दुर्व्यवहार घटनामा अभिनेत्री मिरुना मगरलाई आमा शशी थापा सुब्बाले नौबुँदे सन्देश पठाएकी छन् । दिलीप बान्तावाको ब्लगमार्फत उनले छोरीलाई आँट दिँदै पत्र लेखेकी हुन् । मिरुनाकी आमा शशी आफैँ थिएटर आर्टिस्ट हुन् । धरानकी उनी हाल बेलायत बस्छिन् ।
फुर्पा लामा नामका एक युवाले गत आइतबार काठमाडौंको सिभिल मलमा फिल्म हेरेर बाहिरिने क्रममा ‘ब्याड टच’ गरेको भन्दै मिरुनाले थप्पड हानेर प्रहरीलाई बुझाएकी थिइन् । तर, बौद्ध धर्मसँग सम्बन्धित संघसंस्थासमेत फुर्पाको बचाउमा निस्केपछि मिलापत्र गरियाे । यद्यपि, मिरुनाकै गल्ती देखाउनेहरूलाई समेत सम्बोधन गर्दै शशीले बेलायतबाटै नेपालमा रहेकी छोरीलाई सन्देश लेखेकी हुन् ।
यस्तो छ उनको सन्देशः
छोरी मिरुना,
जेठ १९, २०७९ ।

सञ्चाे, बिसञ्चाे सोधिनँ है । यसो दुई/चार कुरा बुँदागत लेखी पठाउँ कि भनेर मात्र हो ।
१. शहरमा र सामाजिक सञ्जालमा उठेका केही कुराहरू, निष्कर्षहरू र प्रश्नहरूले तिमीलाई अप्ठेराे पार्न खोजेको होला तर फिकर नगर ममीले बुझ्छु । सबैभन्दा धेरै आएको कुरो हो झापटचैँ नहान्नुपर्ने ! सबैको निष्कर्ष पनि त्यही तर के पर्यो त्यति साह्रो र हातै चलाउनुपर्ने अवस्था आयो ?
त्यो तिम्रो ममीलाई थाहा छ कि !
महिलाहरू जब-जब हिंसामा पर्छन्, त्यतिबेला जस्तै विद्वान भए पनि विवेकले काम गर्दैन । आँटिलोले प्रतिकार गर्छन् र आँट नपुग्नेले पीडा लुकाएर रुँदै बस्छन् । त्यसैले त घटनापछि यसो गरे हुने, त्यसो नगरे हुने भन्ने हाम्रा विचारहरू काम लाग्दैनन् भन्ने कुरो ।
ओ माई गड ! त्यतिबेला मैले त्यो भिडिओमा तिम्रो अनुहारमा मेरो ज्ञानी छोरी मिरुना होइन, आफ्नो स्वभीमानमा चोट पुगेर रन्थनिएको घाइते बघिनी देखेँ । र, मैले त सोचेकी थिए, त्यो लामाको दिन पुग्यो अब भनेर, तर तिम्रो स्वविवेक कति चाँडै कन्ट्रोलमा आएछ है !
२. दोस्रो कुरो हो, माफी मागेपछी प्रहरीकोमा नलानुपर्ने नि भन्ने । तर मलाई थाहा छ, तिमीले आज प्रहरी कार्यालयमा नलगेको भए फुर्पालाई छुटाउनुपर्ने थिएन । र, मिरुनालाई मिलापत्रका लागि पहल गर्नुपर्ने थिएन । उनीहरूले अनि झन् ठूलो हङ्गामा गर्ने लाइसेन्स पाउने पक्का थियो ।
कमसेकम यति अलिकति राहतचैँ फूर्पालाई छुटाउनुले गर्दा नै पाएको हो तिमीले । ठीक पो गरेछाै छोरी । अर्को, त्यति बेला सबैको दिमागमा पनि यो कुरो भरिन्थ्यो कि आफैँ सजाय दिएर माफी दिने उनी को हो ? साँचै हो भने प्रहरीकोमा किन लगेन ? भन्ने कित्तामा शायद मलगायत सबै पुग्ने थियौँ ।
३. अर्को डरलाग्दो कुरो हो, सबैको दिमागमा एउटै प्रश्न छ- सार्वजनिक ठाउँमा त्यसरी पवित्र वस्त्र लगाएको लामालाई किन झापट हान्यौ ? किन सबैको अगाडि लाजैमर्दो हुने गरी माफी मगायौ ?
