पर्वत । नेकपा एमालेका अध्यक्ष खड्क प्रसाद ओली (केपी) पर्वत आउने भएका छन् । नेकपा एमाले पर्वतले चैत्र २६ गते सदरमुकाम कुश्मामा राखेको आमसभालाई सम्बोधन गर्न आउने भएका हुन् ।
आमसभा सदरमुकामको बान्द्रेबिडी चौरमा गरिने भएको छ । आमसभाको तयारीका बारेमा मूल व्यवस्थापन समितिले सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य कल्पना चापागाईँ, जिल्ला अध्यक्ष राजु पौडेल र मूल संयोजक शिव पौडेलले कार्यक्रमको उद्देश्य,आवश्यक तयारी लगायतका बारेमा जानकारी दिएका थिए ।
अध्यक्ष ओली आउने कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरू गठन गरिएको छ । नेकपा एमाले पर्वतका उपसचिव शिव पौडेलको संयोजकत्वमा १ सय ६७ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ ।
यता पर्वतमा अध्यक्ष ओली आउने हल्ला भएसँगै सामाजिक सञ्जालमा उनलाई व्यङ्ग्य गर्न सुरु भएको छ । चार वर्ष अघि सदरमुकाम कुश्मामा भएको आमसभालाई सम्बोधन गर्दै कुश्मामा रेलको स्टेसन बन्ने घोषणा गरेका थिए । धेरैले उनलाई रेलको स्टेसन उद्घाटन गर्न केपी ओली आउँदै भनेर पुराना भिडियोहरू पोस्ट गरिरहेका छन् ।
४ वर्ष पछि त्यही ठाउँमा राखिएको आमसभामा अब अध्यक्ष ओलीले रेलको बारेमा बोल्लान् कि नबोल्लान्, हिजो बोलेका कुरा बिर्सिएका छन् कि छैनन् होला ? यस्तै जिज्ञासा बोकेर कुश्माका आमजनता उनको भाषण सुन्न आतुर देखिन्छन् ।
