केही दिन अघि पर्वत स्थित जिल्ला अस्पतालमा रिपोटिङका लागि पुगेको थिएँ । अहिले अस्पतालमा अन्य सेवाहरू बन्द गरेर अस्थायी कोरोना अस्पतालका रूपमा विकास गरिएको छ । दिनको एकपल्ट म अस्पताल पुगी रहेकै हुन्छु । त्यहाँ एन्टिजेन चेक गराउनेहरू आइरहेका हुन्छन् । नेगेटिभ रिजल्ट आउनेहरू खुसी हुँदै घरमा लाग्छन् । पोजेटिभ देखिएकाहरूलाई डाक्टर सँग सल्लाह गरेर मात्र घर फर्किनुहोला भनिन्छ । डाक्टरले अक्सिजनको आवश्यक नपर्नेहरूलाई सामान्य काउन्सिलङ र औषधी थमाई घरमै आराम गरी बस्नु भनेर पठाउँछन् ।
अस्पताल परिसरमा एकजना महिला हातमा एन्टिजेनको पोजेटिभ रिपोर्टको कागज र केही औषधी समाएर निराश मानसिकताले भूँईमा बसिरहेका थिइन् । ‘दिदी के भयो ।’ मैले प्रश्न गरेँ, ‘उनी पुर्लुक्क म तिर फर्किन तर, बोलिनन् ।’ हातमा समाएको रिपोर्ट बिस्तारै तानेर हेरेँ, र मनमनै आफैलाई भने, ‘दिदीको रिपोर्ट पोजेटिभ आएछ र पो निराश रहिछिन् ।’
दिदीको आत्मबल बढाउन प¥यो भनेर हाँस्दै, ‘निराश नहुनुस् निको भइहाल्छ नि, तपाईँलाई केही त भएको छैन, तनाव नलिनुस् सब ठिक हुन्छ, बिस्तारै घर जानुस् है ।’ यति भनेर म त्यहाँ बाट छुटिँदै थिएँ, दिदीले मसिनो स्वरमा भनिन्, ‘खै भाइ कहाँ जाने हो र, भाडामा बस्नेलाई त साह्रै गाह्रो हुँदो रहिछ ।’ घरभेटीले ‘पोजेटिभ आयो भने अस्पताल बस्नु, नेगेटिभ आए घर आउनु’ भनेका थिए । डाक्टरलाई अस्पतालमै बस्छु भनेको हुन्न भन्नुभयो । यस स्थित धेरै डेरावालहरूको साझा समस्या बनिरहेको छ ।
कोरोना पोजेटिभ देखिएपछि मानसिक रूपमा पुग्ने आघात सँगै घरभेटीबाट गरिने व्यवहार डेरावालका लागि थप जटिल र पीडादायक बन्ने गर्छन् । सदरमुकाम भित्र डेरा गरेर बस्नेहरू अधिकांश बिरामी परेका छन् । उनीहरू सहज तरिकाले अस्पतालमा गएर कोरोना चेकजाँच गराउन चाहन्न । नजिकैको मेडिकलहरूबाट औषधी ल्याएर आफूलाई निको पार्ने प्रयासमा हुन्छन् । उनीहरूलाई डर छ, कतै अस्पतालमा गएर चेक गराउँदा पोजेटिभ देखियो भने ‘कहाँ गएर बस्ने ।’ अस्पतालले अक्सिजन चाहिने बिरामी मात्र भर्ना गर्छ ।
केही दिन अघि मैले चिनेको डेरावाल दिदीले अस्पतालबाट फोन गर्नुभयो । ‘भाइ, मलाई पोजेटिभ देखियो ।’ मैले सोधेँ, ‘अब के गर्नु हुन्छ, अस्पतालमा पनि बस्न मिल्दैन, घरभेटीले के भन्छन् त ?’ ‘घरमा नानी बाबु पनि छन्, समस्या हुने भो, घरभेटीले त आएर कोठा भित्रै बस् भनेछन् ।’ दिदीले सुनाइन । अस्पतालमै बस्नु हुन्छ र, एक पटक म अस्पतालमा कुरा गरी हेर्छु नि, भने । दिदीले हुन्छ भनिन् । अस्पतालका अध्यक्ष गोविन्द पहाडीलाई फोन गरेँ । उनले ‘अक्स्जिन लगाउन नपर्ने बिरामी’ नराख्ने भन्ने छ, सुमन जी भने । मैले दिदीका समस्याहरू सुनाए पछि चाहिँ डाक्टर सँग सल्लाह गरेर अध्यक्ष पहाडीले अनुमति दिए, ‘हुन्छ नि त, समस्या भए त ।’ पछि दिदीले कोठामा साना नानी बाबु एक्लै हुन्छन् ‘घरमै जान्छु’ भनिन् ।
स्थानीय सरकारले सूचना प्रकाशित गर्दै ‘पिसिआर चेकजाँच फलानो दिन फलानो ठाउँ हुँदै छ’ भनेर मात्र पनि हुँदैन । घरघर पुग्ने तदारुकता देखाउन सक्नु पर्छ । चुनावको बेला कोठा कोठा पुगेर मत माग्न सक्ने जनप्रतिनिधि यो बेला एक स्थानमा जम्मा भएर, ‘ल, पिसिआर चेक गर्न आउनु है ।’ भन्ने होइन । आफू सँग भएका संयन्त्रहरूलाई परिचालित गर्ने हो । घरवाला देखि डेरावाला सम्मका स्वास्थ्य अवस्था बारे जानकारी लिने हो । उनीहरूलाई सम्झाइ-बुझाई गर्नुका साथै हौसला थप्ने हो । बजेट छैन काम कसरी गर्ने भनेर झोक्राएर बस्ने होइन । विकास निर्माणमा खर्च गर्ने रकम अहिले कोरोना नियन्त्रणमा लगाउँदा आकाश खस्दैन । पहिला मान्छे बचाउने हो, विकास त पछि गर्दै गरौँला नि । अहिले बन्ने बाटो एक वर्ष पछि बनाउँदैमा पृथ्वी भासिँदैन । ढुक्क हुनुहोस्, अर्को पटक विकास तपाईँले नै गर्ने हो ।