सुमन जंग । म यति बेला पर्वतमा छु । यहाँ अनेकन चलचलित्रहरुका सुटिङ् भैरहेका छन् । कति चाहेर हेरिन्छ र पनि बिर्सिन्छ । कति नहेरौँ, नसुनौँ, नलेखौँ, नबोलौँ लाग्छ । तर त्यो छुट् कहाँ छ र ? लेख्न त प¥यो नै । अनि लेख्न सुरु गरेँ, हल्का रिस, रिस भन्दा ज्यादा हाँसो बोकेर ।
कुरा के हो भने, यतिबेला पर्वतमा “पार्टी प्रवेश” नामक चलचित्रको सुटिङ् भैरहेको मात्र छैन, दिनहुँ एउटै स्क्रीप्टमा एक्सन, कट गराई राखिएको छ । भोटर नामक पात्रहरुलाई यही एक्सन, कट्मा वल्लो भित्ताबाट पल्लो भित्ता पल्लोबाट वल्लो भित्तामा टाँस्ने काम बाहेक खासै केही भइरहेको छैन ।
यहाँ, यतिवेला के चलिरहेको छ ? आममान्छे अन्यौलमा छन् । निर्वाचन आउन पनि अझ ३ वर्ष त बाँकी नै छ । फेरि अहिले नै नाईटोदेखीको बल निकालेर नेपाली काँग्रेस र सतारुढ नेकपा मरिहत्ते गरिरहेको छ । गुरिल्ला शैलीमा गाउँगाउँ छिर्दै केही थान सोझा मुन्छे जम्मा गरी उनका निधारमा अविर दलेर सेल्फी लिँदै पार्टी प्रवेश नामक चलचित्रको सुटिङ् गरिरहेका छन् ।
सोझा जनताहरुलाई सँधै “भोटको थैलो” मात्र बनाई राख्नुपर्छ भन्ने मानसिकताबाट यी नेताहरु कुन मितिसम्म रहिरहने होलान् ? युवाहरुका हातमा जागिरको पत्र थमाइ दिनुपर्ने बेला पार्टीको सदस्यता बोकाएर जिन्दगीभर पिछलग्गु बनाउने परिपाटीको अन्त्य कहाँ पुगेर रोकिने होला ? नेताको हातबाट पार्टी सदस्यता पत्र थाप्दै गर्दा, निधारमा रातो अविर दल्दै गर्दा त्यो युवाले के सोच्दो होला ?

सामान्य अड्कल मात्र गर्ने हो निधारमा रातो अविर लगाएर एकछिन नेताको छेउमा उभिएर सेल्फी खिच्दैमा भने पनि त्यो युवाको आँखा बोलिरहेको हुन्छ, कि, अब मेरा दिन फिरे । बिचरा कस्ले भनिदेला त्यो दिन फिर्दैन भनेर । बरु सेल्फी खिचाउनेहरुले बुझनुपर्छ, जागिर नदिएर पार्टीको सदस्यता थमाउनेहरुका कारणले नै हरियो राहदानी बोकेर ठूलो जहाजमा सदाझैँ खाडीको बाटो तय गर्नुपर्छ भनेर ।
हुन त, राजनैतिक दलका नेताको काम आफ्नो पार्टीलाई मजबुत बनाउने हो । अन्य दलमा भएका कार्यकर्तादेखी भोटरहरु आफ्ना पार्टीमा तान्ने नै हो । तर नैतिकता नै सोत्तर हुने गरी जर्वजस्ती अविर लगाई दिएर सामाजिक सञ्जालमा फोटाहरु टाँसिहाल्ने अनि पत्रकारहरुलाई समाचार बनाउनका लागि दबाव दिइहाल्ने गतिविधि राजनैतिक चरित्रमा पर्दैन भन्ने हो ।
गरिवीमा बााँचिरहेका र बर्षौदेखि विभेदका बीचमै बाँच्न सङ्घर्ष गरिरहेका समुदायमाथि आखिर किन यति विधि सस्तो राजनीति थोपारिन्छ ? झूठ्ठा आश्वासनमा सपना देख्न विवश तुल्याउने राजनीतिज्ञहरुलाई पाप लाग्ला कि नलाग्ला ? यहाँ मान्छेहरु आज एउटा पार्टीमा अनि भोली अर्को पार्टीमा प्रवेश गर्ने भोटरहरु देखेर गिज्याइरहेका हुन्छन् । मलाई ती गिज्याउने मान्छेहरु देखेर दया लाग्छ । बरु मलाई त पार्टी प्रवेश गराउँदै हिँड्ने दलका मान्छे देखेर हाँसो उठ्छ । अनि रिस पनि … ।
अतः वेमौसमी पार्टी प्रवेशका पात्रहरु भन्दा पनि पार्टी प्रवेश गराउन मरिहत्ते गरेर दौडधुप गरिरहने राजनीतिज्ञहरुको सोच र शैली देखेर नै विरक्त लागेर आउँछ । अर्थात् यी र यस्ता हर्कत देख्दा कतै हाम्रो समाज भोलिको राजनीतिप्रति नै रुष्ट हुने त होइन भन्ने संसय पैदा गरेको छ । जाँदाजाँदै एउटा कुरा चाहिँ भन्नै पर्ने हुन्छ, भोटर अर्थात जनताहरुलाई यहाँ भन्दा बढी भेंडा नबनाऊ !