शिलालेख । कोरोना संक्रमणले सुनसा नबनेको लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । ११ चैतदेखि सुनसान बनेको लुम्बिनीमा दसैँपछि चहलपहल बढेको हो ।मायादेवी मन्दिर खुल्ला नभए पनि आन्तरिक पर्यटकको संख्या भने दिनहुँ बढिरहेको छ । लुम्बिनीमा पर्यटकका लागि मायादेवी मन्दिर प्रमुख मानिन्छ । दसैँपछिको समय घुमफिर एवं भ्रमणका लागि उपयुक्त हुने भएकाले पनि लुम्बिनीमा आन्तरिक पर्यटक आउने क्रम सुरु भएको लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले जानकारी दिए ।
असोजबाट लकडाउन र निषेधाज्ञा हटे पनि सरकारले अझै पनि कोरोना महामारी फैलन सक्ने भन्दै मठमन्दिर, मेला महोत्सव, विद्यालय, सिनेमा हल खुला गर्न अनुमति दिएको छैन । तर, लकडाउन हटेसँगै फाट्टफुट्ट पर्यटक लुम्बिनी आउन थालेका छन् । लुम्बिनीमा प्रवेश गर्नेहरू मायादेवी मन्दिरको गेटसहित शान्तीदीप लिटल बुद्ध लगायतका ठाउँमा घुमेर फर्कने गरेका छन् ।
लुम्बिनी विकास कोषले १ कात्तिकदेखि नै लुम्बिनी खुला गर्न पर्यटन मन्त्रालयमा अनुरोध गरे पनि स्वीकृत पाइसकेको छैन । असोज अन्तिम साता लुम्बिनीमा आएका पर्यटनमन्त्री योगेश भटट्राईलाई समेत विकास कोषले १ गतेबाट लुम्बिनी खुला गर्न आग्रह गरेको थियो । तर, सरकारी निर्णय नहुँदा लुम्बिनीका मठमन्दिर बन्द छन् ।अब मायादेवी मन्दिर परिसर पनि खुला गर्ने कि भन्ने बारेमा छलफल भइरहेको कोषका सूचना अधिकारी बस्नेतले बताए । आन्तरिक पर्यटकको लुम्बिनीमा चहलपहल बढ्न थालेपछि होटलसमेत खुल्न थालेका छन् ।
लुम्बिनी होटल संघका महासचिव लीलामणि शर्माले लुम्बिनीमा चहलपहल देखिएको भए पनि बास बस्ने गरी कोही नआएको बताए । ‘चहलपहल सुरु भएको छ । अब पर्यटन क्षेत्रलाई माथि उठाउन पनि मठमन्दिर खुला गर्नुको विकल्प छैन,’ उनले भने ।हाल लुम्बिनीमा रूपन्देहीसहित नवलपरासी, कपिलवस्तु, दाङ, पाल्पा, गुल्मी, चितवन, नवलपरासीलगायतबाट आन्तरिक पर्यटक आउने गरेका छन् । शिलालेख ।
