पर्वत । कारागारमा रहेका कैदी बन्दीले ४ मङ्सिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । मतदाता नामावलीमा नाम भएका कैदी बन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय पर्वतले जानकारी दिएको छ ।
“कारागार परिसरमै एउटा अस्थायी मतदान केन्द्र« तोकिएको छ ।”, निर्वाचन अधिकारी लक्षे शर्माले भन्नुभयो, “५२ कैदी बन्दीको मतदान गर्न नाम सिफारिस भएर आएको भए पनि त्यस मध्ये मतदाता नामावली भएका ३५ कैदी बन्दीले मतदान गर्नेछन् ।”
जिल्लामा दुई अस्थायी सहित १ सय ४८ मतदान केन्द्र« रहेन छन् । सदरमुकाममा खटिने कर्मचारी, सुरक्षाकर्मीका लागि जिल्ला समन्वय समिति परिसरको अस्थायी मतदान केन्द्र«मा मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन अधिकारी शर्माले बताउनुभयो । उहाँका अनुसार अन्य ठाउँमा खटिने कर्मचारी, सुरक्षाकर्मीले भने सम्बन्धित मतदान केन्द्रबाटै मतदान गर्न पाउने छन् ।
“कैदी बन्दी र कर्मचारीसहित जिल्लाभरिबाट १ हजार ६ सय ७० जनाले प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्षका उम्मेदवारलाई नभएर समानुपातिकतर्फ दललाई मात्रै भोट हाल्न पाउनु हुन्छ ।”, निर्वाचन अधिकारी शर्माले भन्नुभयो ।
एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र र दुई वटा प्रदेश निर्वाचन क्षेत्र रहेको पर्वतमा १ लाख २२ हजार ६ सय ४९ मतदाता रहेका छन् । प्रतिनिधि सभा सदस्यका लागि ९ दल र ३ स्वतन्त्रसहित १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभातर्फ क्षेत्र नं. १ मा ८ दल र १ स्वतन्त्रसहित ९ जनाले उम्मेदवारी दिनुभएको छ भने क्षेत्र नं. २ मा ५ दल र २ स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।