पर्साको भवानीपुर गाउँ पालिका–५ का भरोसप्रसाद पटेल कामको खोजीमा थिए । बुवा सुख्खा बन्दरगाहमा ढुवानी भएर आएका सामान ओराल्ने काम गर्थे । भरोसले पनि केही काम गर्न सके घर चलाउन सहयोग पुग्ने आशामा काम खोज्दै थिए । सामान्य साक्षर उनले काम खोजिदिन गाउँकै शक्ति पासवानलाई भने ।
शक्ति पासवानको नजिक गाउँ चैनपुरका मनोजप्रसाद पटेलसँग चिनजान थियो । उनले भरोस जागिरको खोजीमा रहेको उनलाई बताए ।
भरोस त्यो दिन घरमै थिए । उनलाई सन्चो थिएन । ज्वरो आएर आराम गरिरहेका उनलाई मनोजप्रसादले फोन गरे । मनोजप्रसादले उनलाई काठमाडौंमा एउटा कम्पनी सञ्चालनमा आउन लागेको र त्यहाँ जागिर खुलेको बताए । भरोसले आफु सामान्य लेखपढ गर्न सक्ने भएकाले कम्पनीमा काम गर्न नसक्ने बताए ।
मनोजप्रसादले उनलाई जागिर सजिलो भएको र कम्पनीका मालिकले विश्वासिलो मान्छेको खोजी गरिरहेकाले तिम्रो नाम सिफारिस गरेको भन्दै फकाए । उनले भरोसलाई नागरिकता र फोटो लिएर भेटना बोलाए । ‘मसँग फोटो समेत थिइन, उनीहरु आफैले खिच्ने बताए,’ भरोसले पर्दाफाससँग भने,’ उनीहरुले जागिर र राम्रो तलबको बाचा गरेपछि म तयार भए ।’

मनोजप्रसादले भरोसलाई परसौनीका अजयप्रसाद हलखोरका लिएर गए । यो समुह अब काठमाडौं आउन तयार थियो । भरोसको फोटो खिचियो । उनको नागरिकता अब अजयप्रसादको कब्जामा थियो । अजयप्रसाद बेलाबेलामा भरोसलाई नयाँ खुल्ने कम्पनी र त्यसले भरोसको जीवनमा ल्याउने परिवर्तनका सुन्दर कथाहरु सुनाउदै थिए ।
पहिलो पटक काठमाडौं आएका भरोसले अजयप्रसादले जहाँ–जहाँ लैजान्छन् त्यहाँ जान्थे । जहाँ ल्याप्चे लगाउन भन्यो त्यहाँ ल्याप्चे लाउथे । उनी विश्वस्त थिए । गाउँघरकै दाई हुन्, मेरै लागि सबै गरेका हुन् ।
उनलाई केही दिन काठमाडौं राखेर घर फर्काइयो । बिग्रेको मोबाइल बनाउन पाँचसय रुपैयाँ बाहेक कुनै रकम भरोसप्रसादको हात परेन् ।
उनी घर फर्किएपछि कम्पनी खुल्ने प्रतिक्षा गर्न थाले । दिन, हप्ता र महिना बित्यो तर कम्पनीबाट कुनै जवाफ आएन । उनले सोधीखोजी गरेपछि बल्ल कम्पनी नखुल्ने भन्ने जानकारी भरोसप्रसादलाई दिइयो । उनले पनि भाग्यमा रहेनछ भन्ने ठानेर चित्त बुझाए ।
तर, भरोसप्रसादको भरोसामा कुठाराघात भइसकेको थियो ।
देशमा बन्दाबन्दी सुरु (११ चैत्र २०७६) को केही दिनमा भरोसप्रसादका नाममा एउटा खामबन्दी पत्र आयो । राजस्व अनुसन्धान विभागले लेखेको पत्रमा भरोसप्रसादलाई उपस्थित हुन भनिएको थियो । विभागका अनुसन्धान अधिकृत राजेश पण्डितले हस्ताक्षर गरेको पत्र १९ फागुन २०७६ मा काटिएको थियो ।
