अस्ट्रेलियामा नेपाली समाज बढ्दै जाँदा अचेल ती समाजका अन्य प्रसंगले पनि बेलाबखत चर्चा पाउने गरेको छ। सामाजिक भेटघाटदेखि मेला र भेलासम्म चियोचर्चो हुँदा पछिल्लो समय दुई वटा ‘डी’ले निकै महत्व पाएको देखिन्छ, त्यो हो ‘डिर्भोस’ र ‘डिप्रेशन’।
‘ए फलानोको सुनिस्, मोरोले बर्बाद पारेछ बिचरीलाई.., हैट दुई वटा घर गएछ.. , फलानोलाइ उसले उडाएछ नि!’ जस्ता गाइँगुइँ जताततै सुनिन्छन्। अर्थात हाम्रो धर्म, संस्कृति अनि समाजिक संरचनाले यस्ता विषय महत्वभित्र परेको हो। त्यसैले यस्ता विषय हामी जमघटमा खिसीट्युरी गरिहाल्छौँ। यहाँको स्थानीय समाजका लागि भने यी नौला कुरा होइनन्।
कसले कसलाई छाड्यो वा अपनायो भने विषय परिवारभित्र बाहेक बाहिरी महत्वभित्र परेको देख्दैनौँ। हाम्रो चर्चाको विषय बन्नु भनेको हाम्रो परिवेशका कारण यहाँ सहज रुपमा पचाउन नसकेका हौँ, जुन विस्तारै अस्ट्रेलियन नेपाली समाजमा पनि सहज बन्दैछ।
हुन त सक्कली डिभोर्सको संख्या पनि हवात्तै बढिरहेका बेला विद्यार्थीको नक्कली विवाह र डिभोर्सले यसको संख्यात्मक रुपमा भने बढोत्तरी देखिएको पक्कै हो।
डिभोर्स वकिलका रुपमा चर्चा कमाएका सिड्नीका कानुन व्यवसायी खिलेन्द्रराज तिम्सिना भन्छन्, ‘डिभोर्स अर्थात सम्वन्ध बिच्छेद आफैमा देख्दा र सुन्दा पनि राम्रो कुरा पटक्कै होइन। तर अर्को पाटोका रुपमा हेर्ने हो भने एकबारको जिन्दगीलाई नर्क बनाएर दिनरात झगडामै बिताउनु भन्दा त छुट्टिएर रमाउन सकिन्छ भने त्यो पनि किन नगर्ने भन्ने कुरा महत्वको विषय हो।’
नकरात्मक पाटोभित्र पनि सकरात्मक पक्ष लुकेको रुपमा डिभोर्सलाई बुझ्नुपर्ने उनको तर्क छ। ‘आ- आफ्नो पेशामा सबै इमानदार बन्नुपर्छ भन्ने मेरो बुझाई हो, डिर्भोस गर्छु भनेर आउँछन, मेरो काम आवश्यक शुल्क लिएर गराइदिने हो,’ उनले भने।
डिभोर्ससँगै यतिखेर नेपाली समाजमा ‘डिप्रेशन’को पनि निकै चर्चा चुलिएको छ। पछिल्लो एक वर्षमा घटेका आधा दर्जन आत्महत्यामा केही डिप्रेशनका छिटाहरु पाइएपछि यो ठूलो रोगका रुपमा फैलिन थालेको बुझ्न सकिन्छ। महत्वकांक्षा बोकेर विदेश आउने विद्यार्थीहरु सबैभन्दा बढी यसको मारमा परेको सर्वेक्षणमा देखिएको छ।
महँगो फी, चर्को भाडा र पढाइको लोड अनि कामको जोडले विद्यार्थीमा तनाव बढाएको जानकार बताउँछन्। त्यस बाहेक पनि पारिवारिक समस्या र घरको काम अनि मामको जोहो गर्न नसक्दा विदेसिएका कयैन परिवारमा डिप्रेशनका समस्या बढ्न थालेको छ। यसै हप्ता मात्र दोलखाका एक नेपाली युवाले पार्कमा पासो लगाएर ज्यान फाले। सो घटनामा लेनदेन वा जुवासँगै डिप्रेशनको समस्या पनि भएको नजिकबाट चिन्नेहरु बताउँछन्।
पछिल्लो समय त कोरोनाका कारण पनि धेरै मानिसमा विभिन्न समस्या बल्झिँदा डिप्रेशनको शिकार बन्न पुगेको सरकारी तथ्यांकले समेत देखाएको छ।
सक्दो प्रयासका वाबजुद पनि आवश्यकता र चाहनाको पूर्ति आफूले सोचेजस्तो हुन नसक्दा युवा पिढीमा विस्तारै निराशा बढ्दै जान सक्छ। यसरी चरम निराशाले मानसिक तनाब बढ्दै जाने र गलत मनोवृत्तिको विकास हुने बताउँछन्- विशेषज्ञ डाक्टर सीताराम जोशी।
