Home समाचार लौरोको सहायतामा हिँड्ने शिवनाथ बन्दैछन् अरूको सहारा

लौरोको सहायतामा हिँड्ने शिवनाथ बन्दैछन् अरूको सहारा

by ईलालटिन
0 comment

जनकपुर  ।  सर्लाहीमा कतैबाट बालबालिका वा अपांगता भएका व्यक्तिलाई सहयोग चाहिए, सबभन्दा पहिले नाम आउँछ शिवनाथ राउतको।  उनीहरूलाई आर्थिक-शैक्षिक सहयोग गर्न सर्लाही, चन्द्रपुर गाउँपालिका-२, बबरगंजका २८ वर्षीय शिवनाथ सधैं अग्रसर छन्। अंग्रेजीमा स्नातक गरेका शिवनाथ गाउँकै सरकारी स्कुलमा गणित र अंग्रेजी पढाउँछन्। उनी निजी स्रोतबाट नियुक्त प्राथमिक तहका शिक्षक हुन्। यसबाहेक अपांगता भएका, दलित तथा विपन्न बालबालिकासम्म शिक्षाको पहुँच पुर्‍याउन उनी खटिरहेका छन्। शिवनाथको काम अरूलाई सहारा बनेको छ भने उनको शरीरलाई सहारा लठ्ठीले दिन्छ। उनको दायाँ खुट्टा प्यारालाइसिस भएकाले हिँडडुल गर्न लठ्ठी चाहिन्छ नै। उनी आफैं अति विपन्न परिवारमा जन्मिएका हुन्। ‘एक वर्षको छँदा मलाई अचानक धेरै रुघाखोकी र ज्वरो आएछ। आर्थिक अवस्था नाजुक थियो,’ शिवनाथ सम्झिन्छन्, ‘जाडोको समयमा ज्वरो आउँदा ज्यान ढाक्ने कपडा समेत थिएन। आमाको साडीको टुक्रामै बेरेर मलाई अस्पताल पुर्‍याउनुभएको थियो रे।’

आमाबुवाले स्वास्थ्य चौकी लगे पनि त्यतिबेलासम्म उनको स्वास्थ्य नाजुक भइसकेको थियो। उनलाई सामान्य स्थितिमा ल्याउन त्यहाँका चिकित्सकले विभिन्न औषधि-उपचार गरे। तर झन् गम्भीर भएपछि उनलाई सुई लगाउने कुरा आयो। त्यो कुन औषधि थियो, शिवनाथलाई थाहा छैन। भन्छन्, ‘आमा र ठूल्दाइले भनेअनुसार दबाइले ठीक हुने सम्भावना नदेखेपछि मलाई इन्जेक्सन लगाउने कुरा आयो। सुई लगाएपछि तत्कालका लागि मेरो ज्वरो ठीक भयो। तर शरीरमा ज्यानै नभएजस्तो भयो रे।’त्यसैले उनको बुझाइ छ, ‘स्वास्थ्य चौकीका चिकित्सकले नजानेर गलत सुई लगाइदिए। गलत सुइकै कारण मेरो पूरै शरीर प्यारालाइसिस जस्तो भएको थियो।’पछि आमाले करिब एक वर्षसम्म तेल, लसुनसहित विभिन्न थोकले उनको शरीर मालिस गरिन्। विस्तारै शिवनाथको शरीर चल्न थाल्यो। ‘मेरा बुवाआमा शिक्षित हुनुन्थेन जसको फाइदा चिकित्सकले उठाए,’ उनले भने, ‘मेरो घटनाको केही दिनपछि गाउँकै अरू केही बच्चालाई पनि यस्तै गरेछन्। उनीहरूका अभिभावक सम्पन्न थिए, बाहिर लगे उपचार गराए तर पूर्ण ठीक भएनन्। तै बिना कसैको मद्दत हिँडडुल गर्न सक्छन्। हामीसँग त खाने पैसो थिएन। उपचार गर्न कहाँ लैजानु?’

आफू आमाको दिनरात मालिसकै कारण आजको अवस्थासम्म आइपुगेको उनी बताउँछन्। शिवनाथको शरीरमा समस्या भएपछि करिब १० वर्ष हुन्जेल घरभन्दा बाहिर जान सकेनन्। शरीरको एक भाग नचल्ने भएपछि उनको दुनियाँ नै घर र आँगन हुन्थ्यो। उनी दुवै हातखुट्टा टेकेर हिँड्थे।’पछि गाउँकै ठूलाबडाले अपांग भएर के भयो, पढ्न त सक्छौ, कमसे कम ज्ञान त हुन्छ भन्नुभयो,’ उनले सम्झिए। उनलाई पनि स्कुल जाने रहर कम्ता थिएन।तर छोराको स्थिति देखेर सुरूमा आमाबुवाले मानेनन्। शिवनाथलाई पनि स्कुल जान पर्दैन भनेर धेरै सम्झाए। शिवनाथको जिद्दीपछि गाउँकै सरकारी स्कुल भर्ना गरिदिए।’भर्ना त भएँ, तर अरू विद्यार्थी जस्तो नभएकाले धेरै कठिन भयो। म आफ्नो शरीर सफा राख्न सक्दिनथेँ अनि मलाई देख्नेबित्तिकै अरूहरू होच्याउँथे, जिस्काउँथे। अपशब्दसम्म भन्थे,’ उनी स्कुलका सुरूआती दिन सम्झिन्छन्।शिवनाथका अनुसार हातगोडा टेक्दै स्कुल जाँदा उनी पिठ्युँमा कापी र बोरा हाल्थे। त्यो देखेर कतिपय बच्चा उनको पिठ्युँमा आएर बसिदिन्थे। ‘उनीहरू मलाई घोडा बनेको भन्दै ढाडमै आएर बसिदिन्थे,’ शिवनाथ भन्छन्, ‘मसँग विकल्प थिएन। यो क्रम कक्षा पाँचसम्म चल्यो।’

