काठमाडौं । कोभ्याक्स कार्यक्रम अन्तर्गत साढे २२ लाख कोरोना भाइरसविरूद्धको खोप यही महिनाको अन्तसम्म नेपाल आउनसक्ने देखिएको छ। कोभ्याक्सले बुधबार जारी गरेको रिपोर्टमा यसमा भएका सदस्य राष्ट्रहरूलाई जनवरीको अन्तसम्म खोप उपलब्ध गराउने भनेको छ। जस अनुसार नेपालले २२ लाख ५६ लाख डोज पाउने भनिएको छ। विश्व स्वास्थ्य संगठनले गरिब तथा अति कम विकसित राष्ट्रहरूलाई समेत खोपको सामान वितरण होस् भनेर गाभी संस्थासँग मिलेर कोभ्याक्स कार्यक्रम गठन गरेको थियो। उक्त कार्यक्रम अन्तर्गत त्यस्ता राष्ट्रहरूले कम्तिमा २० प्रतिशत खोप पाउने भनिएको छ। यद्यपि सुरूमा ३ प्रतिशत खोप उपलब्ध गराउने र बाँकी खोप चरण चरणमा दिने भनिएको छ। jनेपालले पाउने भनिएको खोप भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक खोप हो। सेरमले बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रेजेनकाले विकास गरेको खोप भारतमा कोभिसिल्ड नाम दिएर उत्पादन गरिरहेको छ।
यसअघि भारतले कोभिसिल्ड खोप नै १० लाख डोज अनुदानमा दिएको थियो। अहिले देशभर स्वास्थ्यकर्मी र अन्य फ्रन्टलाइनरहरूलाई खोप दिइँदैछ। सरकारले करिब ४ लाख जनालाई खोप दिने लक्ष्य लिएको छ। यही हिसाबमा अब कोभ्याक्समार्फत आउने खोपले करिब ८ लाख व्यक्तिलाई खोप पुग्ने देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर अधिकारीले पनि कोभ्याक्स अन्तर्गतको खोप चाँडै आउने बताए। तर उनले मिति भने तोक्न नमिल्ने बताए। पहिले पनि खोप आएपछि मात्र मिति सार्वजनिक गरिएको भन्दै अहिले नै यो दिन खोप आउँछ भनेर भन्न नमिल्ने उनले जनाए। -उनले कोभ्याक्स अन्तर्गत आउने खोप दोस्रो प्राथमिकतामा रहेका मानिसहरूलाई दिइने बताए। जसमा दीर्घ रोगी, ५५ वर्ष माथिका व्यक्तिहरू र अन्य निकायका फ्रन्टलाइनरहरू छन्। रातोपाटी ।