लिला बल्लभ नेपाल
विराटनगर
भ्रष्टाचारको परिचयः
सामान्य अर्थमा व्यक्तिले आफ्नो आचरणलाई भ्रष्ट बनाउनु नै भ्रष्टाचार हो । कानुन विपरित वा आफ्नो पदीय आचरण विपरित आफैँले आफ्नो नैतिक पतन हुने गरी गरिने कृयाकलापलाई भ्रष्टाचार भनिन्छ अथवा त्यस्तो कार्यमा संलग्न व्यक्ति भ्रष्टाचारी कहलाउँछ । भ्रष्टाचारिको मनसाय नै भ्रष्ट हुन्छ जुन देश र जनताको लागि जघन्य अपराध हो ।
नेपालको सन्दर्भमा हेर्ने हो भने तीनै तहको सरकारी संरचनामा भ्रष्टाचारको जरो ब्याप्त भएको सुनिन्छ । नेपालमा भ्रष्टाचारकै कारण हुने खाने र हुँदा खाने वीचको खाडल बढ्दै गएको छ साथै विकास निर्माणको गुणास्तर पनि दिनानुदिन खस्कदै गैरहेको अवस्था छ । कानून कार्यान्वयन गर्ने निकायको भ्रष्ट नीतिकै कारण विकास निर्माणमा संलग्न ठेकेदारहरु कारवाहिको प्रकृयावाट सहजै उम्कने अवस्था सिर्जना भएको देखिन्छ ।
भ्रष्टाचार नियन्त्रणका लागि सचेत नागरिकहरुको प्रभावकारी उपस्थिति अनिवार्य जस्तै भैसकेको छ । नेपालमा भ्रष्टाचार विरोधी धेरै कानुनहरु बने पनि त्यसको पालना गर्नु भ्रष्टाचारमा संलग्न व्यक्तिहरुले कहिल्यै आवश्यक ठानेनन् । भ्रष्टाचारमा संलग्न व्यक्तिहरु शक्तिकेन्द्रको आडमा सहजै फुत्किने गरेका छन् जसले गर्दा दण्डहिनता मौलाई भ्रष्टाचारीलाइ भ्रष्टाचार गर्न अझ मलजल प्राप्त भएको अवस्था देखिन्छ ।
भ्रष्टाचारीको समाजमा बढ्दो प्रभाव
भ्रष्टाचारीले समाजलाई दिनानुदिन रोगी बनाई रहेका छन् । भ्रष्ट व्यक्तिकै समाजमा धाक र रवाफ चल्ने भएकाले यिनिहरुकै इशारामा चल्नु सर्वसाधारण नागरिकको बाध्यता भईसकेको छ । विद्यमान नियम कानूनलाई धमिराले झै धुलो बनाउने र सरकारी संयन्त्रलाई कमजोर बनाइ स्वस्थ्य समाज निर्माणमा बाधा गर्ने तथा यसको मर्यादालाई माटोमा मिलाउने काममा भ्रष्टाचारिहरु सधै उद्धत रहेको देखिन्छ ।
व्यक्तिले कर्मचारी आचारसंहिताको विरुद्ध गई विभिन्न राजनीतिक दलको झण्डा बोक्ने जस्ता कृयाकलापहरुले समाज तथा व्यक्तिको सामाजिक प्रतिष्ठा माथि नै आँच आउने अवस्था सृजना भएको देखिन्छ ।
भ्रष्टाचारको कारण समाजमा देखिएका समस्याहरु के के छन् त ?
१) विकास निर्माणको गुणस्तर दिनानुदिन खस्कदै गैरहेको छ ।
२) सर्वसाधारणमा प्रवाह हुने सेवाको गुणस्तमा र्हास आएको छ ।
३) सामाजिक मर्यादामा विचलन आएको अवस्था छ ।
४) दण्डहिनता दिन प्रतिदिन मौलाउँदै गएको अवस्था छ ।
५) जवाफदेहिताको बाध्यता महशुष गर्न कम हुँदै गएको छ ।
६) सरकारप्रति जनताको विश्वासमा ह्रस हुँदै गएको छ ।
७) अन्तर्राष्ट्रिय समुदायले हेर्ने नजर बदलिएको छ ।
८) धनि र गरिब वीचको खाडल फराकिलो भएको छ ।
९) शासनको बैद्धता माथि प्रश्न चिन्ह खडा भएको छ ।
१०) सरकारी संयन्त्रहरु कमजोर बन्दै गहिरहेका छन् ।
११) समाजमा आपराधिक कृयाकलाप बढ्दा समेत प्रशासन मौन देखिन्छ ।भ्रष्टाचारका किसिमहरु के के हन् ?
१) नीतिगत भ्रष्टाचारः भ्रष्टाचारजन्य क्रियाकलापलाई टेवा पुग्ने किसिमवाट भएको सरकारी संयन्त्रको कुनै पनि निर्णय नै नीतिगत भ्रष्टाचार हो ।
२) सामाजिक भ्रष्टाचारःसमाजका विभिन्न मुल्य मान्यताहरुलाई कमजोर बनाउने किसिमवाट भएको भ्रष्टाचारजन्य क्रियाकलाप नै सामाजिक भ्रष्टाचार हो ।
३।)आर्थिक भ्रष्टाचारःअर्थतन्त्र अथवा राज्यको संचित कोषमा कुनैपनि किसिमवाट क्षति पुर्याउने तथा पदीय आचरण विपरित गैर कानूनी रुपमा आर्थिक लेनदेन गर्ने भ्रष्टाचारजन्य क्रियाकलाप नै आर्थिक भ्रष्टाचार हो ।
४) नैतिक भ्रष्टाचारः व्यक्तिले आफ्नो नैतिक पतन हुनेगरी संलग्न भएको भ्रष्टाचारजन्य क्रियाकलाप नै नैतिक भ्रष्टाचार हो ।
कसरी समाधान गर्ने भ्रष्टाचारको समस्या ?
