२८ भदौ, काठमाडौं । उनले सामाजिक सञ्जालमा फोटो पोस्ट गरेकी छैनन्, अखबारमा उनको नाम पनि छापिएको छैन । भिडियो अन्तर्वार्ताका लागि तँछाड-मछाड गर्दै दौडिएकी पनि छैनन् । उनको नाम हो – गीता श्रेष्ठ ।
सामाजिक अभियन्ता रितु लिम्बुबाट पहिलोचोटि गीताको बारेमा सुनेका थियौं । त्यसपछि अनलाइनखबरले उनीसँग सम्पर्क गर्ने प्रयास गर्यो ।
दिउँसो करिब साढे एकबजे गीताले फोनमा भनिन्, ‘भर्खर ट्युसन पढाएर सकियो । बिहान छ बजे निस्किएपछि खाना पनि खाएको छैन । अब घरमा पुग्छु अनि खाना खाएर महालक्ष्मीस्थान पुग्नुपर्नेछ ।’
उनले आफ्नो खसखस सुनाइन्, ‘मलाई समाचारमा आउन मन छैन सर ! मलाई त निरन्तर काम गर्नु छ, उनीहरूको खुसीसँगै आनन्द लिनुछ ।’
लकडाउनसँगै निरन्तर अभाव र भोकले थलिएकाहरूकोे झुप्रोमा गीता दौडिरहेकी छन् । आफ्नो बलबुताले भ्याएसम्म काठमाडौंका भोका र नाङ्गाहरूको अनुहारमा मुस्कान छर्ने प्रयासमा छिन् उनी ।
केही थान राहत सामग्री बाँडेर हतार-हतार सामाजिक सञ्जालमा सहानुभूति बटुल्न पुग्नेहरूका लागि गीता आफैँमा एउटा उदाहरणीय पात्र हुन् । उनको निस्वार्थ सेवाले भन्छ – प्रचारबिनै सेवा सम्भव छ । सेवाको आनन्दले तृप्त हुन सम्भव छ ।
‘म जहाँ-जहाँ गएँ, त्यहाँबाट ओभानो आँखा लिएर फर्कने अवसर पाइनँ’, गीता भन्छिन्, ‘यो सहरमा मान्छेहरू त्यसरी पनि बाँचेका रहेछन्, बाँच्दारहेछन् ।’
कसरी ?
कथा गत चैत ११ को लकडाउनसँगै सुरु हुन्छ ।
०००
सरकारले अकस्मात लकडाउन गर्दा अधिकांश श्रमिकहरू घरभित्रै बेखर्ची भए । केही समाजसेवी र वडाहरूले काठमाडौंमा राहत वितरण सुरु गरे ।
ललितपुर – १४ की गीतालाई पनि सहयोगापेक्षीहरुसँग ठोक्किइन् । उनलाई राहत मिलाइदिनका लागि आग्रह आउन थाले । भलै, मन्टेश्वरी पढाउँदै आएकी गीताले चार महिनादेखिको तलव पाउन छाडेकै किन नहोस् ।
उनले स्थानीय तहलाई राहत प्रदानको आग्रह गरिन् । तर, चित्तबुझ्दो सेवा देखिनन् । ‘वडाले आफ्नो मान्छेहरुलाई काफी च्यापेर राहत दिएको देखेँ । राहत माग्न जाने गरिबलाई थर्काएको सुनेँ । र, काठमाडौंकै घरवालाहरुलाई पो राहत प्रदान गरेको सुने’, गीता बोल्दैछिन्, ‘त्यसपछि तपाईंको राहत चाहिँदैन भने र आफैं कस्सिन थालेँ ।’ उनलाई लाग्यो, हामीले नगरे कसले गर्ने ?
