पोखरा । पोखरादेखि सराङकोट जोड्ने केबलकारको ९५ प्रतिशत निर्माण कार्य सकिएको छ । मुख्य संरचना निर्माणसहित विद्युतीय काम सकिएको निर्माण कम्पनीले जनाएको छ । अब केबल तान्ने र गोन्डोला झुण्ड्याउन मात्रै बाँकी छ ।
त्यसको लागि जापानदेखि नै कामदार ल्याउनु पर्ने भएकाले केही समय लाग्ने कम्पनीको भनाई छ । निर्माण कम्पनी अन्नपूर्ण केबलकारका साइड सुपरभाइजर अरुण कोइरालाका अनुसार जापानबाट दक्ष कामदार ल्याउने तयारी भइरहे पनि कोरोना महामारिले प्रभाव पारेको छ । ‘वैशाखमा सञ्चालनमा ल्याउने तयारी थियो । त्यही अनुसार काम पनि भइरहेको थियो । कोभिड १९ को चपेटामा परेर सञ्चालनमा ल्याउन सकिएन’, उनले भने, ‘त्यहीं कारणले काममा ढिलाई भयो । तैंपनि हामीले यहाँ भएका स्थानीय जनशक्ति प्रयोग गरेर बाहिरको काम लगभग ९५ प्रतिशत सक्यौँ । सिभिल वर्क पनि केही बाँकी छैन । इलेक्ट्रिकल पनि सकिइसक्यो ।’
मुख्य केबल तान्ने र गोन्डोला झुण्ड्याउने मात्रै बाँकी रहेको उनले सुनाए । केबल र गोन्डोलाको काम सकाएपछि परीक्षण थाल्ने उनले बताए । उनका अनुसार कोरोना महमारीका कारण जापानबाट दक्ष प्राविधिक कहिले आउने टुंगो छैन । यसअघि गएको वैशाखमा परिक्षण सञ्चालन सकाएर दशैं अघि नै सञ्चालनको तयारी थाले पनि जग्गाको मुआब्जा लगायतका प्रक्रियाले सञ्चालन मिति टरेको कम्पनीले बताएको थियो । कोरोना महामारीले निर्माण कार्य लगभग सकिइसक्दा पनि सञ्चालन मिति भने अन्यौलमै छ । अवस्था थोरै सहज भएर जापानिज प्राविधिक आउन सके मात्रै पनि एक, डेढ महिनाभित्रमा परीक्षण प्रसारण गर्न सकिने उनको अनुमान छ । यद्यपि, प्राविधिक आउने नआउने अहिलेसम्म तय भइसकेको छैन ।
केबलकारमा पहिलो फेजमा १८ वटा गोन्डोला रहन्छन् । १८ गोन्डोलामा एउटा क्यारियर रहन्छ । १७ वटा मान्छे बस्ने गोन्डोला हुने छन् । एउटा गोन्डोलामा ८ जनाले यात्रा गर्न सकिने छ । गोन्डोलाको आकार ठूलो भएकाले पनि यात्रु क्षमता धेरै रहेको उनले सुनाए । पोखरा १८ सेदीमा स्टेसन रहेको केबलकार चढेर सराङकोटसम्म पुग्न लगभग ८ देखि ९ मिनेट लाग्ने छ ।
पोखरादेखि सराङकोटसम्म २ दशमलव ३७५ किलोमिटर दूरीमा रहेको केबलकारमा १३ वटा टावर रहने छन् । लगभग २ दशमलव ३७५ मिटरको दूरीमा टावर खडा गरिएको छ । केबलकार परीक्षण सकिएर सञ्चालनमा आए लगत्तै ४ वटा गोन्डोला थप्ने योजना रहेको सुपर भाइजर कोइरालाले सुनाए । थपिएका ४ वटा गोन्डोला भिआइपी गोन्डोला हुन् । बनसँगको कचपच सल्टिएको छ । सरकारी वनक्षेत्र परेको क्षेत्रको सट्टा अन्यत्रै बन नै किनेर कम्पनीले हस्तान्तरण गरिएको छ । निजी जग्गा परेको क्षेत्रमा पनि जग्गा किनेर केही जग्गा पास भइसकेको साथै केही पास हुने उपक्रममा रहेको उनले सुनाए ।
सुरुआतमा आयोजनाले १ अर्ब ३० करोड रुपैयाँ लागत अनुमान गरे पनि सञ्चालन मिति टर्दै जाँदा लागतसमेत बढेको कोइरालाले बताए । सञ्चालन मिति सर्दा संरचना पनि थपिदैं आएकाले लागत रकम बढेको उनले सुनाए । उनले अनुमान गरिएको रकमभन्दा ३५ करोड रुपैयाँ बढी रकम खर्च भइसकेको जिकिर गरे । कम्पनीले दैनिक १५ सय यात्रुले केबलकार चढ्ने अपेक्षा लिएको छ । केबलकार चढ्नको लागि भाडादर पनि कायम भइसकेको छ । सुरुमा एकजना नेपालीलाई ६ सय, दक्षिण एसियाली मुलुकको लागि ७ सय र तेस्रो मुलुका लािग प्रतिव्यक्ति ८ सय रुपैयाँ भाडादर कायम गरिएको छ । ढोरपाटन