Home Vlog प्रश्रित–वार्ताले छोडेको बहस

प्रश्रित–वार्ताले छोडेको बहस

by ईलालटिन
0 comment
  • सरिता तिवारी
महिलामुक्तिको फराकिलो ब्यानर बोकेर हिँडेका त्यतिका महिलाहरूले खुला बहस हुन सक्ने आजको सजिलो अवस्थामा समेत रुझेको बिरालोजस्तो मुद्रामा ओठ सिलाएर बस्नुको गाँठी कारण के–के हो ?

काठमाडौँ — एक साथीसँग भर्चुअल गफमा थिएँ । ‘के गर्दै छ्यौ ?’ मेरो सोधाइको उत्तर दिन उनले तीखो कटाक्षका शब्द रोजिन्, ‘तिम्रा गुरुबाउको इन्टरभ्यु हेर्दै !’ तपाईं बुझ्नुहुन्छ, यो कटाक्षको संकेत कम्युनिस्ट नेता तथा लेखक मोदनाथ प्रश्रिततर्फ थियो । भर्खर आफूले पनि त्यही वार्ता हेरिसकेर घृणा, क्षोभ र आक्रोशले छाती गह्रुँगो भइरहेको अवस्थामा ‘तिम्रा गुरुबाउ !’

शब्दको तीर सीधा छातीमै आएर गाडियो । (जानकारीका लागि : यी पंक्ति लेख्ने बेलासम्म भने उक्त वार्ताको भिडियो सार्वजनिक रूपमा देख्न नमिल्ने गरी ‘अनअभाइलेबल’ गराइएको छ ।)

असी हाराहारी उमेरका, ‘प्रगतिशील’ कोटिका लेखकले आफूलाई लागेको यौन अपराधजन्य संगीन आरोप र त्यसैसँग जोडिएको पुरस्कार प्रसंगको बचाउमा पेस गरेका जवाफ सुनेर दिल–दिमाग बेसरी हुँडलिएको थियो । तिनका एक–एक जवाफहरू शब्द वा वाक्य मात्रै थिएनन्, समाजको शक्तिसंरचनाका असली दर्पण थिए । जुन संरचनाले तर्क र (कु)तर्कका वैधताको पल्ला उच्च जात, पुरुष र शासक वर्गको हितमा धेरै अघिदेखि सहुलियतपूर्वक ‘फिट’ गरिदिएको छ । जुन संरचनाले उल्टै शोषण र शासनको दुश्चक्रमा पिल्सिएका पीडित (र अझ त्यसैका कारण मारिएका) लाई नै लाञ्छना लगाउँछ र पीडकलाई विभिन्न बहानामा उन्मुक्ति दिन्छ । जुन संरचनाले तपाईं हाम्रो विवेकलाई त्यसैका चाबीअनुरूप घुम्न बानी पार्दै अनुकूलित बनाउँदै–बनाउँदै यहाँसम्म ल्याएको छ ।

रोचक पक्षचाहिँ के हो भने, यो शोषणकारी संरचनाका पेचकिला कहाँकहाँ छन् र यसले कसरी बहुसंख्यक मानिसहरूको विवेकलाई शासन गर्दै छ भन्ने गुह्य मन्त्र अब शोषितहरूले राम्रैसँग थाहा पाउन थालेका छन् । तर यो कुरो प्रश्रित र उनीजस्ता ‘प्रभुत्वशाली’ आसनमा बसेका बुद्धिजीवीलाई थाहा छैन । थाहा हुँदो हो त त्यति दरिद्र र घिनलाग्दा तर्क लिएर आफ्नो प्रतिरक्षा गर्न उत्रने आँट सायदै गर्थे !