अलि ठूलो भएपछि भने उनलाई जुक्ति फुर्‍यो, लठ्ठी बोकेर हिँड्ने। लौरोकै सहारामा उनले हात फुक्का बनाए। एक खुट्टा र लौरोका भरमा उनले लामो यात्रा पार गरे। ‘१४ वर्षसम्म हातखुट्टा टेकेर हिँडेको ममा ती बच्चाका नकारात्मक व्यवहारले सकारात्मक परिवर्तन ल्याइदियो,’ उनले भने, ‘त्यसपछि मेरो मनोबल कसैले तोड्न सकेन। ममा आएको परिवर्तन कसैले विश्वास गर्न सकेका थिएनन्। तर मैले लक्ष्य छोडिनँ। कक्षा ८ पुग्दासम्म साइकलै चलाउन सिकेँ। लड्दैपड्दै जसरी हिँड्न सिकेँ, त्यसरी नै साइकल सिकेँ।’अचेल त शिवनाथ कहीँ जानुपर्दा कसैको सहयोग खोज्दैनन्, आफैं साइकल हाँक्छन्। स्कुलको निजी स्रोतबाट नियुक्त शिक्षक भएकाले मासिक ८ हजार रुपैयाँ पाउँछन्। जिल्लामा कुनै तालिम भए सहभागी हुन्छन्। त्यसमा पाएको भत्ताले उनलाई घर चलाउन सहज हुन्छ।j ‘स्कुलको कमाइले तीन जनाको परिवार चलाउन गाह्रो हुन्छ,’ दुई छोराका बुवा उनी भन्छन्, ‘तापनि जसोतसो चलेको छ। प्रायः तालिमहरू भइरहन्छन्। सहभागी हुन्छु, केही सिक्न पाइने, आर्थिक सहायता पनि हुने।’

अनि उनी स्वयंसेवा पनि गर्छन्। शिक्षाको पहुँच नभएका गाउँटोलकै गरिब, विपन्न तथा दलित केटाकेटीलाई निःशुल्क ट्युसन पढाउँछन्। अहिलेसम्म करिब चार सय बालबालिकालाई स्कुल भर्ना समेत गराइसकेका छन्।’म आफैं यी समस्याबाट गुज्रिसकेको हुँ। त्यसैले ती बालबालिकालाई पढाएको र सहयोग गरेको हुँ,’ उनले भने ‘करिब ३ वर्षदेखि निःशुल्क ट्युसन पढाइरहेको छु। अहिले करिब ६० जना मकहाँ पढ्दैछन्।’उनीहरूलाई पढाउँदा चाहिने कापीकलम शिवनाथको काम देखेर केही संस्थाले आफैं सहयोग गर्छन्। कतिलाई उनी आफैं आग्रह गर्छन्।कसैलाई सहयोग चाहिए, उसको आर्थिक अवस्था र के कस्तो सहायता चाहिएको हो, सबै जानकारीसहित आफूलाई सम्पर्क गर्न सकिने नम्बर सामाजिक सञ्जालमा राख्छन् पनि। त्यही माध्यमले कोही व्यक्ति वा संस्था मद्दत गर्न आएमा सहयोगी र खाँचो परेका व्यक्तिको भेटघाट गराइदिन्छन्। यसरी शिवनाथ सहयोगको माध्यम बन्छन्  र अरूलाई पनि सहयोगी बन्न प्रेरणा दिन्छन्। शिवनाथलाई संघसंस्थाले सहयोग र उत्साह थपिदिए पनि स्थानीय सरकारले सोधखोज नगरेकामा दुःख लाग्छ। भन्छन्, ‘मेरो कामको सबैले प्रंशसा गर्छन्, बडो खुसी लाग्छ। तर आफ्नै जनप्रतिनिधिले उपेक्षा गर्दा दुःख लाग्छ।’

यसबारे चन्द्रनगर गाउँपालिका वडाध्यक्ष रामनारायण महतोलाई सोध्दा विभिन्न संघसंस्थाबाट सहयोग आइरहेकाले आफूहरूले आर्थिक सहयोगबारे चासो नदेखाएको बताए।’शिवनाथले प्रशंसनीय काम गरिरहेका छन्,’ वडाध्यक्ष महतोले भने, ‘रह्यो सहयोगको कुरा, संघसंस्थाले गरिरहेका छन्। त्यसैले हामीले सोच्नुपर्छ भन्ने जस्तो लाग्दैन।’शिवनाथका दुई छोरामध्ये जेठा स्कुल जाने भइसके। आफूले भोगेको दुःख छोराले नभोगून् भनेर उनले कमाउने योजना बनाएका छन्, कृषि वा पशुपालन गर्ने। भने, ‘शिक्षण पेसाले मैले आफ्ना सन्तानको शैक्षिक खर्च निकाल्न सक्छु भन्ने लाग्दैन। त्यसैले भविष्यमा कृषि वा पशुपालन गर्ने सोच बनाएको छु।’रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com