184
पर्वतको सबै भन्दा जेठो भवानी विद्यापीठ माध्यमिक विद्यालय जिल्लाकै नमुना विद्यालयका रूपमा दहरिएको छ । २०१० सालमा स्थापना भएर प्राथमिक तहको शिक्षा दिन सुरु गरेको यस विद्यालयले यहाँ सम्म आइपुग्दा विज्ञान, शिक्षा र व्यवस्थापन विषयमा कक्षा १२ सम्म अध्यापन गराउँदै आएको छ ।
शैक्षिक गुणस्तर वृद्धिमा नेपालभरिका विद्यालय मध्येबाट तेस्रो स्थान बनाउन सफल भइसकेको यस विद्यालयले ग्रामीण भेगमै पहिलो पटक विज्ञान संकायको पठनपाठनको सुरुवात गरेको थियो । विज्ञान विषय पढ्न महँगो र खर्चिलो हुने त्यसमा पनि जिल्ला बाहिर जानुपर्ने बाध्यतालाई गाउँमै विज्ञान सङ्काय सञ्चालनमा ल्याएर विद्यार्थीलाई सहज बनाई दिएको छ । विद्यालयले आइसिटी ल्याब, विज्ञान प्रयोगशाला, स्मार्ट बोर्ड लगायतका प्रविधिलाई आत्मसाथ गर्दै विद्यार्थीहरूलाई प्रयोगात्मक र व्यवहारिक शिक्षा दिँदै आएको छ ।
नमुना विद्यालय विकास कार्यक्रम अन्त्रगतको भौतिकतर्फ ९ वटा कक्षा भएको भवन निर्माण कार्य सम्पन्न भइसकेको छ । टाढाबाट आउने विद्यार्थीहरूका लागि फलेवास नगरपालिकाको सहयोगमा बस सञ्चालनमा ल्याइएको छ । बालमैत्री शिक्षाको सुरुवात गर्ने पहिलो यस विद्यालयमा अभिभावकहरूले आफ्ना बालबच्चालाई निजी विद्यालय छाडेर भवानी विद्यापीठमै पठाउने गरेका छन् । त्यसतै विद्यालयले विद्यार्थीको आवश्यकता र बाध्यतालाई मध्यनजर गर्दै छात्रावासको समेत निर्माण गर्ने तयारी गरेको छ । यस विद्यालयमा पहिले बागलुङ, म्याग्दी, स्याङ्जा लगायतका जिल्लाहरूबाट विद्यार्थीहरू अध्ययन गर्न आइपुग्थे । त्यो बेला पनि यस विद्यालयको चर्चा देशव्यापी रहने गर्थ्यो ।
प्रधानाध्यापक देखि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत अन्य शिक्षकहरू समेत यही विद्यालयमा अध्ययन गरेकाहरू छन् । यस क्षेत्रमा बसाइसरार्इँको दर उच्च रहेको कारण विद्यालयले सोचेजती विद्यार्थीहरू पाएको छैन । २ हजार बढी विद्यार्थीहरूको क्षमता थेग्न सक्ने संरचना र जनशक्ति भए पनि अहिले ५ सयको हाराहारीमा विद्यार्थीहरू विद्यालयमा पुग्ने गरेका छन् ।