुनौति छ। आयोजना समग्रमा ७२ प्रतिशत सम्पन्न भइसकेको कम्पनीले दावी गरेको छ। बिद्युत उत्पादन हुने सम्भावित मिति २०७९ जेठ २० गते तोकिएको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.०२ वर्ष छ। प्रक्षेपित विवरणअनुसार आर्थिक वर्ष ०८०/८१ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ७१ पैसा पुग्ने छ। सोही अवधिसम्म प्रतिसेयर आम्दानी २८ रुपैयाँ २८ पैसा पुग्ने कम्पनीको प्रक्षेपण छ। कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौंको कमलादीमा छ। कम्पनीमा हाल ८ हजार ८७ जना संस्थापक सेयर धनी छन्। उत्पादित विद्युत शक्ति विद्युत गृहको बाहिरपट्टि रहने स्वीचयार्डमा ३×३६००० के.भि.ए. क्षमताको १३२/११ के.भि.को ट्रान्सफर्मर हुंदै प्रस्तावित १२ कि.मि. लामो १३२ के.भि. प्रशारण लाईन मार्फत नेपाल विद्युत प्रधिकरणको निर्माणाधीन लमाने सव–स्टेशन ( तिङ्गला) मा जोडी राष्ट्रिय प्रशारण प्रणालीमा समाहित गरिनेछ। सेतोपाटी ।