तर सबैले भूल्यौँ कि त्यही पवित्र वस्त्र लगाएका लामाको पापी हातले पनि सोही सार्वजनिक ठाउँमा मिरुनाको सवेदनशील अंगमा समातेर निचाेर्याे भन्ने कुरो त्यो पनि तीन-तीनचोटी तर मैले भुलिनँ छोरी । धन्न म पनि तिमीले झापट हानेकोमा र यसरी आफ्नो करिअर डुबाएकोमा बिस्मात मानेर थकथकाउने र कर्ण फूसफूस गर्ने आमा परिनँ । त्यसैले यो मानेमा तिमी भाग्यमानी हौ छोरी ।
४. अर्को कुरो, लामालाई नेपाली बोल्न आउँदैन पनि भन्दैछन् कोही त तर भाषाले हात चल्ने होइन, मुख मात्र हो भन्ने कुरो तिम्रो ममीलाई थाहा छ ।
५. अब मलाई थाहा छ, तिमीले मुद्दा मिलाएकोमा नारीवादी भनौदा डलरप्रेमी सुन्दरीहरू बोल्न थाल्नेछन् है नानी, तर तिनीहरू शहरमा तिम्रो ज्यान लिनेहरू उफ्री रहेको बेला तिमीसँग उभिन आउने होइनन् । बरू एउटा बन्द कोठामा छिरेर अब यो काण्डले कहिले डरलाग्दो रूप लिन्छ र घटना घट्छ अनि म कसरी प्रस्तुत हुने भनेर तानाबाना बुनिरहेका हुनेछन् । धन्न तिमीले मध्यम बाटो अपनाएर आफ्नो ज्यान बचायौ छोरी ! अब लेख्नेछन्- मिरुनाले हिंसाविरुद्ध उठेको कदम किन रोकिन् ? हामी थियौँ, मिलापत्र पाे गरिछन् भन्दै । तर फिकर नगर जे गर्याे ठीक गर्याै तिम्रो ममी खुसी छु ।
६. वरिष्ठ कलाकार, लेखक, समाजसेवीहरू पनि हेर र पर्खको स्थितिमा हुनुहुन्छ होला है । अहिले तिम्रो लागि बोलिहाल्दा, लेखिहाल्दा फेरि गाली खाइन्छ बेस्सरी । जतिले आँट गरेर लेखे नि सबै बाझ्दै उत्तर दिँदा हैरान छन् ।
महानायक केशमा राजेश हमाल नै महानायक हुन् तर वरिष्ठ दिदीको पक्षमा पनि वकालत गर्न भ्यायौ त्यो बेला तर अहिले उहाँहरूलाई पनि अप्ठ्यारो छ नानी, झापट हान्ने त मुर्ख हो फेरि तिम्रो कुरो पत्याउनुलाई सीसीटीभी फुटेज छैन …. कोट्याएको वा निचोरेको ।
देखेका छैनन्, कसरी बोलून् विचराहरू । चलचित्र बोर्डले त कलाकारले गल्ती गरेको हो भन्दै माफी मागेको भिडिओ नै सार्वजनिक भएको देखेँ, खै के हो थाहा भएन ।
७. अनि तिमी त भन्थ्याै, बौद्ध धर्मभन्दा साँचो केही छैन भनेर तर कति धेरै झुटको खेती भयो त तिमीलाई फसाउने र लामालाई बचाउने यो खेलमा ? यहाँनेरचैं मैले तिमीलाई अलिकति पत्याइनँ है छोरी माफ गर !
८. तिमीलाई ‘गो ब्याक’ भन्दै कराउनेदेखि युके फर्किनु भन्नसमेत भ्याएछन् हगी ? तिनीहरूलाई भन्नु कि मेरो नेपालको सम्पत्तिहरू, पुर्ख्यौली धरोहर र निशानीहरू मासेर, नेपाली नागरिकता खोसेर, ब्रिटिसको सिटिजनसिप दिलाउने तागत छ भने लु राजी भन्नु । नत्र नरिसाउनु वचराहरूसँग । तर यूकेमा पनि खै सुरक्षित होलाजस्तो लागेन । एकजना वरिष्ठ पिपलपाते कि के भन्नेले त छुने मात्र होइन, किस खाने कुरोसम्म गर्न भ्याएछन् ! हुन त देशको होइन यहाँ आ-आफ्नो नेचर र संस्कारको कुरो हो । त्यसैले नेपालमा पनि सुरक्षित छौ आज ।
९. बिस्तारै सत्य कुरो खुल्दैछ । बिस्तारै तिमीलाई पत्याउँदै जाँदैछ । मदेखि रहेछु तिम्रो निम्ती धेरै हातहरू व्यस्त छन्- गलतलाई गलत हो भनेर लेख्न । धेरै मनहरू आतुर छन्- तिम्रो सही निर्णयलाई अंगाल्न । थोरैको रिस र आवेगमा जलेर धेरैको आँट र साहसको प्रतीक बन्दैछौ छोरी ।
अस्ति नै फोनमा तिमीले कस्तो साह्रो पर्याे ममी, एमएको थेसिस सकाउन भनेर भन्दा मैले हाँस्दै भनेको कुरो थाहा छ छोरी ?- जब जीवनको (सोधपत्र) थेसिस लेख्न सुरू गर्नेछौ नि, याे एमएको थेसिस त खेलाँची लाग्छ भन्दा तिमीले रिसाउँदै ‘हे ममी जेमा पनि यस्तो अप्ठेरो कुरो नमिसाउनु न’ भनेको हैन ? हाहाहा
तर यो थेसिसमा चैँ ‘किन लामाले त्यसो गरे ? भन्दा पनि किन लामालाई सजाय दिए भन्ने भुस भरियो नि आज हाम्रो दिमागमा !’ भन्ने टपिकमा केही शब्दहरू भर्नु है !
किनकी जीवनको थेसिसमा यति नै शब्दहरू भन्ने हुँदैन। असीमित अक्षर र शब्दहरू मिलेर मात्र थेसिस टुङ्गिन्छ छोरी ।
ल त जोगिएर बस्नू । जे कामको लागि त्यहाँ छौ पूरा गर्नू । आजलाई यति बाँकी भेटमा ।
उही तिम्री ममी
शशी थापा सुब्बा, यूके ।