पर्वत । पर्वतको फलेवास नगरपालिका पछिल्लो समय विवादको घेरा भन्दा बाहिर छैन । जनप्रतिनिधिहरूको पार्टीगत आस्थाका कारण सधैँ एकले अर्कालाई निषेध गर्ने परिपाटी नगरपालिका भित्र चल्दै आएको छ ।
तर, यति बेला चाहिँ फलेवास नगरपालिकाको नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबिच आफ्नो अधिकारको क्षेत्रलाई लिएर विवाद देखिएको छ । प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले नगर कार्यपालिकाको कर्मचारीको हेरफेर र थप जिम्मेवारीको निर्णय गरेको दुई हप्ता बित्दा समेत कार्यान्वयन हुन सकेको छैन ।
२०७९।११।२८ गते नगरपालिकाको आफ्नै आधिकारिक वेभ साइटमा नगरका चार जना कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको सूचना सार्वजनिक गरिएको थियो । प्रशासन शाखामा रहेका अधिकृत कृष्णप्रसाद पौडेललाई प्रशासन शाखा प्रमुखबाट राजस्व शाखा प्रमुख, अधिकृत रमेश शर्मालाई राजस्व शाखा प्रमुखबाट प्रशासन उद्योग शाखा प्रमुख, अधिकृत टंकनाथ पौडेललाई शिक्षा अधिकृतबाट शिक्षा अधिकृतसँगै जिन्सी शाखा प्रमुखको जिम्मेवारी थप गरिएको थियो । जिन्सी शाखामा रहेका नायव सुब्बा पाराश्वर शर्मालाई राजस्व शाखाको जिम्मेवारी दिइएको थियो ।
शाखा हेरफेर र थप जिम्मेवारी पाएका तीन जना कर्मचारीले पत्र बुझिसकेका छन् । तर, चार वर्षदेखि जिन्सी शाखा सम्हाल्दै आएका नायव सुब्बा शर्माले चाहिँ नयाँ जिम्मेवारी सहितको पत्र बुझ्न अस्वीकार गर्दै आएका छन् । नगर प्रमुख तिवारीले पुरानै जिम्मेवारीमा रहन आग्रह गरेका कारण आफूले पत्र नबुझेको शर्माले बताए ।

“मैले हाकिम साहबलाई भेटेर जिम्मेवारी हेरफेर गर्नु अघि एक पटक सोधेको भए हुन्थ्यो भने, उहाँले चाहिँ मैले मेरो अधिकार प्रयोग गरेँ कार्यान्वयन गर्ने नगर्ने तपाईँको जिम्मेवारी हो भन्नुभयो ।”, नायब सुब्बा शर्माले भने, “म सहित मेयर साहब र हाकिम साहब छलफलमा पनि बस्यौँ, त्यहीँ नै मेयर साहबले तपाई कतै जान पर्दैन भन्नुभयो । मेयर साहबले नै तपाई घरकै मान्छे हो, यहीँ नै कुरा मिल्छ भनेपछि जनप्रतिनिधिको मर्यादा राख्ने कुरा पनि त हुन्छ । फेरि जिन्सी जस्तो ठाउँमा मैले चार वर्षसम्म लिएको दायित्व एकै पटक छाडेर जाँदा भोलि मलाई अप्ठ्यारो पर्न जान्छ ।”
प्रमुख प्रशासकीय अधिकृत पौडेल गरेको निर्णय दुई हप्ता बितिसक्दा समेत आफ्नै मातहतका कर्मचारीले अटेरी गरेपछि नैतिक सङ्कटमा परेका छन् । “मैले आजसम्म निर्णय कार्यान्वयन हुन्छ भनेर धैर्य गरिहरेको छु । प्रमुखले कर्मचारीहरूको योग्यता अनुभव र कार्यशैलीका आधारमा जिम्मेवारी हेरफेर गर्नेदेखि थप्ने सम्मको अधिकार राख्दछ, जुन सामान्य हो ।”, प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने, “मैले धेरै पटक नायव सुब्बा शर्मालाई भेटेर नयाँ जिम्मेवारी लिन अनुरोध गरिरहेको छु, उहाँले मानिराख्नु भएको छैन । नगर प्रमुखले पनि प्रशासनिक कामकाजमा चासो नदेखाइदिएको भए राम्रो हुन्थ्यो, तर त्यो देखिएन ।”
नगर प्रमुख तिवारीले घर भित्रको सामान्य विषय भन्दै पत्रकारले यसमा चासो राख्न आवश्यक नरहेको बताए । “कर्मचारीले जिम्मेवारी लिन नमानेको होइन नि । कुन कर्मचारीलाई कहाँ राख्ने नराख्ने भन्ने कुरा त हामीलाई थाहा हुन्छ ।”, उनले भने, “यो आन्तरिक कुरा हो, खासै केही छैन । यसलाई यहीँ टुङ्ग्याऊँ ।” नगर प्रमुख तिवारीले प्रस्ट नबताए पनि उनले प्रमुख प्रशासकीय अधिकृतको निर्णयलाई कुल्चेरै कर्मचारीलाई पुरानै जिम्मेवारीमा यथावतै राख्न चाहेको देखिन्छ ।