१) आम निर्वाचनमा “माथिको कुनै पनि उम्मेद्वारलाई मत नदिने” भन्ने प्रणालीको व्यवस्था गर्ने जसले गर्दा भ्रष्ट व्यक्ति निर्वाचित भएर सत्तामा जान नपाओस् ।
२)आफ्नो समाज आफै जोगाऔू भन्ने सिद्धान्त बमोजिम शिक्षित नगरिक एक भई भ्रष्टाचारिलाई सामाजिक बहिस्कार गर्ने ।
३) सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाई सार्वजनिक प्रशासनलाई जनमुखी र परिणाममूखी बनाउने ।
४) विद्यालय तहमा सदाचारिता विषयमा पठनपाठनको व्यवस्था गर्ने ।
५) भ्रष्टाचार विरुद्ध शुन्य शहनशिलताको नीति कडाइका साथ पालना गर्ने गराउने ।
६) समयमै काम सम्पन्न गर्ने प्रणालीको विकास गरी ूअसारे विकासू को विकृतिलाई निरुत्साहित गर्ने ।
७) भ्रष्टाचार नियन्त्रण सम्वन्धी कानूनहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।
८) सार्वजनिक पद धारण गरेको व्यक्तिको सम्पत्ति अनिवार्य रुपमा सार्वजनिक गर्ने ।
९) संयुक्त राष्ट्रसंघीय भ्रष्टाचार विरुद्धको महासन्धि अनुकूल हुनेगरी भ्रष्टाचार सम्वन्धी कानून बनाउने ।
१०) राजनीतिलाई पेशा होइन सेवाको रुपमा ग्रहण गर्ने ।
११) सेवा प्रवाहका सम्भव भए सम्म सबै क्रियाकलापहरुमा प्रविधिको प्रयोग गर्ने ।
१२) राजनीति र प्रशासनको आचरण र व्यवहार स्वच्छ र मर्यादित बनाउने ।
१३) सार्वजनिक सेवाको आर्थिक कारोवारमा अनिवार्य रुपमा लागु गर्ने।
१४) न्यायपालिकालाई जनमुखी तथा जवाफदेही बनाई न्यायिक अनुशासन कायम गर्ने ।
१५) भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरुको सुशासन प्रभावकारिता अवलम्वन गर्ने।
१६) भ्रष्टाचार नियामक निकायलाई सबल, सक्षम र प्रभावकारी बनाउने ।
१७) तीनै तहको सरकारमा भ्रष्टाचार निर्मुलीकरण हुनेगरी आन्तरिक अनुगमन र निगरानी प्रणालीलाई सबल तथा प्रभावकारी बनाउने
१८) विकासको गुणस्तर लेखापरीक्षणलाई प्रभावकारी र पारदर्शी बनाउने ।
१९) आन्तरिक तथा अन्तिम लेखापरीक्षण प्रणालीलाई पारदर्शी र प्रभावकारी बनाउने ।
२०) मुलुकी देवानी संहिता र फौजदारी संहिताको प्रभावकारी उपयोग गरी न्यायमा आम नागरिकको पहुँच बढाउने र फौजदारी न्याय प्रणालीलाई भरपर्दो र विश्वसनिय बनाउने ।
२१) प्रशासकीय, आर्थिक तथा वित्तीय अनुशासनमा सुधार गरी दण्डहिनताको अन्त्य गर्ने ।
२२) सदाचार नीति निर्माण गरी प्रभावकारी कार्यान्वयनमा जोड दिने ।
२३) संविधानलाई सुशासनको गतिशील दस्तावेजको रुपमा ग्रहण गर्ने ।
२४) सबै दलहरुमा दलीय संस्कृतिको विकास गर्ने ।
२५) मुलुकमा सुशासन अभिवृद्धि गर्न राज्यका निकाय र संयन्त्रहरुलाई सुशासन मैत्री बनाउने ।
२६) ूम भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्नू भन्ने मूल नारा सहित भ्रष्टाचार नियन्त्रणको पहल आफैवाट शुरु गर्ने ।अन्तमा,
भ्रष्टाचार तथा भ्रष्टाचारजन्य क्रियाकलाप राष्ट्रघाति अपराध हो र यसको नियन्त्रण हामी आफैले आजैवाट शुरु गर्नु पर्छ भन्ने नाराका साथ समाजलाई सुसूचित गर्न सकेको खण्डमा यस्तो आपराधिक क्रियाकलापवाट एउटा समाज मात्र होइन पुरै देशलाई बचाउन सम्भव छ र सदाचारी व्यक्ति समाजका गहना हुन् र यिनिहरुको सम्मान तथा जगेर्ना गर्नु प्रत्येक नागरिकको नैसर्गिक जिम्मेवारी तथा आवश्यकता हो भन्ने महशुष गर्न सक्नु नै आजको आवश्यकता हो ।स्रोतः संविधान कार्यान्वयनः उपलब्धी, अपेक्षा र चुनौतीः काशिराज दाहाल, प्रशासनमा व्यवसायिकता र सदाचारिता( दामोदर रेग्मी, इन्टरनेटमा प्राप्त भ्रष्टाचार सम्वन्धी अन्य लेख तथा रचनाहरु ।