लकडाउनको एक हप्ता नबित्दै गीताले सुनिन्, गर्भवतीसमेत टहरामा भोकभोकै छन् । गीता हुर्रिँदै थैव खोला छेउको टहरोमा पुगिन् । त्यतिबेला उनले जे देखिन्, त्यो दृश्य सम्झँदा अहिले पनि आङमा काँडा उम्रन्छन् ।
जसलाई गीताले सचित्र यसरी बयान गरिन्, ‘कोठामा भाँडाहरुसमेत थिएनन् । १६ वर्षीय श्रीमती छेउमा सुतिरहेकी थिइन् । चार दिनदेखि खाना नपाएर रगतविनाको शरीरजस्तो देखिन्थन् । छेउमा थिए, १७ वर्षीय श्रीमान । बिहे गरेर उनीहरु काठमाडौं छिरेका रहेछन् । लकडाउनअघि त ज्यामी काम गरेर युवकले श्रीमती र आफ्नो शरीर धान्दै आएका रहेछन् । लकडाउन भयो, श्रमबजार बन्द भयो, उनीहरु भोकै परे ।
गीताले थपिन्, ‘उनीहरुको त्यस्तो अवस्था देखेर मैले आँसु थाम्नै सकिनँ । त्यो, दृश्य लामो समय हेर्न पनि सकिनँ र निस्किहालेँ ।’
गीता हुर्रिँदै घर आइपुगिन् । पुराना भाँडाकुँडा खोज्न थालिन् । चामल, दालसँगै एक क्रेट अण्डा र फलफूल किनिन् । र, १५/१६ सयको सामग्री बोकेर फरक्कै फर्किइन् ।
गीता सुनाउँछिन्, ‘म खाद्य सामग्री बोकेर पुगेको देखेपछि उनीहरुको अनुहारमा यस्तो चमक आयो कि त्यसलाई वर्णन गर्न सक्दिनँ । अँध्यारो अनुहारमा बिजुली चम्किएजस्तो देखियो ।’
दैनिक त्यस्तै मानिसहरुसँग भेट हुन थाल्यो गीताको । अर्को दिन रेडक्रसमा आवद्ध मानिसको सूचनामार्फत गीता ८ वषर्ीय बालकलाई भेट्न पुगिन् ।
ती बालकले थैव चोकमा साग बेचेर परिवार पाल्दै आएका रहेछन् । खोलाबाट साग टिपेर ल्यायो, अनि चोकमा बचेर गर्जो टार्यो । आमा प्यारालाइसिसको बिरामी । दिदी पनि बिरामी । एउटी दिदीलाई कसैले पाल्छु भनेर लगेका रहेछन् ।
गीता ती वालकको पारिवारिक अवस्थाबारे वर्णणतर्फ लाग्छिन्, कोठामा म्याट्रेस थिएन । ओच्छ्यान नै भूँइ रहेछ । आमाको पछाडि हरमा एक टुक्रा कपडा पनि थिएन । एउटा डेक्ची रहेछ । त्यसैमा भात र तरकारी पालैपालो पकाएर खाने गरेको ती बालकले सुनाए । त्यो देखेपछि म घरमा रातभरि सुतिनँ । घरमा भएका पुराना कपडाहरु खोजेँ । अनि कपडा, चामल, दाल बोकेर अर्को दिन त्यही कोठामा पुगेँ ।’
ती वालकको परिवार मात्र होइन, गीताले त्यहाँ कोही हात नभएका बच्चाहरु, कोही रोगले थलिएकाहरु भेटिन् । उनीहरु सबैलाई उनले एक महिनालाई पुग्ने राशन भरिदिइन् । ‘मैले पैसा धेरै नकमाए पनि बचत गरेर राखेकी थिएँ’, गीता भन्छिन्, ‘यस्ता मान्छेहरु आँखा अगाडि हेर्दै हिँडेर त्यो बचतको पैसा के काम ? मैले स्कुटर किन्नका लागि पैसा जोगाएर के काम ?’