‘लाइफटाइम अचिभभेन्ट’ पुरस्कार प्राप्त गर्न ‘योग्य’ ठहरिएको एक पाको राजनीतिकर्मी, वैचारिक अवदानमा ‘समृद्ध विगत’ भएको लेखकले आफूलाई चोखो र पवित्र देखाउन कुनै तेह्र–चौध वर्षकी बालिकालाई यौनका लागि रातभर गाउँटोल घुम्ने, कुहिएकी, दुर्गन्धित र यौनरोगग्रस्त पात्रका रूपमा प्रस्तुत गर्न सक्दो रहेछ ! अथवा, कालान्तरमा त्यही बालिकाले किताब नै लेख्ने आँट गरेर आफूलाई यौन अपराधको आरोप लगाउँदा किताबको प्रकाशकलाई नै उसको ‘लभर’ करार गरिदिनु, त्यही आरोपका कारण आफूसँग उभिएर पुरस्कार लिन्नँ भन्ने लेखकलाई पुरस्कारको राशि कम हुने भएकाले नलिएको लगायतका हाँसोउठ्दा र मिथ्या तर्क गर्नु हामीले ‘शिरोपर गरेको’ प्रगतिशीलताको ‘दुरुस्त’ अनुहार रहेछ !

ह्या…, एउटा पतनशील विवेकको फेहरिस्त लेखेर किन व्यर्थैमा मसी खेर फाल्ने ? यस्तो पनि नलागेको होइन । तर आज प्रतिदिन घटिरहेका बलात्कार र हिंसाका घटना अनि हत्यासम्मैका परिणति र यस्ता दुर्दान्त घटनालाई मिलाउन/दबाउन गाउँछिमेकमै भइरहेका मिलापत्र, पीडितलाई दिइने धम्की, पीडितका आफन्तलाई देखाइने डरलगायतका सारा प्रकरणको गाँठो के यी लेखकले गरेजस्तै (कु)तर्कभित्र छैन त ? यस्तो सोच्दा लाग्यो, यो विषयमाथि त सार्वजनिक छलफलको झन् धेरै खाँचो छ ।

यो वार्ता आफैंमा एउटा कठोर सत्यसँग साक्षात्कार थियो । र यस्तो अवसर प्रश्रितले नै दिए ! आफ्नो प्रतिरक्षा गर्दा सभ्य मान्छेले सुन्नलायक कम्तीमा पनि मध्यम आदरको प्रयोग त हुनुपर्ने ! कम्तीमा पनि आरोप लगाउने व्यक्तिको बाल्यकालीन जीवनबारे त त्यति नग्न र छुद्र शब्द नबोल्नुपर्ने ! आफूलाई ओभानो देखाउनै किन नहोस्, बनावटी नै किन नहोस्, लोकले चिनेको आफ्नो बौद्धिक हस्तीसुहाउँदो भाषा त प्रयोग गर्नुपर्ने !

मानिस गल्तीरहित कोही पनि नहोला, गल्ती प्रायः सबैबाट हुन्छ तर अपराध ज्ञात–अज्ञात गल्तीजस्तो सजिलै क्षमा गर्न सकिने विषय होइन । त्यसमाथि पनि यौन अपराध ! त्यो पनि एक–दुईपल्ट होइन, बारम्बार ! महिनौंसम्म बन्दीजस्तै बनाएर । र, त्यो पनि सामान्य व्यक्तिबाट होइन, समाज र संसारकै शोषणको जालो च्यातेर बराबरीमा आधारित सभ्य संसार बनाउन हिँडेको ‘योद्धा’ बाट !

