Home समाचार पन्त, सिंह र धानुकलाई एआइजीमा बढुवा गर्न गृहको सिफारिस

पन्त, सिंह र धानुकलाई एआइजीमा बढुवा गर्न गृहको सिफारिस

by ईलालटिन
0 comment

काठमाडौं । गृह मन्त्रालयले तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवा गर्न सिफारिस गरेको छ। मंगलबार बसेको बढुवा समितिको बैठकले तीन जनालाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत वसन्तकुमार पन्त, केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत् धिरजप्रताप सिंह र प्रधान कार्यालय, कार्य विभागमा कार्यरत् रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

तीन एआइजीका लागि आधा दर्जनबढी प्रहरी नायब महानिरीक्षकहरू दौडमा थिए। आकांक्षीमध्येका उत्तम सुवेदी यो बढुवामा छुटेका छन्। वरियतामा सुवेदीभन्दा तल रहेका धानुक बढुवा सूचीमा अटाएका छन्। यसैगरी, एआइजी बढुवाको प्रतिस्पर्धामा रहेका ईश्वरबाबु कार्की, घनश्याम अर्याल, वसन्त लामा, गणेशबहादुर ऐरलगायत बढुवामा छुटेका छन्।नेपाल प्रहरीमा पाँच जना एआइजी थिए। तीन जनाको बढुवा भइसकेका कारण अब आठ जना एआइजी हुनेछन्। अहिले थपिएको दरबन्दीमा बढुवा भएका अधिकृतमध्ये सिंह भावी प्रहरी महानिरीक्षकको दौडमा छन्।

यसअघि एआइजीमा विश्वराज पोखरेल र सहकुलबहादुर थापा बढुवा भइसकेका छन्। उनीहरू स्वाभाविक रूपमा भावी प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा छन्। प्रहरी नियमावलीमा सरकारले उपयुक्त ठानिएको वरिष्ठतम् एआइजी वा उक्त ब्याचको जसलाई पनि महानिरीक्षक बन्ने ढोका खुला भएका कारण प्रतिस्पर्धा हुने ठानिएको छ।बालुवाटार स्रोतका अनुसार पोखरेल र थापाको विकल्पमा तेस्रो व्यक्तिको खोजी भएकै कारण अहिले एआइजी दरबन्दी थपिएको हो। -अहिलेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, एआइजी हरिबहादुर पाल, प्रद्युम्न कार्की र निरजबहादुर शाहीले २०७९ वैशाख १९ मा अवकाश पाउँदैछन्।

उनीहरूको अवकाशपछि एआइजी पोखरेल, थापासँगै अहिले बढुवा भएका एआइजीहरूबीच प्रहरी महानिरीक्षकको प्रतिस्पर्धा रहने छ।-प्रधानमन्त्री देउवाले पोखरेल र थापालाई नरूचाएका कारण दरबन्दी थपबाट आएका व्यक्तिमध्ये एकलाई प्रहरी महानिरीक्षकको उम्मेदवार बनाउन खोजिएको बुझिएको छ। अहिले एआइजी बढुवामा समावेश भएका सिंह पोखरेल र थापाको चुनौती बन्नेछन्।

को कहिले बिदा हुन्छन्?

शैलेश थापा क्षत्रीको कार्यकाल सकिएसँगै अहिले रहेका तीन एआइजी हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्की अनिवार्य अवकाशमा जाँदैछन्। उनीहरू अवकाशमा जाँदा भावी प्रहरी महानिरीक्षकमा पोखरेल, थापासँगै अहिले बढुवा भएकामध्ये एक जना प्रतिस्पर्धामा रहन्छन्। -तर, यदि पोखरेल महानिरीक्षक नभए उनी डिआइजी/एआइजीको ५६ वर्षे उमेर हदका कारण २०७९ साउन १९ मा अवकाशमा जान्छन्। पोखरेल प्रहरी महानिरीक्षक भए ११ महिना कुर्सीमा हुन्छन्।

उमेरका कारण एआइजी थापा भने पूरा कार्यकाल रहन्छन्, त्यो त्यही ११ महिना नै हो।अहिले एआइजी बढुवा सूचीमा परेका सिंह पनि ११ महिना नै कुर्सीमा बस्नेछन्। तर, धानुक एआइजी बढुवा भए पनि २०७९ असोज ७ मा उमेर हदका कारण अवकाशमा जान्छन्। -एआइजीमा बढुवामा समेटिएका पन्त हालका आइजिपी क्षत्रीसँगै वैशाखमा अवकाशमा जान्छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com