पर्वत । पहिरोले अबरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत बागलुङ खण्ड चार दिनपछि सुचारु भएको छ । वर्षा नरोकिएका कारण विगत चार दिनदेखि अवरुद्ध बनेको सडक आज बिहानदेखि सुचारु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
बुुधवार साँझ एकतर्फि खोलिएको भएपनि वर्षा रोकिएपछि आज विहानदेखि दुईतर्फी नै खुला भएको प्रहरी निरिक्षक प्रदिप पौडेलले जानकारी दिनुभयो । यद्यपी पहिरो पन्छाउने काम भने जारी रहेको छ । पर्वतमा गएरातीदेखि वर्षा रोकिएकोले सडक खुलाउन सकिएको उहाँले बताउनुभयो । पर्वतको कुश्मा नगरपालिका वडा नं १ सहस्रधारामा ठूलो पहिरो झरेर सडक ठप्प भएको थियो ।
सडक सुचारु भएसँगै चार दिनदेखि अलपत्र बनेका मालवाहक ट्रक, तरकारी तथा फलफुल, औषधी तथा अक्सिजन बोकेका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् । कमजोर भुभागका कारण सहस्रधारामा सामान्य वर्षा हुँदा समेत सडक अबरुद्ध हुने गरेको छ । मध्यपहाडी लोकमार्ग पहिरोले रोकिएपछि साना सवारीसाधनले भने बैकल्पिक सडक प्रयोग गरेका थिए ।