ब्राह्मणवादी पितृसत्तामा प्रचलित परम्परा र संस्कारहरू यस्ता छन्, यहाँभित्र यौनका मामिलामा हिंस्रक शब्द र कर्म गर्न पुरुष लगभग विशेषाधिकारप्राप्त नै छन् भन्दा फरक पर्दैन । त्यस अर्थमा ‘बलात्कार संस्कृति’ (रेप कल्चर) त्यति नै पुरानो हो जति पुरानो छ समाजको संगठित पितृसत्ताको जन्मकथा । बलात्कार पितृसत्ताको उपोत्पादन मात्रै होइन, यसलाई आजसम्म टिकाउने माध्यमसमेत हो । मानवजातिले अभ्यास गरेको हिंसाजन्य संस्कृतिमा शक्ति सम्बन्ध (पावर रिलेसन) को प्रचलित परम्परा र संस्कृतिले कसरी भूमिका खेल्छ, त्यसका उदाहरण जगत्ले दिनदिनै भोगिरहेको छ । यस्तो विषयमा न प्रश्रित एक्ला उत्पीडक पात्र हुन् न उनलाई आरोप लगाउने शारदा भुसाल नै एक्ली पीडित हुन् । तर एउटा सिंगो पार्टी संगठन र प्रगतिशील लेखकहरूको समग्र तप्काले जसरी यो विषयलाई सामान्य आरोप–प्रत्यारोपका रूपमा बुझाउने वा स्वाङ पार्ने काम गरिरहेको छ, यसले प्रश्रित व्यक्ति होइनन्, संगठनको आम प्रवृत्ति नै हुन् भन्ने कानेखुसी र ‘रे, रे’ का आधारलाई बलियो टेको दिएको छ ।

वर्गमा, जातमा, पहुँच र विशिष्टतामा निर्मम रूपले विभाजित समाजका आर्थिक र जातीय सोपानक्रम भत्काउने भन्दै कसम खाने कम्युनिस्ट पार्टीकै मान्छेहरू किन यस्तो विषयमा चुँसम्म गर्दैनन् ? या, बोलिहाले भने मूल मुद्दालाई विषयान्तर गरेर लाज पचाउने वक्तव्य किन दिन्छन् ? आफ्ना नेता र नेतृत्वभित्र लुकेको द्वैधचरित्र र हिंस्रक वृत्तिसँग लड्ने संगठित आँट महिला संगठन स्वयंसमेत किन गर्दैनन् ?

यो एक व्यक्ति मात्रैको मुद्दा हो कि मौनता र हिंस्रक प्रतिरक्षाको कूटनीति अपनाइरहेको सिंगो संगठनको ? ठूला–साना सबै कम्युनिस्ट टापुहरूभित्र यस्ता पतनशील विवेकधारीको कुन स्तरको स्थान र शासन छ ? र मूल कुरा, महिलामुक्तिको फराकिलो ब्यानर बोकेर हिँडेका त्यतिका महिलाहरूले खुला बहस हुन सक्ने आजको सजिलो अवस्थामा समेत रुझेको बिरालोजस्तो मुद्रामा ओठ सिलाएर बस्नुको गाँठी कारण के–के हो ? मन्त्री, सांसद लगायतका पद–प्रतिष्ठा जोगाउने अथवा पाउने कुत्सित इच्छा मात्रै कि लहरो तान्दा पहरो खस्ने घटनाक्रमहरूका पोल खुल्लान् भन्ने डरसमेत ? विषय र प्रसंग जे–जे भए पनि प्रश्रित–वार्ताले छोडेको असर यस्ता अनेकौं प्रश्नभित्र रुमलिएको छ ।

पंक्तिकारका लागि ‘व्यक्ति’ मोदनाथ प्रश्रितको मूल्यले अर्थ नराख्न थालेको दशकौं भैसकेको हो । तर जुन विचारको प्रतिनिधिका रूपमा आज पनि उनलाई ‘प्रगतिशील’ कोटिमा राखिन्छ, त्यस अर्थमा तिनलाई मेरी साथीले ‘तिम्रो गुरुबाउ’ भनेर कटाक्ष गर्नु अत्युक्ति होइन । एउटा व्यक्तिका रूपमा कोही कसरी बाँच्छ वा कसले कसरी सार्वजनिक विचार व्यक्त गर्छ, त्यसको भुक्तमान व्यक्ति आफैंले बेहोर्छ । व्यक्तिका ख्याति–कुख्याति, मान–अपमान सबैको जवाफदेह व्यक्ति स्वयं हुन्छ । तर जब त्यही व्यक्ति कुनै मार्का वा ‘ट्याग’ सहित प्रस्तुत हुन्छ (वा गरिन्छ), स्वाभाविक रूपमा त्यसको प्रभाव, असर र जवाफदेही व्यक्तिमा मात्रै सीमित रहन्न ।

