काठमाडौं । देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएका छन् । चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन गरेसँगै यी महत्वपूर्ण गन्तव्य हवाई सेवामार्फत जोडिएका हुन् । भरतपुर–भैरहवा उडान शुरु भएसँगै चार गन्तव्य जोडिएका हुन् ।
बुद्ध एयरले आइतबारदेखि भरतपुर–भैरहवा उडान थालेको हो ।बुद्ध एयरलाइन्स भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार भरतपुर–काठमाडौँ दैनिक नौ वटा उडान हुँदै आएको छ ।भरतपुर–पोखरा दैनिक एउटा र भरतपुर–भैरहवा हप्ताको तीन उडान भर्न थालिएको छ ।
आइतबार, बुधबार र शुक्रबार उडान थालिएको उनले जानकारी दिए। बस्नेतले भने, “पर्यटकीय गन्तव्यसँगै उपचारका लागि भरतपुर आउन सहज भएको छ ।” यससँगै नारायणगढ–बुटवल सडक विस्तार भइरहेकाले यात्रुलाई सहज भएको उहाँको भनाइ छ ।