पर्वत । पछिल्ला दिनमा पर्वत सदरमुकाम कुश्माको नाम नसुन्ने कमै होलान् । विश्वकै अग्लो स्वीङ तथा दोस्रो अग्लो बन्जिजम्पको व्यावसायिक सुरुवात भए सँगै सामाजिक सञ्जालमा कुस्मा ‘बन्जीको ठाउँ’ भनेर परिचित भइरहेको छ । उसो त यस भन्दा अघि पनि अग्ला र लामा पुलहरूको सहरका रूपमा पनि कुस्मालाई लिने गरिन्थ्यो, गरिन्छ ।
कुस्मामा बनेका र बन्दै गरेका कहाली लाग्दा खेलहरूको विकासलाई हेर्दा छिट्टै साहसिक पर्यटकीय हवका रूपमा कुस्माले आफ्नो दरिलो स्थान बनाउने देखिन्छ । यता बन्जीको छेउमै बन्दै गरेको जिपलाईनको काम पनि युद्ध स्तरमा अघि बढिरहेको छ । यसको दशैँसम्मा काम सम्पन्न गरिसकिने बताइएको छ ।
तर, साहसिक पर्यटकीय हब बन्ने तरखरमा रहेको कुश्मालाई अव्यवस्थित, अमर्यादित, असुरक्षित एवं सहरी सौन्दर्य बिगार्ने गरी जथाभाबी टाँगिएका, ठोकिएका र अडाइएका विज्ञापनका बोर्ड तथा प्रचार सामाग्रीहरूले कुस्माको सौन्दर्यलाई गिज्याइ रहेका छन् ।
कुस्मा—बलेवा झोलुङ्गे पुल, कुश्मा—ज्ञादी झोलुङ्गे पुल, कुस्मा—मुडिकुवा झोलुङ्गे पुल, कुश्मा—खरेहा झोलुङ्गे पुल र विश्वकै अग्लो र लामो दाबी गरिएको पाङ—बाग्लुङ झोलुङ्गे पुल यी सबै पुलहरुका आसपासमा असुहाउँदा फलाम, स्टिलका बोर्डहरूको आतङ्क नै रहेको छ । केही बोर्डहरूका रङ्ग उडेर अक्षर, मान्छे नचिनिने भएको छन् त केही चाहिँ भाँचिएका, प्वाल परेका, बाङ्गिएका र च्यातिएका प्रचार सामाग्रीहरूले घुम्न आउने बाह्य पर्यटकहरूलाई निराश बनाउने काम भइरहेको छ ।

कुस्मा नगरपालिकाले अनधिकृत रूपमा मनलाग्दी विज्ञापनका बोर्डहरू राख्ने माथि कारबाही गर्न सक्ने अधिकार भए पनि त्यसमा हात हाल्न चाहेको देखिँदैन । यसले गर्दा नगरपालिकालाई आउने विज्ञापन कर समेत गुमाउनु परेको छ । व्यावसायीहरुले जहाँ पायो त्यहीँ बोर्ड राख्न सक्ने र पैसा पनि तिर्न नपर्ने भएपछि निःशुल्क प्रचार सामाग्रीहरू राख्न तँछाडमछाड नै भइरहेको छ ।
कुश्मा नगरपालिकाकी राजस्व प्रमुख तिल कुमारी शर्माले प्रत्येक वर्षहरूमा विज्ञापनको कर उठाउने ठेक्का आह्वान गरे पनि कोही नआएको बताइन् । ‘हामीले हरेक वर्ष ठेक्काको लागि सूचना गर्छौ’, उनले भनिन्,‘गएको वर्ष एउटा कम्पनी आयो, त्यसले पनि काम गरेको छैन , म्याद सकिएकोले थप गर्न पत्र पठाएको छ ।’ काठमाडौँ रहेको डिएन एड मिडिया हाउसले २ लाख रुपैयाँमा विज्ञापन कर उठाउन नगरपालिका सँग सम्झौता गरेको शर्माले बताइन् ।
कुश्मा नगरपालिकाले छिट्टै नगर भित्र प्रचार प्रसारका लागि राखिएका र राखिने विभिन्न किसिमका बोर्ड तथा प्रचार समाग्रीहरुको नियमन, अनुगमन एवं नियन्त्रणको संस्थागत व्यवस्था गर्नुपर्ने देखिन्छ । काठमाडौँ महानगरले आन्तरिक श्रोतमध्ये घरजग्गा कर र व्यवसायक कर पछिको तेस्रो ठुलो करको रूपमा विज्ञापनबाट आम्दानी गर्ने गर्छ ।
पछिल्ला दिनमा सदरमुकाम कुश्मा पनि बिस्तारै पर्यटकीय नगरी बन्दै गरेको अवस्थामा कुश्मा नगरपालिकाले विभिन्न किसिमका होर्डिङ बोर्ड, साइन बोर्ड, ग्लो साइन बोर्डहरू, कम्पनीको प्रयोजन बोर्डहरू र पोल व्यानर आदि प्रचार प्रसारका लागि राखिने बोर्ड तथा सामाग्रीहरू नगरपालिकाको आम्दानीका श्रोत बन्न सक्ने देखिन्छ ।
यस्ता विज्ञापनका बोर्ड तथा प्रचार समाग्रीहरुको नियमन, अनुगमन एवं नियन्त्रणको संस्थागत व्यवस्थापन गर्दै पर्यटकीय नगरी कुश्माबाट विज्ञापन कर उठाउन नगरपालिका छिट्टै अघि बढ्न सकोस् । र, छरपस्ट, मनलाग्दी, देखाइएको विज्ञापनका बोर्डहरूको आतङ्क बन्द गरोस् ।