काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको पश्चिमी क्षेत्र कृषि र पर्यटकीय केन्द्रका रूपमा विकास भइरहेको बताएकी छन् ।
भरतपुर महानगरपालिका वडानम्बर २२ कमलपोखरीस्थित पटिहानीमा घरेलु उपज प्रदर्शनी कक्षको सोमबार शिलान्यास गर्दै मेयर दाहालले महानगरले पर्यटन र कृषिलाइ एकीकृत रूपमा विकास गरी योजनाबद्ध ढंगले अगाडि बढिरहेको बताएकी हुन् । कार्यक्रममा दाहालले पर्यटकीय क्षेत्रको रुपमा विकाश हँुदै गइरहेको पटिहानीमा औद्योगिक उपज प्रदर्शनी कक्ष निर्माणको लागि छनौट गरिएको बताइन् । ‘यसले उत्पादकत्व वृद्धि, रोजगारी सृजना, आर्थिक गतिबिधिमा बढावा दिने साथै स्थानीय उत्पादनहरूलाई बजारीकरण गर्न महत्वपूर्ण भुमिका खेल्छ’, मेयर दाहालको भनाई छ ।भरतपुर महानगरपालिका शिक्षा, स्वास्थ्य, पूर्बाधार, कृषि, पर्यटनको समानुपातिक विकासमा योजनाबद्ध ढंगले दिगो र आत्मनिर्भर विकासको क्षेत्रमा क्रियाशील रहेको बताउँदै मेयर दाहालले यसबाट अत्याधिक लाभ लिन महानगरबासीलाई आग्रह गरिन् । मेयर दाहालले अबका दिनमा महानगरपालिका विकासको गतिका साथ अगाडि बढिरहेको बताउँदै सम्पूर्ण आयोजनाहरू आफ्नै कार्यकालमा पूरा गर्ने योजनाका साथ अगाडि बढेको जानकारी दिइन् ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख तथा जिल्ला औद्योगिक विकास समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले औद्योगिक विकासमार्फत उत्पादकत्व वृद्धि गर्दै समृद्धिको दिशा तय गर्न सकिने बताए । डल्लाकोटीले निर्माण हुन लागेको यस औद्योगिक उपज प्रदर्शनी कक्षले यस क्षेत्रको औद्योगिक पर्यटकीय गतिबिधिहरूको विकास र विस्तारमा सहयोग हुने उल्लेख गरे ।प्रदेश वन पर्यटन तथा वातावरण मन्त्रालयका सचिब डा. सिन्धुप्रसाद ढुङ्गानाले प्रदेश सरकारले औद्योगिक विकास र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यका साथ कार्यक्रम संचालन गरिरहेको बताउँदै निर्माणाधीन औद्यौगिक प्रदर्शनी केन्द्रले यस क्षेत्रको औद्योगिक तथा घरेलु उपजको बजारीकरण र उत्पादन वृद्धिमा सहयोगी हुने विश्वास व्यक्त गरे ।भरतपुर महानगरपालिका वडा नं. २२ का वडाध्यक्ष बिष्णुराज महतोले निर्माणाधीन घरेलु उपज प्रदर्शनी कक्षले यहाँको पर्यटन प्रवर्द्धन र घरेलु तथा औद्योगिक उपजको बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यादवनाथ आचार्यले निर्माणाधीन प्रदर्शनी कक्षका बारेमा आफ्नो धारणा राखेका थिए । वडा नम्बर २२ को कार्यालय परिसरमा निर्माण हुने औद्योगिक प्रदर्शनी कक्ष ९१ लाख रुपैयाँको लागतमा एक बर्षभित्र निर्माण सम्पन्न हुने छ । प्रदर्शनी कक्षले स्थानीय तथा घरेलु उत्पादनको प्रदर्शन र बजारीकरणमा महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ । रोतोपाटी ।