गीताकै टोलका एकजना महिला सहयोग माग्दै उनीसँग आइपुगिन् । उनका बच्चाको मुटुमा प्वाल परेको थियो । उपचारमा सारा सम्पत्ति सक्काएकी थिइन् उनले । अब, ६ महिने छोरालाई दूध होइन, स्यार्लेस खुवाउनुपर्छ, लकडाउनपछि उनले कसरी जुटाउने स्यार्लेस खुवाउने पैसा !
यसको जवाफ गीताले दिइन्, राहत सामाग्री र छोरालाई नियमित स्यार्लेस उपलब्ध गराएर । उनी भन्छिन्, ‘मेरो सहयोगले मजस्तैका छोरा मृत्युको मुखबाट फर्किए । योभन्दा ठूलो आशिर्वाद के हुन सक्छ ?’
गीताले कहिले अपाङ्गता भएकाहरुकहाँ पुगेर सहयोग गरिन् त कहिले घरवारविहीन वृद्धवृद्धाका लागि । उनले जम्मा गरेको चार लाख पनि सकियो । तर, उनीबाट आश गर्नेहरुको जमात बढ्दै गयो ।
‘मैले एक ठाउँमा सहयोग गर्दै थिएँ । छेउमै मेरै स्कुलमा पढाउने बच्चाका अभिभावक बस्दा रहेछन्’, गीता भन्छिन्, ‘उहाँले मैले पनि सहयोग गर्छु नि भन्दै केही बोरा चामल सहयोग गर्नुभयो ।’
यसैगरी उनका विद्यार्थीका अरु अभिभावकहरुले पनि सहयोग गर्न थाले । गीता भने एक दिन नबसी दुःखीहरुको घाउमा मल्हम लगाउन दौडिरहिन् ।
‘मलाई सहयोग गर्नेहरु काठमाडौंकै घरधनी होलान् भन्ने सोचेकी थिएँ’, गीताले भनिन्, ‘पछि त उहाँहरुलाई नै राहत सामग्री आवश्यक पर्यो । मलाई भाडामा बस्नेहरुले सहयोग गर्नुभयो । काठमाडौंका घरधनी र ढनाढ्य एकजनाबाट पनि सहयोग पाइनँ ।’
मानिसमा धन र मनको भेद गीताले यही लकडाउनमा अनुभूत गरिन् । तर, गीताले कोहीसँग पुगेर सहयोगको अपिल गरिनन् । उनका कोही डोनरहरु विदेशमा गएका श्रमिक छ्न् । उनी कहिले भाडा उठाएर त कहिले रमा क्याण्डिल बनाएर सेवा गर्न थालिन् । लकडाउनमा पनि होम ट्युसन पढाउन थालिन् ।
अरुको सहयोगका लागि गीताले किन यति साह्रो लगाव देखाएकी होलिन् ? किनकि, यस्ता घटनाले उनलाई चिमोटिरह्यो । जसलाई सरकारले देखेन । बरु उनीहरुको दुःख र भोकमाथि मजाक बनायो ।
थैवमै अपांगता भएकी श्रीमतीलाई भारी बोकेर पाल्दै आएका थिए एक पुरुष । अरुको जग्गामा टहरा बनाएर बस्दै आएका थिए । लकडाउनपछि न उनीहरुसँग तीन हजार भाडा दिन पैसा थियो, न रासन र ग्यास नै । गीता भन्छिन्, ‘मैले ग्यास भर्दिएँ, रासन र भाडाको पैसा दिएँ ।’
बाबुछोरा नै अपांगता भएको परिवारमा पुगिन् गीता । बाबुछोरा नै अपांग । श्रीमती उनीहरुलाई छाडेर कहाँ पुगिन्, ती बाबुलाई थाहा थिएन । उनी मिर्गौलाको समस्या भएर पिसाबको प्याकेट झुण्डाउँदै हिँड्नुपर्ने । लकडाउनअघि त उनीहरुले हातले बुन्ने काम गरेर उनीहरु पालिँदै आएका रहेछन् । तर, लकडाउनले उनीहरुको गाँस खोस्यो । उनीहरुलाई खुशी पारिन् गीताले ।
