विनोद चौधरी । कोरोना संक्रमणपछि मेरो पिसिआर टेस्ट नेगेटिभ आएको जानकारी गराएपछि मैले जुन माया, सदभाव र शुभकामना तपाईंहरूबाट पाएँ। त्यसबाट म साँच्चिकै भावविह्वल भएको छु। मलाई यो कोरोनाले कुन बेला छोइसकेछ थाहै भएन। मान्छे न हो। संक्रमण लागेको (भएको) थाहा पाउनेबित्तिकै एकछिन आत्तिएँ। तर, हिम्मत चाहिँ हारिनँ।
कुनै लक्षण पनि देखिएको थिएन। साधारण रुघा, अलिकति नाक बग्ने र टाउको भारीबाहेक खासै अन्य कुनै बाहिर प्रचारमा आएसरहका लक्षण नदेखिएकाले पनि मलाई आफ्नो मनोबल उच्च राख्न मद्दत पुगेको थियो। तत्काल मैले आफूलाई आइसोलेट गरेँ। नर्भिक अस्पतालका डा. विप्लव र उहाँहरूले खटाउनु भएका सिस्टर दिक्षाको निर्देशनमा मैले आफ्नो जीवनचर्या अगाडि बढाउन थालेँ।
तर, सबैभन्दा ठूलो कुरा मेरो आत्मबलको स्रोत चाहिँ जहिले पनि जब सार्वजनिक रूपमा संक्रमण भएको कुरा सामाजिक सञ्जाल ट्विटरमा ट्विट गरेर सार्वजनिक गरेपछि जुनप्रकारको प्रतिक्रिया, माया र सदभाव प्राप्त गरेँ, त्यसले मलाई अत्यन्तै सन्तोषको अनुभूति पनि दियो। कि मैले थुप्रै शुभचिन्तक, इष्टमित्र र साथीभाइ कमाएकै रहेछु। त्यस अर्थमा सबैभन्दा ठूलो पुँजी पनि हो।
मलाई लाग्छ कि यस्तै सकारात्मक सोच, सदभाव र मायाको खाँचो प्रत्येक संक्रमितले अपेक्षा गरेको हुन्छ। म आज कोरोना संक्रमण भएर निको भएको व्यक्तिको हैसियतले आफ्ना अनुभवमात्र बाँड्न गइरहेको छैन। यो पनि भन्न चाहन्छु कि संक्रमण लागेकालाई पन्छाउने वा पन्छिने होइन। यस्तै प्रकारको उत्साह, आत्मबल बढ्ने अभिव्यक्तिले सहयोग गर्नुपर्दछ।
कोरोना खासै केही होइन भन्ने भ्रममा चाहिँ नबसौं। साथसाथै, कोरोनाका बारेमा सामाजिक सञ्जालमा जुन प्रकारका अतिरञ्जित प्रचार हुने गरेका छन्, त्यसको पनि खासै कुनै स्थान छ जस्तो मलाई लाग्दैन। मेरो अनुभवमा यसको पहिलो लक्षण भनेकै साधारण रुघा हो। त्यो रुघालाई हामीले ज्वरो वा खोकीको रूपमा अगाडि बढ्न नदिनु नै पहिलो चरणको चुनौती हो। सबैभन्दा पहिले गर्नुपर्ने प्रयास पनि त्यही हो।
त्यस अर्थमा, मेरो अनुभवमा कोरोना भनेको त्यस्तो हो, कतिपयले त थाहै नपाइकन गुज्रिसकेको हुन्छ। साधारण रुघा लाग्यो भनेर इग्नोर (बेवास्ता) पनि गरेका होलान्। अत्यन्त सीमित मात्रामा पिसिआर परीक्षण गर्ने वातावरणको सन्दर्भमा झनै सान्दर्भिक छ। कोरोनाको लक्षण रुघा र ज्वरो नै हो भन्ने प्रचार गरिएको सन्दर्भमा म आह्वान गर्न चाहन्छु, त्यो अवस्था आउनै नदिऔं।
लागेको रुघालाई कुनै पनि हिसाबले अगाडि बढ्न नदिऔं। मैले अपनाएको विधि पनि पर्याप्त तातोपानी, अदुवा, बेसार, कागती र प्रकृतिले दिएका गुर्जाेजस्ता उत्पादनको निरन्तर सेवन गरेँ। अक्सिजन, स्याचुरेसन र टेम्प्रेचरको मेजरमेन्ट, जुन गर्नका लागि डाक्टरकै आवश्यकता पर्छ भन्नै छैन। र, नियमित व्यायाम।
मेरो सन्दर्भमा शारीरिक व्यायामसँगै प्राणायामलाई निरन्तरता दिएँ। मलाई लाग्छ कि यिनै कुराले मलाई मद्दत पुर्यायो। र, साधारण न कुनै आइसोलेसन, क्वारेन्टाइन न त अस्पताल, डाक्टर चाहिने अवस्था रह्यो। म फेरि यो भन्न चाहन्छु कि कोरोनासँग डराउने होइन। कोरोना अहिलेको रियालिटी हो, योसँग सारा विश्व कुनै न कुनै रूपले जुझिरहेको छ।
अझै पनि कोरोनाको खोपको अन्तिम ठेगान छैन, उपचार कहिले आउने हो। आफूलाई कोरोनाको नजिक जान नदिन, लक्षणविहीन कोरोना लागिनै सक्यो भने पनि त्यसलाई बढ्न नदिन गर्नुपर्ने सम्पूर्ण प्रयासहरू त गर्नैपर्यो। तर, यसबाट आत्तिएर समस्याको समाधान हुँदैन, आत्मबल उच्च राखौं। र, आफूलाई आइसोलेट गरौं।
मैले मेरै परिवारका सदस्यलाई कौसीबाट हात हल्लाएर भेट्थेँ। नजिक आउन दिन्नथेँ। यिनै कुराले मद्दत गर्यो भन्ने म ठान्दछु।म फेरि पनि यहाँहरूबाट पाएको अपार प्रेम, सदभावका लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।
https://www.facebook.com/watch/?v=329745968444955&extid=IfoCMl2EzXq5ix5T