काठमाडौँ । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले प्रेसमात्र होइन, फ्रि प्रेस र आलोचनात्मक कार्टुनको माध्यमबाट सञ्चार क्षेत्रले हरेक कुरामा खबरदारी गरिरहनु पर्ने बताए । कार्टुनिस्ट क्लव अफ नेपालले शनिबार राजधानीमा आयोजना गरेको ‘कार्टुन पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रता’ बिषयक कार्यक्रममा उनले सो धारणा राखेका हुन् सेवकको जस्तो पारा देखाउने पत्रकारिता र कार्टुनमा झल्किनु नहुने उनले धारणा राखेका थिए । उनले सञ्चार तथा कार्टुन क्षेत्रका सबैले नियम कानुनको बारेमा पनि जानकारी राख्दै सार्वजनिक हितका लागि आवाज उठाउन छोड्न नहुनेमा जोड दिए । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले देशको ठूला पदमा रहेका व्यक्तित्वसँगको पहुँचसम्म पुग्दा सुरक्षा निकायको थुप्रै घेराको सामना र नियम मान्दै हिँड्नुपर्ने अवस्था विद्यमान रहेकोले मुलुकमा गणतन्त्र आएको आभास नै नभएको बताए । उनले भने, ‘सरकारले सञ्चार माध्यममार्फत भक्तिगानको मात्र अपेक्षा राख्ने, आलोचना सुन्नै नसक्ने प्रवृत्ति छ । आलोचनाले कमजोरी सुधार्न मद्दत पु¥याउँछ भन्ने सोचको विकास गर्नुपर्छ ।’कार्टुनिष्ट क्लवका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले कार्टुन सत्ताको जहिले प्रतिपक्ष हुने जनाउँदै समाज, राजनीति तथा सार्वजनिक विषयमा भइरहने विकृति विसंगतिविरुद्ध यो सशक्त माध्यम भएको बताए । उनले कार्टुनिस्टले सास्ती भोग्नुपरेको बषयमा जानकारी गराए ।