‘समस्यालाई पोख्ने र समाधानको उपाय निकाल्ने ठाउँ नदेखेपछि अन्तमा युवा युवतीले गलत बाटो समाउने गरेको देखिन्छ’ उनले भने। यस्तो परिस्थितिमा नियमित अभिभावकसँंग सम्पर्कमा रहने, सानातिना समस्यामा पनि छलफल गर्ने र केही परेमा आफन्त नभए स्थानीय संघ संस्था वा दुतावासको सम्पर्कमा रहने गरेमा पनि धेरै हदसम्म तनाव कम हुने डाक्टर जोशीले सुनाए।
”पढ्न आएको एक वर्ष भयो, काम पाएको छैन, एक्लै झोंक्राउन थालेको थुप्रै भयो, हामी सबै मिलेर नेपालमा घर परिवारलाई खबर गरिदिएका छौँ,” सँगै बस्ने एक साथीको समस्या सुनाउँदै बुटवलका निर्भिक आचार्यले भने।
बाबु आमाले नेपाल फर्काइदिन आग्रह गरे पनि कोरोनापछि उडान नहुँदा पठाउन नसकिएको उनले बताए। उनले भने- ‘केही महिनाअघिसम्म ठिकै मान्छे, अहिले पुरै अर्कै भएको छ, क्लास पनि गएको छैन, हामीले सम्झाइ बुझाइ सँंगै राखेका छौँ, उडान खुल्नेवित्तिकै नेपाल पठाउने तयारी छ।’
डिर्भोसले जति नै उग्र रुप लिए पनि यसले समाजिक छवि ब्रिगने काम मात्र गर्छ। तर डिप्रेशनले त कयौं मानिसको ज्यानै समेत जान सक्नेछ।
‘टु डी’ मात्र होइन अस्ट्रेलिया ‘थ्री डी’का कारण पनि चर्चित छ। जसमा ‘डेन्जर्स’, ‘डिफिकल्ट’ र ‘डर्टी’ पर्छन्। गगनचुम्बी मिनार र समुन्द्री किनारका तस्बीरले लोभिएका हाम्रा युवा पुस्ता यता आएपछि कुनै न कुनै समय फार्म, कन्सट्रक्सन , क्लिनिङ, स्याहार सुसार र आहार बिहार जस्ता काममा जोडिनुपर्छ।
त्यसमा केही डर्टी, केही डिफिकल्ट र केही डेन्जर्स पक्कै पनि छन्। नेपाली विद्यार्थीका लागि आउनेवित्तिकै काम भनेको तन्ना कस्नेदेखि लिएर भाडा हान्नेसम्म, सरसफाईदेखि वट्टा काट्ने अनि डेरा सार्नेसम्म हुन्छन्।
यहाँको प्रतिस्पर्धात्मक बजारमा सजिलो र व्यवसायिक जागिर पाउनेको संख्या केही प्रतिशत मात्र छ। ‘यहाँ कामको सम्मान छ, जुनै पेशा गरेपनि कसैले पेशाकै आधारमा हेप्ने चलन छैन,’ एनआरएनका पुर्व कोषाध्यक्ष डिला खरेलले भने ‘प्रारम्भमा काम खोज्दा सफा, फोहोर अनि गारो, असहज भन्ने हुँदैन। जे पाइन्छ गर्दै जाने र उपयुक्त खोज्दै जाने हो।’
अस्ट्रेलिया सप्रनेका लागि स्वर्ग र बिग्रनेका लागि नर्क हो भनेर मान्नु अतियुक्ति नहोला। यस प्रसंगमा पनि अर्को ‘थ्री डी’ले निकै महत्व पाएको छ। जसमा रहेका छन् ‘ड्रिंक्स’, ‘ड्रग्स’ र ‘ड्रिम्स’। रमाइलो र स्वतन्त्रताको नाममा दारुबाट सुरु हुने रमाइलो गाँजा हुँदै ड्रग्ससम्म पुग्ने अनि घुम्ने ‘रुलिट’ र ठोक्ने ‘पोकर’मा पुगेर सपना देख्न थालेपछि कयैन जिन्दगी स्वाहा भएको वास्तविक कथा हामीले जताततै सुन्ने गरेका छौँ।
साथीभाइ, पार्टी र भेटघाटबाट सुरु हुने रमाइलोलाई स्वतन्त्रताको उपभोगका नाममा बेसुरा बनाउँंदा कयैनको जीवन बर्वाद भएको बताउँछन्, एनआरएन अस्ट्रेलियाका महासचिव डा ज्ञानेन्द्र रेग्मी।
‘यहाँ युवा पढ्न आउँछन्, नेपालमा पारिवारिक बन्धनमा बाँधिएका उनीहरुमध्ये केही यता आएपछि खुला समाजमा उन्मुक्त हुन खोज्छन्, लहलहैमा लागेर मोजमस्ती गर्न खोज्दा गलत बाटो समाउने डर हुन्छ,’ डा रेग्मीले भने, ‘यसो गर्दै जाँदा कुलतमा फस्ने, पढाइ बिगार्ने अनि बदमासी गर्ने घटनाहरु समेत बढेको पाइएको छ, यो अहिलेको प्रमुख समस्या हो।’ साभार सेटोपाटी