गीता अहिले पनि फुर्सदमा छैनन् । कतिलाई सहयोग गरिन्, त्यसको तथ्यांक पनि राखेकी छ्रैनन् । किनकि उनलाई कतै यसको प्रदर्शन गर्नु छैन । कुनै एनजीओ आइएनजीओलाई रिपोर्ट बुझाउनु छ्रैन । जसलाई सहयोग गरिन्, मनदेखि गरिन् । गर्दैछिन् ।
उनी भन्छिन्, ‘कहिले टुहुरा बच्चाहरुलाई सहयोग गरेँ । कहिले बदाम बेच्नेहरुलाई । बाटोमा लावारिस छाडेका वृद्धवृद्धाहरुलाई आमा सम्भिmएर सक्दो सहयोग गरेँ । उहाँहरुका दुःखमा सहयोग गर्दा जुन आनन्द प्राप्त हुन्छ, त्यो जीवनमा मैले अरु केही गर्दा पनि पाइनँ ।’
‘मान्छेसम्म अझै पुग्न सकेकी रहेनछु’
आजभन्दा १० दिनअघि गीतालाई कसैले सुनाएका थिए – महालक्ष्मीस्थानमा छ/सातजना भोकै बसिरहेका छन् ।
छिमेकीको बाइकमा पेट्रोल हालिदिने सर्तसहित गीता तुरुन्त ललितपुरको महालक्ष्मीस्थान पुगिन् । उनका साथमा थियो चिउरा, दालमोठ र बिस्कुटको पोको ।
महालक्ष्मीस्थानमा आधा दर्जन मानिसहरु सडकछेउमा लावारिस सुतिरहेका थिए । गीताले भनिन्, ‘मलाई देखेपछि उनीहरु उठ्न खोजे, तर, सकेनन् । जुरुक्क उठ्दा आँखा तिर्मिराउँछ भने । एक हप्तादेखि केही खान नपाएको सुनाए ।’
यहाँका छरछिमेकले दिएनन् ? – गीताले आश्चर्यभावले सोधिन् । जवाफ पाइन्, ‘पानी माग्दा त लखेट्छन्, कहाँबाट खाना दिन्छन् ।’
गीताले अरु केही नबोली प्लास्टिकको थालमा चिउरा, दालमोठ तरकारी दिइन् । एक सासमै सक्काएको देखेर गीताले फेरि मुख खोलिन्, ‘अहिले तपाईलाई केको आवश्यकता छ ?’
‘खान नपाएको धेरै दिन भयो, तातो भात ल्याइदिनू न !’ गीताका आँखा रसाए ।
गीताले अनलाइनखबरसँग भनिन्, ‘यति धेरै सहयोग गरेँ । तर, यस्ता मान्छेहरुसम्म अझै पनि पुग्न सकेको रहेनछु भनेर थकथक लाग्यो ।’
त्यसपछि गीताको दैनिकी बन्यो, होम ट्युसन पढाउने अनि त्यही रकमले खाना बनाएर महालक्ष्मीस्थान पुग्ने ।
‘सयौँको आशिर्वादले आनन्द दिइरहने छ’
बिहीबार घरमा खाना खाँदै गर्दा गीताका छोराले भने, ममी तपाईले हामीलाई समय त दिनुहुन्छ, तर तपाईलाई केही भैहाल्यो भने हामी कसरी बाँच्ने ! त्यसपछि जति खटे पनि यसको के अर्थ ?
गीताको परिवारमा दुई छोरी र एक छोरा छन् ।
गीताले उनीहरुलाई आफ्नो आस्था सुनाइन्, ‘मलाई केही हुँदैन बाबु । कसैले हजार सराप दिए पनि सयौँको आशिर्वादले मलाई केही हुन दिने छैन । आनन्द दिइरहनेछ ।’ -अनलाइनखवर डटकमबाट साभार