पर्वत। महिला पत्रकारहरुको अग्रणी संस्था सन्चारिका समूह नेपाल पर्वतको आयोजनामा महिलाहरुका लागि तीन दिने क्षमता अभिबृद्धी तालिम कुश्मामा शुरु भएको छ । तालिमको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले महिलाहरुको क्षमता विकासका लागि यस्ता तालिमको महत्वपुर्ण भूमिका रहेको बताउनुभयो ।
कुश्मा नगरपालिकाले पालिका भित्रका महिलाहरुको आर्थिक, सामाजिक लगायत नेतृत्व विकासमा आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले पुरुष सरह महिलाहरुलाई अधिकार नदिएसम्म महिलाहरु अघि बढ्न नसक्ने बताउँदै कुश्मा नगरपालिकाले महिला लक्षित कार्यक्रमहरु अघि बढाईरहेको बताउनुभयो । उहाँले समृद्ध कुश्मा नगर बनाउनका लागि आम पत्रकारहरुसँग कुश्मा नगरपालिका आवश्यक सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, जिल्ला अध्यक्ष सन्तोष थापा, पूर्व अध्यक्ष ओमप्रसाद घायल, पत्रकार महासंघका रेडियो, टेलिभिजन समन्वय विभाग सदस्य गणेश गिरी, प्रेस चौतारीका केन्द्रीय लेखा आयोग सदस्य लक्ष्मण सापकोटा, प्रेस यूनियनका जिल्ला अध्यक्ष उत्तम अधिकारी, समाजवादी प्रेसका जिल्ला अध्यक्ष लक्ष्मण विश्वकर्मा, संचारिका समुह पर्वतका संस्थापक अध्यक्ष माया अधिकारी लगायतले बोल्नुभएको थियो ।
सञ्चारीका समुह पर्वतका अध्यक्ष विष्णु गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब संगिता केसीले गर्नुभएको थियो । तालिमको पत्रकार महासंघ पर्वतका संस्थापक अध्यक्ष भोलानाथ शर्मा, पूर्व अध्यक्ष ओमप्रसाद घायल, पञ्चासे एफ.एमका स्टेशन म्यानेजर लक्ष्मण सापकोटा, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुमानसिंह गुरुङले सहजीकरण गर्नुहुने भएको छ ।