यस अर्थमा प्रजातान्त्रिक र प्रगतिशील भनिने बुद्धिजीवी, लेखक या वैचारिक आन्दोलनहरूसँग गाँसिएका पात्र र प्रवृत्तिलाई व्यक्तिको निजी कुरा भनेर यत्तिकै छोडिदिनु बिलकुलै ठीक हुँदैन । अझ ‘ठूलो नाम र फेम माथि हिलो छ्याप्ने दुष्प्रयास’ भन्दै मूल विषयकै उपेक्षा गर्नु त पीडितमाथिको धोका मात्रै होइन, पीडितशास्त्रीय कोणबाट हेर्दा एक प्रकारको जघन्य अपराध नै हो । यसकारण, मोदनाथ प्रश्रित प्रवृत्ति र तिनले आफूलाई यौन हिंसाको आरोप लगाउने शारदा भुसालविरुद्ध बोलेका कुराको जवाफदेह सम्बन्धित पार्टी मात्रै होइन प्रगतिशील लेखन आन्दोलनसमेत हो ।

भलै, नेपालमा प्रगतिशील लेखन र आन्दोलन अब कहाँ छ ? यसका मुख्तियार, प्राधिकार को–को हन् ? यी कुरा आफैंमा वार कि पार हुने गरी गर्नुपर्ने बहसका विषय हुन् । निश्चित कम्युनिस्ट पार्टीको समर्थक भएपछि ‘प्रगतिशील’ बनिने परम्परामा लेखक, बुद्धिजीवीहरू स्वतः नै प्रगतिशील बन्ने अथवा जीवनको अघिल्लो कालखण्डमा कम्युनिस्ट आन्दोलन र लेखनमा ‘योगदान दिएको’ भएपछि पछिल्लो कालखण्डमा जेजस्ता विचार बोकेर हिँडे पनि उसले प्रगतिशील कहलिइरहन पाउने सुविधा प्राप्त स्थितिमा ‘प्रगतिशील’ शब्दको कसरी चीरहरण भएको छ, यो व्यापक रूपमा जोकसैले महसुस गरिरहेकै कुरा हो । तर यति कुरा निश्चित हो, ‘प्र्रगतिशील’ कहलिँदै ‘सात खून माफ’ पाउँदै बस्ने रीतमाथि निर्मम हुन अब ढिलो भइसकेको छ ।

हुन त स्त्री शरीरमाथिको संरचनात्मक खेल र बर्बर उत्पीडन प्रगतिशील या प्रजातान्त्रिकजस्ता ‘जिग्ज्याग’ मार्काहरूभन्दा हजारौं वर्ष पुरानो हो र यो अहिले नै सुल्झिने मुद्दा पनि होइन, तर ‘सामाजिक आन्दोलन’, ‘मुक्ति’, ‘क्रान्ति’ ‘समाजवाद’ जस्ता शब्द भजाएर राजनीति र लेखनमा करिअर बनाउने, खाइपाइ र मस्ती गर्ने, ठूला पद, मठ र सत्ताका प्राधिकारी बन्ने, जोसुकैले दिएका पुरस्कार र सम्मान सोहोर्ने अनि ती शब्दका प्राणको, तिनका वास्तविक अर्थको निरन्तर अवमूल्यन पनि गर्ने मनुवाहरूलाई यस्ता शब्दको पगरी भिराइरहनु समग्र आन्दोलनमाथिको अपमान र हिंसा हो । यदि यसबारे छुरो बहस गर्न र स्त्रीद्वेषी, पीडितद्वेषी अनि समतामय समाजको क्रान्तिविरोधी व्यवहार गर्दै सदाबहार ‘प्रगतिशील टोकन’ लिइरहन पाउने सुविधामाथि कठोर प्रहार गर्न तयार नहुने हो भने आज आलोचनात्मक विवेकसहित उभिएका धेरै लेखक र बुद्धिजीवीहरू आफूलाई सगौरव ‘गैर–प्रगतिशील’ भनाउन रुचाउनेछन् ।

(मंगलबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com