काठमाडौं । नेपाली कांग्रेस बाराको जिल्ला अधिवेशनमा धाँधली भएको छ।फर्जी मत खसालेको पाइएपछि निर्वाचन नै स्थगित गर्नुपरेको हो। यहाँ शनिबार जिल्ला सभापतिसहित कार्यसमिति चयन गर्न मतदान भएको थियो।निर्वाचन अधिकृत राजकुमार उप्रेतीका अनुसार निर्वाचन चलिरहँदा मतदानमा व्यापक अनियमितता र अमर्यादित स्थिति सिर्जना हुँदा निर्वाचन प्रक्रिया रद्द गरिएको छ।
‘निर्वाचनमा व्यापक अनियमितता र अमर्यादित स्थिति सिर्जना भई मतदान कार्य अगाडि बढाउन कठिन र असहज भएपछि निर्वाचन रद्द गरिएको हो,’ उनले भने। बारा कांग्रेस अधिवेशनमा दुई हजार चार सय ८१ जना मतदाता छन्। शनिबार एक हजार तीन सय मत खसेपछि बिवाद भएको थियो। -मतपत्र वितरण गरेकोभन्दा खसेको मत बढी भएको पाइएपछि निर्वाचन रद्द गरिएको हो। शनिबार खसेका मत सबै नष्ट गरिसकिएको छ। आज बिहान ११ बजे बैठक गरेर अधिवेशनको नयाँ मिति तय गरिने निर्वाचन अधिकृत उप्रेतीले बताएका छन्। क्षेत्र नम्बर २ का चार बुथमा मतपत्र कब्जामा लिएर फर्जी मत खसालेको पाइएको थियो।
यहाँ सभापतिका लागि तीन जना उम्मेदवार छन्। ८० पदका लागि २२७ जना उम्मेदवार चुनावी मैदानमा थिए। सभापति शेरबहादुर देउवा पक्षबाट दुई जना जिल्ला सभापतिका उम्मेदवार छन्। शम्भुबहादुर बुढाथोकी र राजेश राय संस्थापन पक्षका मानिन्छन्। यस्तै सभापति पदमा शेखर कोइराला पक्षबाट रामानन्द यादव उम्मेदवार छन्। बारामा क्रियाशील सदस्यता वितरणदेखि नै बिवाद थियो। संस्थापन र संस्थापनइतर समूहले क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नासमेत दिएका थिए। सेतोपाटी ।
