काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिँदै छन्। प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा उनलाई बिहीबार उक्त पदमा पुनः नियुक्त गरेकी थिइन्।
तेस्रो कार्यकालका लागि नियुक्त प्रधानमन्त्री ओलीले दिउँसो २ः३० बजे शपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। आजै पहिलो चरणको मन्त्रिपरिषद् विस्तार हुने जनाइएको छ।
राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गरेकी थिइन्।
उक्त अवधिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायत दलले बहुमत सदस्यको दाबी पेश गर्ने कोसिस गरे पनि ती दल असफल भएका थिए। उक्त अवधि सकिएपछि संविधानको धारा ७६ को (३) बमोजिम ठूलो दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।
पर्वतका पदम गिरी होलान् त मन्त्री ?
आफूलाई प्रधानमन्त्री ओलीको विश्वास पात्रका रूपमा सम्झने पर्वतबाट निर्वाचित प्रतिनिधि सभाका सांसद पदम गिरी प्रधानमन्त्री ओलीले बिस्तार गर्ने नयाँ मन्त्रिमण्डलमा मन्त्री बन्लान् त ? पर्वत बासीका लागि चासोको विषय बन्न पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल पुस ५ गते जनताको थलो संसद् विघटन गरेपछि राजनीतिले फरक मोड समातेको थियो ।
त्यही बेला ओलीले मन्त्री परिषद्मा केही मन्त्रीहरू थपघट तथा हेरफेर गर्दै थिए । यही मेसोमा सांसद गिरीले आफ्ना नजिकका मान्छेलाई आफू मन्त्री बन्ने पक्का पक्की भएको बताएका थिए । उनका कार्याकर्ताहरुमा खुसीयाली समेत छाएको थियो । तर त्यो खुसीयाली धेरै दिन भने टिकेन । मन्त्री त के, सहायक मन्त्रीसम्म पनि पाएनन् । बरु कतिपयले चाहिँ सांसद गिरीको प्रचारबाजीमा रमाउने पुरानो शैलीकै निरन्तरता भन्दै सामाजिक सञ्जालमा हाँसोको पात्र बनाए ।
यसपालि पनि मन्त्री बन्नेमा सांसद गिरी आशावादी रहेका छन् । आज शुक्रवार दिउँसो प्रधानमन्त्री ओलीले बनाउने नयाँ मन्त्रीमण्डलमा गिरी पर्लान् कि नपर्लान्, पर्वत बासीहरूका लागि प्रतीक्षाको विषय बनेको छ । आजको मन्त्रीमण्डलमा नपरे पनि केही दिनपछि विस्तारित मन्त्रीमण्डलमा गिरी पर्न सक्ने सम्भावना रहेको उनी निकट एक नेताले बताए ।