Home Social पर्वतमा ट्राफिक नियम पालनामा कडाइ, मापसे जाँच शुरु

पर्वतमा ट्राफिक नियम पालनामा कडाइ, मापसे जाँच शुरु

by ईलालटिन
0 comment

पर्वत । पर्वतमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी गुडाउने चालकहरूको ट्राफिक प्रहरीले निगरानी बढाएको छ । ट्राफिक प्रहरीले मदिरा सेवन गरेर सवारी चलाउनेहरूको सङ्ख्या बढेको भन्दै मादक पदार्थ सेवन (मापसे) जाँच अभियानलाई तीव्रता दिएको हो ।

कुस्मा बजारको भित्री सडकहरूमा गुड्ने मोटरसाइकललाई विशेष निगरानी राख्ने गरिएको छ । मादक पदार्थ सेवन (मापसे) चालकबाट हुने सम्भावित सडक दुर्घटना रोक्न मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाइ गरिएको ट्राफिक प्रहरी कार्यालयको भनाई छ । मादक पदार्थ सेवन (मापसे) जाँचमा पर्ने चालकले २ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ ।

“कुस्मा बजारका विभिन्न सडकहरूमा मापसे जाँचलाई कडाइ गरेका छौँ । पहिले पनि अवस्था हेरेर बेलाबेलामा मापसे जाँच गर्दै आएको थियौँ । अहिले दिनमा ३ देखि ५ जनासम्म मापसे कारबाहीमा पर्नु भएको छ ।”, पर्वतका ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेले भने, “मापसे गर्ने चालकलाई केही छिन नियन्त्रणमा लिने र सवारी चालक अनुमति पत्र बाहक आफन्त बोलाएपछि मात्रै सवारी साधन सहित चालकलाई जिम्मा लगाएर पठाउने गरेका छौँ ।”

उनका अनुसार आफन्त भनेर आउने धेरैले मापसे चालक र सवारीको जिम्मा लिने अनि प्रहरीले नदेख्ने गरी फेरि उसैलाई सवारी साधन दिएर गन्तव्यमा पठाउने गरेका छन् । “कानुनी कुराहरूको अज्ञानताका कारण भनौँ वा अटेरी गरेर हो, हामीबाट जिम्मा लिनेले नै त्यही मापसे चालकलाई सवारी साधन दिएर पठाउने गर्छन् । त्यो त मापसे गरेर सवारी चलाउन प्रोत्साहन गरेको हुन्छ ।”, उनले भने, “दुर्घटना पर्दाको दिन मापसे चालकलाई क्षति त हुन्छ नै । त्यसपछि जिम्मा लिने व्यक्तिलाई पनि कारबाही हुन्छ । सवारी साधन र चालकको जिम्मा लिने व्यक्तिलाई कानुनी पाटाहरूका बारेमा पनि जानकारी गराउने गरेका छौँ । मान्ने नमाने कुरा त उहाँहरूको नै हो ।”

राजमार्गमा पनि सवारी जाँचलाई कडाइ गरिएको छ । बजार क्षेत्रमाजस्तै दैनिक मापसे जाँच नगरिए पनि सवारी अनुमति पत्र र सवारी कागजात जाँच गर्ने काम चाहिँ हरेक दिन जारी रहेको ट्राफिक कार्यालयको भनाइ छ । कार्यालयका अनुसार विद्यार्थीको एसइई परीक्षा चलिरहेको हुँदा झनै ट्राफिक चेकिङमा कडाइ गरिएको हो ।

“एसइई परीक्षा सकिएपछि टिनएजका युवाहरूले जर्वरजस्ती घरमा बाइक किन्न लगाउने र घरकाले पनि कुनै अवरोध बिना नै किनिदिने गरेको अवस्था छ । सवारी अनुमति पत्र नभईकन बाइक चलाउनु कानुनी रूपमा सही हुँदैन । त्यसमाथि टिनएज उमेर समूह भनेको हरेक कुराले अपरिपक्व अवस्था हो ।”, ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक निउरेले भने, “ दुर्घटना नपर्दासम्म चाहिँ केही नहुने हो, दुर्घटना भएको दिन त्यसको क्षति कति हुन्छ ? उनीहरूलाई निरुत्साहित गरेर सम्भावित दुर्घटनाबाट जोगिन र जोगाउन यति बेला चेकिङलाई सँधा भन्दा कडा गरिएको हो ।”

ट्राफिक कार्यालय पर्वतले अहिले दुई सिफ्टमा सवारी चेकिङ गरिरहेको छ । राजमार्ग अन्तर्गत कुस्मा, मालढुङ्गा र डिमुवामा सवारी जाँच भइरहेको छ, भने फलेवास र हुवासमा पनि सवारी चेकिङमा कडाइ गरिएको छ । राजस्व सङ्कलन भन्दा बढी दुर्घटना न्यूनीकरणको काममा आफूहरू लागि परेको ट्राफिक प्रहरी प्रमुख निउरले बताए । उनले सवारी धनी, सवारी चालक, यात्रु र विद्यार्थीहरूका लागि सडक सुरक्षा सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com