Home Social घुस आरोपमा कुश्मा नगरपालिकाको हाकिमलाई पक्राउ पुर्जी

घुस आरोपमा कुश्मा नगरपालिकाको हाकिमलाई पक्राउ पुर्जी

by ईलालटिन
0 comment

पर्वत । पर्वतको कुश्मा नगरपालिकामा केही दिनअघि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न आएका उदय बहादुर पराजुलीलाई घुस खाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पुर्जी जारी गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत पराजुली कुश्मा आउनु भन्दा अघि सहकारी रजिष्ट्रारको कार्यालय पोखरामा रजिष्ट्रारको रूपमा कार्यरत थिए । उनले त्यही समयमा मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा एक करोड पाँच लाख रुपैयाँ घुस लिएको अनुसन्धानका क्रममा देखिएपछि कास्की प्रहरीले जिल्ला अदालतबाट केही दिन अघि पक्राउका लागि अनुमति लिएको बुझिएको छ ।

सहकारीका सञ्चालकहरूको बयानका क्रममा पूर्वरजिष्ट्रार पराजुलीले कार्यक्षेत्र विस्तारका नाममा एक करोड पाँच लाख रुपैयाँ घुस लिएको देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

यता पक्राउ पुर्जीको बारेमा चाहिँ  प्रमुख प्रशासकीय अधिकृत पराजुलीले आफू परीक्षाका लागि काठमाडौँ आएको र यस बारेमा अनविज्ञ रहेको बताएका छन् । उनले पक्राउका बारेमा बाहिर हल्ला सुनेको तर ठ्याक्कै आधिकारिक निकायबाट पक्राउको जानकारी नभएको बताए । “कसैले नाम दियो भन्दैमा पक्राउ पुर्जी नै जारी गर्नुपर्छ भन्ने हैन । पहिले मलाई सोधपुछ गरेको भए पनि हुने हो । फेरि म पब्लिक हैन ।”, उनले भने, “सरकारी कार्यालयमा बसेर काम गर्ने मान्छेलाई यसो बोलाएर सोध्न पर्दैन ? तर मलाई पत्यार चाहिँ लाएको छैन है ।”

कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले प्रमुख प्रशासकीय अधिकृतलाई पक्राउ पुर्जी जारी भएको भन्ने विषयमा आफूले हल्ला सुनेको तर आधिकारिक चाहिँ नभएको बताएका छन् । “मैले पनि बाहिरबाट सुनेको हुँ । केही दिन अघि हाकिम काठमाडौँ गएका छन् । अरू चाहिँ खासै थाहा भएन ।”, नगरप्रमुख जोशीले भने ।

कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरिसके पनि यता जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले प्रमुख प्रशासकीय अधिकृतलाई पक्राउ पुर्जीको बारेमा थाहा नभएको बताए ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com