गोरखा । काठमाडौंबाट गोरखाको सोतीका लागि छुटेको यात्रु बोकेको गाडि दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। पाँच जना यात्रुको अवस्था गम्भीर छ।आज बिहान करिब ४ बजे ग १ ख ९४४६ नम्बरको उक्त बस गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ३ तान्द्राङ मुरली चोकमा दुर्घटनामा परेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले दिएको जानकारीअनुसार दुर्घटनामा भीमसेन थापा गाउँपालिका वडा नम्बर ३ का करिब २९ वर्षका उत्तम पुडासैनी, ३० वर्षका मनोज पुडासैनी र उज्जवल पुडासैनी घाइते छन्।
यस्तै धार्चे गाउँपालिका वडा नम्बर ६ का करिब ५० वर्षिय सुरमान घले र केरौंजाका ३२ वर्षिय कान्छि गुरूङको अवस्था गम्भीर छ। उनीहरूको टाउकोमा चोट छ। घाइतेलाई उपचार गर्न गोरखा जिल्ला अस्पताल र काठमाडौं पठाइएको छ। गाडि चालक प्रहरी नियन्त्रणमा छन्। के कारणले गाडि दुर्घटना भएको भन्ने खुलिसकेको छैन। उक्त गाडिमा करिब ४० जना यात्रु सवार थिए। सेतोपाटी ।