काठमाडौं । यस वर्षको ‘सामाजिक न्यायका लागि दर्नाल पुरस्कार’ (डिएएसजे) नेपालको समुदायमा आधारित कलासँग सम्बन्धित संस्था कर्णाली आर्टस् सेन्टर (केएसी) तथा संयुक्त राज्य अमेरिकामा रहेको दलित नागरिक अधिकारवादी संस्था इक्वेलिटी लायब्स (इएल) लाई प्रदान गरिने भएको छ । दर्नाल पुरस्कार छनोट समितिले जातीय असमानता र विभेद अन्त्य गर्न प्रतिबद्धता, साहस र कल्पनाशीलताका लागि दलित नेतृत्वका दुई संस्थालाई पुरस्कृत गर्ने निर्णय गरेको हो। पुरस्कार विजेता दुवै संस्थालाई जेठ २५ गते काडमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने द्विवार्षिक अन्तर्राष्ट्रिय पुरस्कार वितरण समारोहमा २ लाख ५० हजार राशिसहित पुरस्कार प्रदान गरिने छ ।
यसबाहेक, दर्नाल पुरस्कार छनोट समितिले अन्य वर्षमा जस्तै सामाजिक न्यायको क्षेत्रमा क्रियाशील दलित समुदायका दुई व्यक्तित्व– लेखक तथा पत्रकार ध्रुवसत्य परियार र मानव बेचबिखन विरोधी अभियन्ता करुणा त्रिखत्रीलाई सन् २०२२ को सम्मान प्रदान गर्ने निर्णय गरेको छ । दर्नाल पुरस्कार र सम्मान समारोह सरिता परियार ट्रस्ट फण्डले समता फाउन्डेसनसँगको सहकार्यमा सामाजिक न्यायका अगुवा सुभाष दर्नालको जीवन र सम्झनामा आयोजना गर्दै आएको छ । दलित जीवनका माया, ज्ञान, विवेक र प्रतिरोधजस्ता बहुआयामिक पक्षलाई उजागर गर्ने र उत्सव मनाउने क्रममा यस पुरस्कारले नेपालको विशिष्ट प्रकारको जातको इतिहासलाई केन्द्रमा राख्दै बहसलाई अगाडि बढाउन कोसिस गरिरहेको छ । त्यस्तै, सबैको समान भविष्य र न्यायको निम्ति हातेमालो गर्न सहयोगी संयन्त्र निर्माण गरिरहेको छ । रातोपाटी ।