Home पत्रपत्रिका टिकटकले ‘हिट’ बनाएको मानहुँकोट, एकैदिन दश हजार पर्यटक ओइरिएर जाम

टिकटकले ‘हिट’ बनाएको मानहुँकोट, एकैदिन दश हजार पर्यटक ओइरिएर जाम

by ईलालटिन
0 comment

अचेल टिकटकमा ‘हिट’ छ- मानहुँकोट।

कुहिरोमाथि टक्क उभिएको मानहुँकोट पुगेर सूर्योदय र सूर्यास्त हेर्न आन्तरिक पर्यटकको ओइरो लागेको छ।

तनहुँको दमौली बजारदेखि एक किलोमिटरअगाडि गएपछि चोकबाट करिब साढे ६ किमी उकालो चढेपछि मानहुँकोट पुगिन्छ।

सूर्योदय हेर्न मानिसहरू बिहान ३ बजेदेखि नै मानहुँकोट यात्रामा निस्कन्छन्। पदयात्रा र सवारी साधनबाट यहाँ पुग्न सकिन्छ।

 ब्यास नगरपालिका वडा नम्बर ५ मा पर्ने मानहुँकोट करिब तीन सय रोपनीमा फैलिएको खरबारी हो।

यो लुकेको डाँडामा हिजोआज मानिसको ओइरो लागेको देख्दा स्थानीय बासिन्दा बेदबहादुर राना दंग छन्।

‘यो कुहिरो लाग्ने ठाउँ हो। मानहुँकोटबाट दमौली बजार हेर्दा ड्याम्म कुहिरोले ढाकेको देखिन्छ,’ उनले भने, ‘माथिबाट हेर्दा सिरकले ढाकेजस्तो, सिमलको भुवाजस्तो सेत्तामे कुहिरोले नै मन आनन्द बनाउँछ।’

कात्तिक, मंसिर, पुस र फागुनसम्मै मानहुँबाट तल कुहिरो देखिने उनले बताए।

‘हिजोआज मध्यान्ह १२ बजेसम्मै कुहिरो देखिन्छ,’ उनले भने, ‘बिहानै सूर्योदय हेर्न र घाम लागेपछि सेतो कुहिरोमाथि सुनौला घामले थप्ने सौन्दर्यले मानहुँ बसिरहूँजस्तो लाग्ने भएको छ।’

यही सुन्दरताले मानिसहरू लोभिएको हुन सक्ने उनले बताए। तनहुँ, कास्की, लमजुङ, गोरखा, चितवन, मकवानपुर र काठमाडौंबाट यहाँ हिजोआज आन्तरिक पर्यटक पुगेका छन्।

वडाध्यक्ष मोहन श्रेष्ठ पनि मानिसको घुइँचो देखेर छक्क छन्।

दुई वर्षदेखि मानहुँकोटलाई पर्यटकीय केन्द्र बनाउन पूर्वाधार विकासका काम सुरू गरेको बताउँदै उनले ह्वात्तै पर्यटक बढेकोमा खुसी व्यक्त गरे।

‘भर्खर पूर्वाधार बन्दैछ। भ्यू टावर बनाउँदैछौं,’ उनले सेतोपाटीसँग भने, ‘पिकनिकका लागि र नाइट स्टे गर्न पहिलेदेखि नै मानिसहरू आउँथे। तर दसैंपछि थामिनसक्नु भीड छ।’

मानहुँकोटमा मानिसको ओइरो लाग्नुमा टिकटक, फेसबुक, युट्युब र मिडियाको भूमिका रहेको वडाध्यक्ष श्रेष्ठले बताए।

‘मानहुँकोट टिकटकमा चर्चामा छ,’ उनले भने, ‘सञ्चारमाध्यम र सामाजिक सञ्जालले लुकेको मानहुँलाई प्रचार गरी पर्यटक भित्र्याउन सहयोगी भूमिका खेल्यो।’

मानहुँमा ३६ लाख ४० हजारमा भ्यू टावर बन्दैछ। दुई तले बन्ने उक्त घरको माथिल्लो कोठाबाट दृश्यावलोकन र तल्लो तलामा कफी पसल सञ्चालन गर्ने तयारी रहेको उनले बताए।

उक्त भ्यू टावरको भर्खर जगमात्रै खनिएको छ। यहाँसम्म पुग्न पैदल मार्ग पनि निर्माण गरिएको उनले जानकारी दिए। ‘पैदल मार्ग निर्माणमा ४० लाख खर्च भइसकेको छ,’ उनले भने।

वडाध्यक्ष श्रेष्ठका अनुसार हिजो शनिबार करिब दश हजार मानिस मानहुँकोट पुगेका थिए। यो संख्या विगत दुई वर्षयताकै धेरै भएको उनले बताए।

‘दसैंयता ह्वात्तै पर्यटक बढेका छन्,’ उनले भने, ‘ठाउँ त राम्रो छँदैछ। अहिले स्कुल/क्याम्पस बन्द छन्। लामो लकडाउनले गर्दा पनि मानिसहरू घुम्न पाएका थिएनन् अहिले घुम्न खुला भयो।’

मानहुँकोटसँग एउटा किंवदन्तीसमेत जोडिएको वडाध्यक्ष श्रेष्ठले बताए।

सुन्दर मत्स्यकन्या देखेर मोहित भएका परासर ऋषिले कुहिरो लगाएर उनीसँग सम्भोग गरेर व्यास ऋषि जन्मेको भन्ने किंवदन्ती मानहुँसँग जोडिएको उनको भनाइ छ।

‘मौसम सफा हुँदा उदाएको र अस्ताएको रातो सूर्य हेर्न पाइन्छ,’ उनले भने, ‘माछापुच्छ्रेलगायत हिमश्रृंखला पनि देखिन्छ। राति बस्नेहरूले दमौली बजार हिराजस्तो देख्छन्। घरघरका बत्तीले बजार हिराजस्तै चम्किन्छ।’

मानहुँमा शौचालयलगायत पूर्वाधार निर्माणको क्रममा रहेको उनले बताए। थप प्रचारमा सहयोग पुर्‍याउन आज २ बजे ब्यास कार्यपालिकाको बैठक पनि मानहुँकोटमा राखेको श्रेष्ठको भनाइ छ।

‘यहाँबाट तनहुँ जलविद्युत आयोजना नजिकै पर्छ। भविष्यमा आयोजनाको ताल बन्दा यहाँबाट प्रष्ट देखिन्छ,’ उनले थपे, ‘लुकेको ठाउँलाई पहिचान गरेर पर्यटकीय केन्द्रका रूपमा प्रचार गर्दा मानिसको ओइरो लाग्यो।’ -setopati.com

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com