काठमाडौं । क्यूबाको सरकारले दुई वर्षका बालबालिकालाई पनि कोभिड–१९ विरुद्धको खोप दिन थालेको त्यहाँको सरकारी मिडियाले जानकारी दिएको छ । बालबालिकालाई स्कूल पठाउन लागि खोप अभियान सुरु गरिएको जानकारीमा उल्लेख छ । संसारका अन्य देशले बालबालिकालाई अन्त्यमा मात्रै खोप प्रदान गर्ने बताइरहँदा क्यूबा भने बालबालिकालाई कोभिडविरुद्धको खोप दिने पहिलो देश बनेको छ ।
क्यूबाले आफ्नो देशमा उत्पादित खोप बालबालिकाका लागि सुरक्षित भएको सेप्टेम्बरमा बताएको थियो । महामारीका अवधिभर क्यूबामा भौतिक उपस्थितिमा कक्षा सञ्चानल भएनन् । स्कूल जानुको साटो बालबालिकाले घरभित्रै बसेर प्रत्येक दिन टिभीमा शैक्षिक कार्यक्रमहरु हेरे । यहाँ इन्टरनेटको पहुँच सबैमा सहज छैन । क्यूबाले औषधीका लागि अन्य देशमा भर पर्नुको साटो आफ्नै देशभित्र खोप विकसित गर्ने कुरामा जोड दियो । स्थानीय वैज्ञानिकले क्यूबामा बनेको खोप सुरक्षित र प्रभावकारी भएको बताउँदै आएका छन् । यद्यपि, यस विषयमा अन्य अनुसन्धाताका लागि कमै डाटा उपलब्ध छ । आफ्नो देशमा उत्पादित खोपका लागि त्यहाँको सरकारले डब्ल्यूएचओको स्विकृतीको प्रयास गर्ने पनि बताएको छ ।
क्यूबाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म त्यहाँका ४० लाख जनतालाई पूर्ण खोप प्रदान गरिसकिएको छ । सरकारले हालसम्म कतिजना बालबालिकालाई खोप प्रदान गर्यो भन्ने जानकारी त दिएन तर सियनफ्युगस प्रान्तमा बालबालिकाका लागि खोप अभियान यसै हप्तादेखि सुरु भएको बताइएको छ । कूल १ करोड १३ लाख जनसंख्या भएको क्यूबाले नोभेम्बरको मध्यसम्म आफ्ना अन्तरराष्ट्रिय सीमा खोल्नुअघि ९० प्रतिशतलाई पूर्ण खोप प्रदान गरिसक्ने लक्ष्य राखेको छ । सुरुमा सरकारले स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक र अति प्रभावित इलाकामा खोप अभियान चलाउने बताएपनि डेल्टा भेरियन्टले बालबालिकालाई पनि संक्रमित गराउन सक्ने आँकलनबीच बालबालिकालाई पनि खोप प्रदान गर्न आफूहरुले प्राथमिकता दिने सरकारले बताएको छ ।
‘कोभिड–१९ को संक्रमण बालबालिकामा पनि वृद्धि भइरहेको अवस्थामा हामीले हाम्रा बालबालिका र किशोरलाई जोगाइरहेका छौं,’ क्यूबाका मुख्य बालरोग विशेषज्ञ डा. फ्रान्सिस्को डुरान ग्रासियाले भने । हालसम्म क्यूबामा कोरोनाभाइरसका कारण ६,०५६ को मृत्यु भएको छ तर अधिकारीले यो आँकडा धेरै नै हुनसक्ने बताएका छन् । रातोपाटी ।