पर्वत ।आज देखि देशभर २०७८ सालको एसइई परीक्षा सुरु भएको छ । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसइईको लागि पर्वतमा २ हजार ३ सय ४४ विद्यार्थीले सहभागिता जनाउने भएका छन् ।
जिल्ला विकास तथा समन्वय इकाईका प्रमुख रामेश्वर लामिछानेका अनुसार जिल्लाका सात ओटै स्थानीय तहमा १९ परीक्षा केन्द्रमा आज परीक्षा सुरु भएको हो । परीक्षाको लागि १९ जना केन्द्राध्यक्ष, २० जना सहायक केन्द्राध्यक्ष, एक सय १८ जना निरीक्षक, २४ जना परीक्षा सहायक, ४६ जना कार्यालय सहयोगी तथा सुरक्षाको लागि कम्तीमा पनि एक सय जना प्रहरीहरूको व्यवस्थापन गरिएको छ ।
इकाई प्रमुख लामिछानेका अनुसार गत वैशाख ५ मा बसेको जिल्ला परीक्षा समन्वय समितिको बैठकबाट १९ ओटा केन्द्र राख्ने निर्णय भएको र केन्द्राध्यक्षको रूपमा केन्द्र रहेको विद्यालयको प्रधानाध्यापकलाई नै राख्ने निर्णय भए अनुसार नै केन्द्राध्यक्षको व्यवस्थापन गरिएको हो ।यस वर्ष दृष्टिविहीन स्रोत कक्षाबाट दुई जना विद्यार्थी सहभागी हुँदै छन् भने कुल विद्यार्थी मध्ये १ हजार १ सय ८२ जना छात्र र १ हजार १ सय ६२ जना छात्राले परीक्षामा सहभागी हुने भएका छन् ।
यस वर्षको एसइई परीक्षामा जलजला गाउँपालिकामा दुई ओटा, कुश्मा नगरपालिकामा छ ओटा, फलेवास नगरपालिकामा तीन ओटा, बिहादी गाउँपालिकामा दुई ओटा, पैयूँ गाउँपालिकामा दुई ओटा, मोदी गाउँपालिकामा दुई ओटा र महाशिला गाउँपालिकामा दुई ओटा केन्द्रहरू रहेका छन् । ती केन्द्रहरूमा नियमित तर्फका २२ सय ८३ जना, स्तर वृद्धिका २८ जना र प्राविधिक विषयतर्फका ३३ जना गरी कुल २ हजार ३ सय ४४ जना परीक्षार्थीहरू सहभागी हुँदै छन् । ती केन्द्रहरूमा जिल्लाका ८० ओटा सामुदायिक र १२ ओटा संस्थागत विद्यालयका विद्यार्थीहरू रहेका छन् ।

नियमित परीक्षार्थी अन्तर्गत खुल्ला विद्यालय अन्तर्गत शिवालय माध्यमिक विद्यालय कुश्माबाट १० जना सहभागी हुन लागेको पनि इकाई प्रमुख लामिछानेले जानकारी दिए ।
परीक्षाको स्थानीय तहको शिक्षा शाखा, राष्ट्रिय परीक्षा बोर्ड, जिल्ला परीक्षा समन्वय समिति, सामाजिक विकास कार्यालय, निर्देशनालय, समन्वय इकाई लगायतका पर्यवेक्षकहरूबाट अनुगमनको व्यवस्था गरिएको छ ।