म्याग्दी । माघ २९ गते बिहीबार राति ९ः२९ मा सुत्केरी भएकी म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङकी मनकुमारी विजश्वकर्माको समयमै साल निस्किएन । चिकित्सकका अनुसार सामान्यतया बच्चा जन्मिएको १० देखि ३० मिनेटभित्र निस्कनुपर्छ । साल अड्किनुका साथै उनलाई रत्तस्राव पनि भइरहेको थियो । अड्किएको साल र रक्तस्रावले मनकुमारी विक्षिप्त थिइन् । पच्चीस वर्षीया विक सुत्केरी भएको मल्कवाङ स्वास्थ्यचौकीबाट राति १ः०० बजे स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साललाई समस्याको जानकारी भयो । लम्सालले तत्कालै मालिका गाउँपालिकाको केन्द्रमा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख चिकित्सक प्रशान्तसागर यादवलाई फोन गरेर मल्कवाङ जान आग्रह गरे । चिकित्सक र स्वास्थ्यकर्मी तयार भए तर राति भएकाले सवारी साधन पाएनन् । केन्द्रमा सवारी साधनको सुविधा छैन । धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले मालिकाका उपाध्यक्ष खरमाया बिटालुसँग समन्वय गरेर तत्कालै गाडीको व्यवस्थापन गरिदिए । बीच बाटोमा पर्ने मराङमा मर्मत भइरहेको सडक अवरुद्ध थियो । अध्यक्ष पुनले राति नै मराङका वडाध्यक्ष राजाराम सुवेदी र स्थानीय युवा ईश्वर सुवेदीलाई फोन गरेर राति नै सडक अवरोध हटाउन लगाए । मल्कवाङ स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले १०ः०० बजे नै सिफारिस गरे पनि मनकुमारीका श्रीमान् र परिवारका सदस्यले सामान्यरूपमा लिएर धामी झाँक्री गर्नतर्फ लागेका थिए । स्वास्थ्यचौकीका प्रमुख लेखनाथ गौतम र स्वास्थ्यकर्मी जगदेवी छन्त्यालले सम्झाइबुझाई गरेपछि उनीहरु मनकुमारीलाई दरवाङ लैजान तयार भए ।
मृत्युको मुखमा पुगेकी सुत्केरीले नयाँ जीवन पाइन्
164
previous post