भरोसप्रसादले पत्र एकजना साथीलाई देखाए । उनले सल्लाह गर्दा बल्ल काठमाडौंमा जागिरका लागि उनलाई लगेका मनोजप्रसाद र अजयप्रसादले उनीसँग गरेको बदमासी सार्वजनिक भयो ।
पर्दाफासको सम्पर्कमा आएका भरोसप्रसादले आफुलाई सरकारी निकाय र बैंक जस्तो कुनै ठाँउमा लगेको र सक्कली कागज उनीहरुले राखेको बताए ।
विभागले लेखेको पत्रमा पर्साका निम्न आयस्रोत भएका भरोसप्रसाद पटेलका नाममा भारतबाट वस्तु आयातगर्ने पशुपति ट्रेड इन्टरनेशनल दर्ता गरिएको छ । उनका नाममा विभिन्न ‘क’ श्रेणीका बैंकमा खाता खोलिएको छ । यही कागजपत्रका आधारमा नक्कली भ्याट बिल छापेर त्यसको अवैध कारोबार भएको छ ।
विभागका महानिर्देशक दीर्घराज मैनाली भरोसप्रसाद जस्ता बारा–पर्साका ग्रामिण क्षेत्रका युवाहरु यो गिरोहको सिकार भएको बताउछन् ।
उनका अनुसार केही रुपैयाँ, जागिर, लत्ताकपडा र काठमाडौं घुमाउने प्रलोभनमा यस्ता युवाहरुका नाममा फर्म दर्ता गरेर प्रतितपत्र खोल्ने, नक्कली भ्याट बिल छाप्ने र कालोधन ओसारपसारसम्मको अवैध कारोबार गर्ने गिरोहको खोजीमा विभाग जुटेको छ ।
‘उनी एक्लै होइनन्, संयौं युवाहरु यस्ता गिरोहको सिकार भएका छन्,’ महानिर्देशक मैनालीले भने, ‘उहाँहरु मार्फत हामी मुख्य ब्यक्तिसम्म पुग्ने प्रयास गरिरहेका छौं ।’
मैनालीले गिरोहको फन्दामा परेका युवाहरुले जतिसक्दो चाँडो विभागमा सम्पर्क गरेर यथार्त बताएमा अनुसन्धानमा सहयोग पुग्ने बताए । उनले यस्ता युवाहरुको कारवाहीमा थुनछेक नहुने र अदालतमा मुद्दा लैजादा समेत विभाग सकारात्मक हुने बताए ।
महानिर्देशक मैनालीले नक्कली भ्याट बिल प्रकरणको अनुसन्धानमा पीडित तर कागजी रुपमा मुख्य आरोपी देखिनेहरुको सहयोग आवश्यक रहने बताए ।
उनी आफै २०६६–२०६८ मा विभागको अनुसन्धान शाखा नर्देशक हुँदा पहिलो पटक नक्कली भ्याट बिल प्रकरणको उठान गरेका थिए । त्यतीबेलादेखि अहिलेसम्म यस्तै गिरोहको सहयोगमा ठुला र स्थापित ब्यापारीक घरानासम्मले नक्कली भ्याट बिल खरिद गर्ने गरेका छन् ।
नक्कली भ्याट विल बनाउने कार्यमा संलग्न रहेको २ सय फर्मको पहिचान विभागले गरिसकेको छ । नक्कली भ्याट बिल खरिद गर्ने करिब १२ सय फर्म भेटिएका छन् । नक्कली भ्याट विल बनाएर करिब १५ अर्ब रुपैयाँ राजस्व छलि भएको हुन सक्ने आँकलन गरिएको महानिर्देशक मैनालीले जानकारी दिए । – pradafas.com